सुरु भयो पर्वतीय उडान

सुरु भयो पर्वतीय उडान

बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि औपचारिक रुपमा नियमित पर्वतीय उडान सुरु भएको छ। कोरोना संक्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । 

महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन्। बुद्ध एयरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान ग-यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए। 

त्यस्तै यती एयरलाइन्सले एक एटिआर–७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको कम्पनीले जनाएको छ। यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन्। यात्रुको माग बढेमा उडान थप्ने उनीहरूको योजना छ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सुरुआती पर्वतीय उडान उत्साहवद्र्धक रहेको र थप उडानको बुकिङसमेत राम्रो रहेकालेबीचमा उडान सङ्ख्या पनि बढाउन सकिने बताए।  यतीले हरेक शनिबार दुई पर्वतीय उडान गर्नेछ। 

बुद्ध एयरले पनि तीन उडान गर्ने जनाएको छ। सामान्य अवस्थामा बुद्धले पर्यटकीय मौसममा दैनिक आठदेखि नौ र कम्तीमा चार उडान गर्ने गरेको थियो। बुद्धले  पर्वतीय उडानका लागि आठ हजार ९०० भाडादर तोकेको छ।

अहिले पर्वतीय उडानका लागि अनुकूल मौसम मानिन्छ। सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ। पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन्।

पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन। नेपालमा कोभिड नियन्त्रणका लागि गत चैत ११ देखि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन। असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो।

आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी एयरलाइन्सले छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गरेका हुन्। बुद्ध र यतीले पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरेका छन्। 

कोरोना सङ्क्रमण कायमै रहेको र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा नआएकाले पनि एयरलाइन्सले आन्तरिक पर्यटकलाई आकर्षण गर्न उडान शुरु गरेका छन्। शनिबार बिदाको समय भएकाले परिवार आफन्त तथा साथीभाइ घुम्न सहज र सुलभ होस् भन्ने हेतुले अहिलेलाई अफर ल्याइएको एयरलाइन्सले जनाएका छन्। रासस


Leave a Reply

Your email address will not be published.