उत्कृष्ट पुनरागमन जितमा चेल्सी लिगको शीर्ष स्थानमा

उत्कृष्ट पुनरागमन जितमा चेल्सी लिगको शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगमा चेल्सीले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै उत्कृष्ट पुनरागमन जित निकालेको छ। 

घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा २ हजार दर्शकमाझ भएको खेलमा चेल्सीले लिड्स युनाइटेडलाई ३–१ ले पराजित गरेको हो। जितसँगै महत्वपूर्ण तीन अंक जोडेको चेल्सी लिग अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

चेल्सीले खेल सुरु भएको चौथो मिनेटमा नै गोल खाएको थियो। लिड्सका पेट्रिक बमफोर्डले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएपनि त्यो धेरै बेर टिकेन। पहिलो हाफमै चेल्सीले बराबरी गोल फर्कायो। चेल्सीका लागि ओलिभर जिरुडले २७ औं मिनेटमा गोल गरे। 

पहिलो हाफ एकएकको बराबरीमा सकिएपनि दोस्रो हाफमा चेल्सीले थप दुई गोल गर्यो। चेल्सीका लागि कुर्त जुमाले ६१ औं र क्रिस्चियन पोलिसिकले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरे।

जितपछि ११ खेलबाट २२ अंक जोडेको चेल्सी शीर्ष स्थानमा उक्लियो। 

यता, लिग अन्तर्गत नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–१ ले नै पराजित गरेको छ। म्यान्चेस्टरले पनि पुनरागमन गर्दै जित निकालेको हो। 

खेलको ३८ औं मिनेटमा टोमस सौसेकले गोल गर्दै वेस्टलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको वेस्ट दोस्रो हाफमा सम्हालिन नसक्दा तीन गोल खान पुग्यो। 

युनाइटेडका लागि ६५ औं मिनेटमा पउल पोग्बाले गोल गर्दा त्यसको तीन मिनेटपछि नै मेसन ग्रिनउडले गोल गर्दै टोलीलाई अग्रता दिलाए। युनाइटेडका लागि थप अर्को गोल रासफोर्डले ७८ औं मिनेटमा गरे।

लिग अन्तर्गत नै भएका अन्य खेलमा म्यान्चेस्टर सिटीले फुलह्यामलाई २–० ले पराजित गर्दा वर्नले र इभर्टन १–१ को बराबरी खेले।  


Leave a Reply

Your email address will not be published.