अन्ततः बन्यो जनकपुरको टर्मिनल भवन, मंगलबारदेखि सुचारु हुने

अन्ततः बन्यो जनकपुरको टर्मिनल भवन, मंगलबारदेखि सुचारु हुने

अन्ततः जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन तयार भएको छ। २०६९ सालमा निर्माण कार्य सुरू भएको टर्मिनल भवन आठ वर्षपछि तयार भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उद्घाटन गरेपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आउने छ। नवनिर्मित टर्मिनल भवनको उद्घाटन गर्न मन्त्री भट्टराई मंगलबार जनकपुर पुग्दैछन्।

आधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै जनकपुर विमानस्थलको पाँच दशक पुरानो टर्मिनल भवन विस्थापित हुने भएको छ। १८ जना यात्रु बोक्ने जहाजको लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट हालसम्म सेवा दिइँदै थियो।

२०६९ कात्तिकमा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए।

डेढ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनी पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो। 

तर, प्राविधिक समस्याका साथै रकम अभावका कारण टर्मिनल भवन निर्माण कार्य लम्बिएको थियो।

अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै यसअघि यात्रुहरूका चापका कारण भीडभाड हुने समस्याको अन्त्य हुने बुद्ध एयर जनकपुरका स्टेशन म्यानेजर विजयप्रसाद सिंह बताउँछन्।

नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको उनले बताए।

जनकपुर प्रदेश २ को मुकाम भएसँगै पर्यटकका साथै विभिन्न प्रयोजनका लागि आउने हवाइ पर्यटकको संख्यामा वृद्धि भएको छ। अहिले जनकपुर–काठमाडौं तीन निजी विमान कम्पनीहरूले सेवा दिँदै आइरहेका छन्।

बुद्ध एयरले दैनिक तीन, यति एयरले दैनिक दुई र श्री एयरलाइन्सले दैनिक एक पटक काठमाडौं–जनकपुर उडान गर्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published.