पुँजीबजारका लगानीकर्ता किन पुगे राष्ट्र बैंक?

पुँजीबजारका लगानीकर्ता किन पुगे राष्ट्र बैंक?

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी विद्यमान व्यवस्था परिमार्जन गर्ने घोषणा गरेपछि पुँजीबजारका लगानीकर्ताले असन्तुष्टि जनाएका छन्।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पश्चात गत बिहीबार व्यक्तिगत अधिविकर्ष कर्जा, सेयर धितो कर्जा र रियलस्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने बताएको थियो।

साउन ६ गते मौद्रिक नीति मार्फत सेयर कर्जाको मार्जिन सीमा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्‍याइएकामा राष्ट्र बैंकले उक्त सीमा घटाउने संकेत गरेको हो। लगानीकर्ताले १ सय २० दिनको औसत मूल्यलाई आधार मानेर सेयर धितोमा ७० प्रतिशतसम्म कर्जा पाउँदै आएका छन्।

गत बिहीबार पत्रकारसँग भर्चुअल संवादमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई आवश्यक रहेको र राज्यले चाहेको क्षेत्रमा कर्जा प्रवाह भइरहेको छ कि छैन भनेर अध्ययन भइरहेको बताएका थिए।

राष्ट्र बैंकको यो घोषणासँगै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, नेपाल पुँजीबजार संघका अध्यक्ष संरक्षणा चौधरी र सेयर लगानीकर्ता दबाब समूहका हरि ढकाल आइतबार डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई भेट्न पुगेका हुन्।

‘पुँजीबजार बामे सरिरहेको छ यो बेला राष्ट्र बैंकले किन मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा हेरफेर गर्न खोज्यो,’ ज्ञापनपत्र बुझाएपश्चात आयोमेलसित कुरा गर्दै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले भने, ‘मार्जिन सीमा घटाइयो भने यसले पुँजीबजारलाई असर गर्छ।’

अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता (लगानीयोग्य पुँजी) रहेको र अन्य क्षेत्रमा लगानीको वातावरण बनिनसकेकाले पुँजीबजारमा लगानी बढे पनि राष्ट्र बैंकका कदमका कारण प्रभावित हुनसक्ने उनले बताए।

‘पुँजीबजार यकदमै संवेदनशील हुन्छ, राष्ट्र बैंकले सेयर कर्जामा पुनरावलोकन गर्ने भनेपनि घटाउने भनिसकेको छैन। तर, यसको असर बजारमा परेको देखिन्छ,’ उनले भने, ‘हल्लाका पछाडि नलाग्न आग्रह गर्दछौं।'

भेटमा डेपुटी गभर्नर सिवाकोटीले ‘सेयर बजारमा असर नपर्ने गरी नीति हेरफेर हुने’ आवश्वासन दिएको रौनियारले बताए।

आइतबार नेपाली पुँजीबजार प्रभावित भएको छ। पछिल्लो समय पुँजीबजारमा एकपछि अर्काे कीर्तिमान कायम हुँदै आएकामा अपराह्नसम्म नेप्से परिसूचक करिब ७० अंकले घटेको छ।


Leave a Reply

Your email address will not be published.