पाहुना पर्खिरहेको नुनढाकी-तातोपानी

पाहुना पर्खिरहेको नुनढाकी-तातोपानी

संखुवासभाको तत्कालीन सदरमुकाम चैनपुर बजारबाट १७ किलोमिटर दुरीमा रहेको ‘नुनढाकी’ प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठाउँ हो। तीमध्ये धार्मिक महत्वको क्षेत्र ‘तातोपानी’ लाई नागरिक स्तरबाट विकास र प्रवर्द्धन गर्न थालिएको छ।  

चैनपुर नगरपालिका–१ मा स्थित नुनढाकी–तातोपानी क्षेत्र प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको स्थानीयले गुनासो गरेका छन्। 

सरकारी स्तरबाट भरपर्दो पूर्वाधार निर्माण र प्रचार नगरिएको भन्दै स्थानीयले नागरिक स्तरबाटै विशेष पर्यटकीय गन्तव्य बनाउने पहल थालेका हुन्।

यहाँका स्थानीय भुतपूर्व बेलायती सेना प्रेमबहादुर थक्लुङ लिम्बु यो अभियानको नेतृत्वकर्ता हुन्। विश्व पर्यटनमा आफ्नो गाउँ चिनाउन लागिपरेका उनी अहिले बेलायत छाडेर गाउँ चिनाउन दत्तचित्त भएर लागेका छन्। 

‘गाउँको सम्भाव्य गन्तव्यलाई विश्वमा चिनाउने हाम्रो प्रयास जारी छ,’ लिम्बुले भने, ‘गाउँ आउने पाहुनालाई कसरी अड्याउने भन्ने योजना बनिरहेको छ।’

उनका अनुसार प्राकृतिक रूपमा तातोपानी आउने मुहान नजिक पौडी पोखरी बनाउने योजना छ। त्यस्तै नुनढाकीआसपास गुफापोखरीसम्म पुुग्ने एकदेखि तीन दिनसम्मको ‘सर्ट टे«किङ रुट’ विकास गरिएको छ।  

गाउँमा पानीको मुहान निस्किएसँगै यसको संरक्षणका लागि अगुवा जयमान थक्लुङको नेतृत्वमा १६४५ सालमा तातोपानी महादेव थान स्थापना गरिएको स्थानीय सन्तवीर थक्लुङले जानकारी दिए। 

उनका अनुसार यहाँबाट निस्किएको पानीमा नुहाउँदा दुःख–कष्ट नास हुने, मागेको पुुग्ने, विभिन्न खाउखटिरा निको हुने विश्वास छ। उक्त धार्मिक स्थललाई प्रेमबहादुर थक्लुङ लिम्बुको अगुवाइमा २०७० सालमा पुनर्निर्माण गरी विशेष धार्मिक पर्यटकीय गन्तव्य बनाउन थालिएको हो।  

अहिले उक्त पोखरीमा नुहाउन पर्यटक पुुग्ने गरेका छन्। सडकको दुरावस्थाका कारण पर्यटक चहलपहल पातलो भए पनि सडक स्तरोन्नतिसँगै पर्यटक पनि बढ्ने वडाध्यक्ष लोकबहादुर श्रेष्ठको विश्वास छ।

‘गुफापोखरी हुँदै गएको मदन भण्डारी राजमार्गसँग जोडिने सडकको स्तरोन्नति हुँदैछ भने चैनपुरबजारबाट नुनढाकी आउने सडकको कामसमेत तीव्र गतिमा अगाडि बढेको छ,’ उनले भने, ‘सडकले बाटो छोट्टयाएपछि पर्यटक आउने अपेक्षा छ।’ 

हरेक वर्ष बालाचतुर्दशीका दिन मेला लाग्ने यो स्थानमा यसपालि भने कोरोनाका कारण मेल नलागेको स्थानीय दीपक लिम्बुले बताए। तर, यहाँ पुुग्ने जो कोही पर्यटक तातोपानीमा नुहाउन छुटाउँदैनन् भने यहाँको पर्यटकीय सौन्दर्यबाट मोहित हुन्छन्। 

नागरिक स्तरको अभियान चलाइ हाल गाउँमा ‘यल्लो भिल्ला’ नामको सामुुदायिक होमस्टे सञ्चालन गरिएको छ। त्यस्तै सामुदायिक भवन बनाइएको छ भने तातोपानी धार्मिक स्थलमा विभिन्न आकर्षक संरचना बनाइएको छ। सुन्दर गाउँमा रहेका सबै जातजातीको अनुहार झल्किने सग्रहालयसमेत बनाउने योजना छ। 

साविक नुनढाकी गाविसमा पर्ने गुफापोखरी, मिल्ने डाँडा, जोरपोखरी, टंगेलेवा झरनालगायत थप पर्यटकीय गन्तव्य हुन्। सरकारीतहबाट यिनको विकासमा खासै वास्ता नभए पनि देश–विदेशको सहयोग जुटाउँदै आफ्नो निजी लगानीसमेत हालेर प्रेमबहादुरले गाउँ चिनाउन सक्दो पहल जारी राखेका छन्। 

‘लिम्बु संस्कृति, खाना र जीवनशैलीका कारण चर्चा बटुल्दै गएको विकट गाउँ नुनढाकीमा रहेको सम्भावनालाई विश्वमा चिनाउन लागि परेका छौँ,’ लिम्बुले भने, ‘अरूको मुख ताक्नुभन्दा आफंैले सुरुवात गरौं भन्ने सोच आएर निरन्तर काममा लागिरहेका छौं।’


Leave a Reply

Your email address will not be published.