मेराे मनमा ‘विशाल कम्युनिष्ट पार्टी’ काे तस्बिर मात्रै अङ्कित थियो : ओली

मेराे मनमा ‘विशाल कम्युनिष्ट पार्टी’ काे तस्बिर मात्रै अङ्कित थियो : ओली

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद अहिले उत्कर्षमा छ। 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्ताव पेश गरेपछि विवाद झनै छताछुल्ल भएको हो।

प्रचण्डले पेश गरेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले ‘अभियोगपत्र’ को संज्ञा दिँदै आइरहेका छन्।

यद्यपि उनले मंसिर १३ गते बसेको सचिवालय बैठकमा प्रचण्डको १९ पन्ने प्रस्तावको जवाफ ३८ पृष्ठमा दिए।

नेकपाभित्रको आन्तरिक किचलो बढिरहेकै बेला शनिबार बसेको सचिवालय बैठकले दुबै अध्यक्षको प्रस्तावलाई छलफलका लागि स्थायी कमिटीमा लग्ने निर्णय गर्यो। 

त्यसका लागि ओली भने तयार थिएनन्। ‘अभियोग पत्र’ भन्दै आइरहेका प्रचण्डको प्रस्ताव कुनै पनि कमिटीमा छलफल गर्न नसकिने उनको अडान थियो।

तर, ओलीको अडानविपरीत आइतबार स्थायी कमिटी बैठकमा दुबै अध्यक्षका प्रस्ताव प्रस्तुत भएको छ।

१ बजे पार्टी मुख्यालय धुम्बराहीमा स्थायी कमिटी बैठकमा ओली आइदिएनन्। 

ओलीको नआएपछि प्रचण्डकै अध्यक्षतामा स्थायी कमिटी बैठक सुरू भयो। 

धुम्बराहीमा बैठक चलिरहँदा ओली प्रधानमन्त्री निवास बालुवाटारमै थिए। 

बैठकमा आफू नगएर ओलीले पत्रमात्र पठाए।

स्थायी कमिटी सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले उनको पत्र पढेर सुनाएका थिए। 

कार्यकारी अध्यक्ष प्रचण्डले अभियोग पत्रको रुपमा पेश गरेको प्रस्तावलाई आफूले खारिज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पु¥याएको हुँदा त्यसउपर हुने छलफलमा सहभागी नहुने ओलीले आफ्नो अडान दोह¥याएका छन्।

साथै उनले परामर्श र सहमति बिना बोलाइएको बैठकमा सहभागी हुन नसकिने उनले बताएका छन्।

‘परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैंभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु,’ ओलीले पठाएको पत्रमा भनिएको छ।

प्रधानमन्त्री ओलीले सत्यविरुद्ध कहिल्यै नलड्ने समेत बताएका छन्।

‘सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो। सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहीन हुन्छ, भन्ने म ठान्छु,’ ओलीले भनेका छन्।

प्रधानमन्त्री ओलीले देश र जनताले विश्वास गरेको नेकपा इतिहासकै गम्भीर संकटमा फसेको उल्लेख गरेका छन्। साथै यो संकट कुनै बाह्य कारणले नभएर नेतृत्व र सत्तामोहका कारण उब्जिएको उनले आरोप लगाएका छन्।

महाधिवेशनबिनै नेतृत्व र निर्वाचनबिनै सरकार बदल्न खोज्ने पार्टीका केही नेताहरूका कारण अहिलेको संकट सिर्जना भएको ओलीले बताएका छन्।

‘नेकपा इतिहासकै गम्भीर संकटमा छ। यो संकट कुनै बाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिर नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचन बाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह-सत्तामोहका कारण निम्तिएको छ,’ ओलीले भनेका छन्।

पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्व र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरह्ने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय आफूले सार्वजनिक गरिसकेको पत्रमा ओलीले उल्लेख गरेका छन्।

‘पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा सार्वजनिक गरिसकेको छु,’ ओलीले भनेका छन्, ‘तर, पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्ने नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण अहिलेको संकट उब्जिएको छ।’

अहिलेको संकटलाई सकारात्मक निकास दिन आफ्नो प्रयास जारी रहेको उनले स्पष्ट पारेका छन्।

पार्टीको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गर्ने प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने आफ्नो अडान उनले पुनः दोह¥याएका छन्।

‘पार्टी विधानमात्र होइन, राज्यका संविधान र कानुनसमेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको अभियोग–पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालय बैठकमा राखिसकेको छु,’ प्रचण्डको प्रस्तावबारे उनले भनेका छन्, ‘पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखित प्रस्ताव निशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत छ।’

एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिडविरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकको कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्ने उनको भनाइ छ। 

ओलीले धुम्बाराहीमा पठाएकाे पत्र 

स्थायी कमिटीका प्रिय कमरेडहरु,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।
पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गत २०७७ कात्तिक २८ गते अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले ‘प्रस्ताव‘ का नाममा मेरा विरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ। 

पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत वहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोग–पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु।

पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निशर्त फिर्ता हुनु पर्ने मेरो मान्यता यथावत् छ। एकीकरणका बााकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धको लडाइालाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्ताव सहित पर्याप्त तयारीका साथ बैठकमा जानु पर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु।

तर उक्त अभियोग–पत्र सहित यसबीचका सबै पत्राचार र दस्ताबेजहरुलाई सार्वजनिक गरिएको छ। आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो सङ्गीन आरोप–पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको ब्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु । परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैभरि रहादै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु।

कमरेडहरु, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहादा नेपाली कम्युनिष्ट आन्दोलनका दुबै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतृत्व गर्न सक्ने विशाल नेपाल कम्युनिष्ट पार्टीको तस्बीर मात्रै मेरो मनमा अङ्कित थियो। हामीले एकीकरणको सङ्क्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय गर्‍यौं र पार्टीका कतिपय वैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय गर्‍यौँ। एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखो। त्यसै अनुरुपका संरचाना निर्माण गरिए।

तर मलाई थाहा थिएन– खेलको उत्तराद्र्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्न लाग्नु हुने छ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुनेछ। खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु। आज पनि म दोहोर्‍याउन चाहन्छु– महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नु पर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनुरुप सहमतिका आधारमा चल्नु पर्दछ।

सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो । सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छु ।
अत्यन्त उज्ज्वल संभावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गंभीर सङ्कटमा छ । यो सङ्कट कुनै वाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह/ सत्तामोहका कारण निम्तिएको छ । मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु । तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयाश रहिरहेको छ।

मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ। गत: भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनु भएको थियो। आशा छ, कमरेडहरुले यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलन कै शिकार हुने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुने छ।
हार्दिक अभिवादन सहित,
केपी शर्मा ओली
अध्यक्ष एवं प्रधानमन्त्री
२१ मङ्सिर २०७७


Leave a Reply

Your email address will not be published.