डोटी जीप दुर्घटना : तीन वर्षीय बालकले ज्यान गुमाएपछि मृतककाे संख्या चार पुग्याे

डोटी जीप दुर्घटना :  तीन वर्षीय बालकले ज्यान गुमाएपछि मृतककाे संख्या चार पुग्याे

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जीप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ। घाइते भइ उपचारका लागि अस्पताल लगिएका तीन वर्षीय बालककाे मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हाे।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जीप राति करिब एक बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा मृतक बालककी आमा तथा बोगटन फुड्सिल गाउँपालिका–७ की वडासचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन्। 

यसैगरी दुर्घटनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्त नगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी रहेका छन्। 

दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए राति नै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

जीप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.