नेकपा स्थायी कमिटी बैठक आज बस्दै, ओली होलान् त सहभागी?

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, ओली होलान् त सहभागी?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न संकट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज स्थायी कमिटीमा छलफल हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटीमा लगिने भएको हो।

स्थायी कमिटी बैठक आज दिउँसो १ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा छलफल हुने जानकारी दिए। 

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनेरनहुने अनिश्चित छ। शनिबारको बैठकमा ओलीले पार्टीमा देखिएको विवाद सचिवालय बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिएका थिए। तर, सचिवालय बैठकमा सहमति हुन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले दुवै प्रस्ताव स्थायी कमिटीको बैठकमा लगेर छलफल गर्नुपर्ने अडान लिएका थिए।

यही मंसिर १३ गतेको बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले प्रस्तुत गरेको लिखित प्रस्ताव पत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा शीर्ष तहमा विवाद कायमै छ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच अनौपचारिक छलफल पनि भइरहेको छ। 

गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो।

पछिल्लो समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवाद बढेको छ।

यो पनि पढ्नुस्

बालुवाटारबाट निस्केको नेकपा विवाद अब धुम्बाराहीमा के होला? 


Leave a Reply

Your email address will not be published.