बालुवाटारबाट निस्केको नेकपा विवाद अब धुम्बाराहीमा के होला? 

बालुवाटारबाट निस्केको नेकपा विवाद अब धुम्बाराहीमा के होला? 

मंसिर १६ गते बालुवाटारमा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को सचिबालय बैठक बोलाइएको थियो। 

नौ महिनादेखि बालुवाटार नछोडेका प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका अध्यक्ष पनि हुन्। 

कुनै बेला ‘मलाई नसोधी बैठक डाक्ने?’ भनेर कतिपय बैठकमा ओली सहभागी हुँदैनथे।

बालुवाटारमै भएको १६ गतेको बैठकमा पनि ओली छिरेनन्। 

सुरुमा १ बजे बोलाइएको बैठक साढे २ बजेतिर मात्रै बसेको थियो। ओली नआएपछि अघिल्लो लाइनमा राखिएको दुई टेबलमध्य

एउटामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसे। ओलीको टेबल खाली भयो। 

२० मिनेट बसेर सचिवालय सदस्यहरू बाहिरिए।

‘ओली नै नआएपछि त्यो बैठकको के काम भयो र?’ एकजना सचिवालय सदस्यले भने ‘खासगरी दुबैजना अध्यक्षहरूको प्रतिवेदनमै छलफल गर्नुपर्ने थियो। तर प्रतिवेदन पेश गर्ने मान्छे नै नआएपछि के छलफल गर्नु?’

उनका अनुसार ‘तातो पानी’ पिउँदै एकछिन गफिएपछि उनीहरू निस्किएका थिए। 

दुई अध्यक्षकै प्रतिवेदन अब स्थायी कमिटीमा

सुरुमा ओलीलाई बेस्सरी गाली गर्दै एक अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो एउटा राजनीतिक प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए। 

सचिवालयले त्यसबारेमा केही पनि निर्णय नगरेपनि प्रचण्डले त्यो प्रतिवेदनलाई ‘किताबी’ रुप दिएर देशभरका आफ्ना कार्यकर्तामाझ पुर्‌याइसकेका थिए। 

त्यसको केही दिनसम्म ओली– र प्रचण्डहरूका पक्ष विपक्षमा नेता र कार्यकर्ता तहबाटै विरोध र समर्थका स्वरहरू सुनिए। 
खासगरी फेसबुक अनि ट्विटरलगायतका सामाजिक सन्जालहरूमा त उनीहरुको भीडन्त हेर्न लायकै भयो। 

यो ‘वाकयुद्ध’ले सीमा नाघ्दै थियो। तर प्रचण्ड र ओलीबीच बोलचाल वा भेटघाट केही पनि भएन। 

प्रचण्डले १९ पृष्ठमा भरेका ‘गाली र आरोप’हरू फर्काउँदै अघिल्लो बैठकमा ओलीले अर्को प्रतिवेदन बुझाए त्यो त्यसको ठ्याक्कै दुईगुणा बढी अर्थात् ३८ पृष्ठ लामो थियो। 

र, १६ गतेको बैठकमा ओलीको त्यही प्रतिवेदनका बारेमा छलफल हुनुपर्ने थियो। तर ओली नै आएनन्। 
अनि २० गते फेरि बस्ने भनेर सचिवालय बैठक २० मिनेटमै उठ्यो। 

२० गते(शनिबार)को बैठकमा पनि खासै त्यस्तो कुरा भएन।

चारघण्टासम्म के छलफल भयो भन्ने प्रश्नको जवाफ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएनन्। 

बरू पत्रकारहरूलाई हात जोडेर नमस्कार गरे अनि अर्कातिर लागे। त्यसबारे केही नभने पनि उनले अब आइतबार पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने भन्ने निर्णय गरिएको जानकारी दिए। 

पार्टी एकतापछि धुम्बाराहीमा लगभग बैठकहरू हुन सकेका छैनन्। केही समयअघि प्रचण्डले भने धुम्बाराहीमै बैठक आह्वान गरेका थिए। तर ओली भने त्यहाँ गएनन्। 

त्यसअघि पेरिस डाँडामा पनि एकपटक बैठक बसेको छ। 

पेरिस डाँडाको कार्यालय तत्कालीन माओवादीको मुख्यालय हो भने धुम्बाराही तत्कालीन नेकपा एमालेको। 

तर एकतापछि भने धुम्बाराहीलाई पार्टीको मुख्यालय बनाउने र पेरिस डाँडालाई ‘जनवर्गीय’ संगठनहरूको कार्यालय बनाउने निर्णय भएको थियो। 

प्रवक्त्ता श्रेष्ठका अनुसार आजको सचिवालय बैठकले दुबै प्रतिवेदनका बारेमा केही पनि निर्णय गर्न नसकेका कारण अब ती प्रतिवेदनहरू स्थायी कमिटीको बैठकमा लगिने बताए। 

‘हो आजको बैठकअघि दुई अध्यक्ष ज्यूहरूबीच एक्लाएक्लै छलफल भएको हो। अनि त्यसपछि सचिवालय बैठक भयो’ उनले भने ‘दुबै अध्यक्षज्यूहरूको प्रतिवेदनहरूका बारेमा आजैको बैठकले टुङ्गो लगाउन सम्भव पनि थिएन अनि ती प्रतिवेदनहरूलाई स्थायी कमिटी बैठकमा लैजाने निर्णय भएको छ।’ 

भोलि के हुन्छ?

‘सम्भावनाहरू एकदमै सरल छन्’ प्रचण्ड समर्थक एकजना केन्द्रीय सदस्य भन्छन् ‘यो प्रक्रियागत कुरा हो, सचिवालयबाट स्थायी कमिटीमा प्रतिवेदन लगिएको छ। अब उसले पनि टुङ्ग्याउन सकेन भने ती प्रतिवेदनहरू केन्द्रीय समितिमा जान्छन्।’

बोलचाल नभएको २५ दिनपछि ओली–प्रचण्डबीच शनिबार भएको केही घण्टे भेटवार्ताहरूले नेकपाभित्र गहिरिएको संकट समाधान हुने संकेत गरेको उनले बताए। 

तर आइतबार धुम्बाराहीमा हुने नेकपाको बैठकमा ओली जान्छन् कि जाँदैनन् भन्नेमा नेकपाकै नेताहरू आशंकित छन्। 

१६ गतेको बैठक पनि धुम्बाराहीमै बोलाइएको थियो। तर ‘सुरक्षा थ्रेट’ भन्दै बैठक फेरि बालुवाटारमै लगियो। 

मिर्गौला फेरेर आराम गर्न बालुवाटार भित्रिएपछि ओली सिंहदरबारसमेत छिरेका छैनन्। 

बरु यो बीचमा धेरै ठाउँका सभाहरूलाई सम्बोधन गर्न उनी पुगिसकेका छन्।

नेकपा विवादका जालोभित्र धेरै कुराहरू अल्झाइएका त छन् तर, एउटामात्रै निर्णयमा ओली सहमत भइदिए भने कम्तीमा महाधिवेशनसम्मका लागि विवादहरू ‘एक हदसम्म’ शान्त हुने नेताहरू बताउँछन्। 

‘त्यो एउटा कुरा भनेको ओलीले एक पद छोड्ने हो। अध्यक्ष छोड्नुपर्‌यो अनि पार्टीको समन्वयमा प्रभावकारी रुपमा सरकार चलाउनुपर्‌यो’ उनले भने ‘कि भने प्रधानमन्त्री छोडिदिनुपर्‌यो पार्टीमा मिलेर काम गर्नुपर्‌यो, चलाउनुपर्‌यो।’

तर, यी कुनै पनि सम्भावनाको संकेत ओलीले दिएका छैनन्। बरु उनले दुबै पद नछोड्ने दृढता लिइरहेका छन्। 

स्रोतका अनुसार शनिबारको बैठकमा पनि यो स्थायी कमिटीको के काम छ र? भन्ने तर्कहरू गरेका थिए।

त्यसपछिको विकल्प के?

‘त्यसपछि स्थायी कमिटीले दुई अध्यक्षका प्रतिवेदनहरू केन्द्रीय समितिमा पठाउँछ। केन्द्रीय समितिले ती प्रतिवेदनलाई कार्यकर्ता स्तरमै पठाउने निर्णय गर्नसक्छ’ उनले भने ‘सरसर्ती हुने त्यही नै हो। अनि सबै कुराहरू आगामी महाधिवेशनले टुङ्ग्याउँछ।’

नेकपाको महाधिवेशन आगामी चैतमा गर्ने निर्णय यसअघि नै भइसकेको छ। 

यद्यपि उनले भनेजस्तै नेकपा विवादको यो लामो श्रृङ्खला टुङ्गिने छाँट भने छैन। 

‘त्यसपछिको एउटामात्रै विकल्प भनेको त त्यही हो, आआफ्नो बाटो लाग्ने, अति नै भयो, मिलेर बस्नै नसकिने भयो भने त के गर्नु र, बाटो लाग्ने हो’ उनले भने ‘छुट्टिने नै भन्नेचाहीँ सबैका लागि कठिन कुरा हो। यसको बारेमा बोलिहाल्ने समय अझैं आइसकेको पनि छैन।’


Leave a Reply

Your email address will not be published.