तनहुँ घटनापछि जुरमुराएको कांग्रेस

तनहुँ घटनापछि जुरमुराएको कांग्रेस

सरकारको छायाँ परेर सुस्ताएको आरोप खेपिरहेको नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गरेको दुर्व्यवहार र धरपकडसँगै ब्युझिएको छ। 

पौडेललाई पक्राउ गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभापति शेरबहादुर देउवाले दबाब दिँदै सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका थिए।

साथै देउवाले विज्ञप्ति जारी गर्दै पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको टिप्पणी गरेका थिए।

प्रवक्ता विश्वप्रकाश शर्मा र सांसद गगनकुमार थापा र केही युवा नेताको सार्वजनिक अभिव्यक्तिमा कांग्रेसको प्रतिष्ठा जोगिएको ठान्ने स्वयम् कांग्रेसजनको अहिलेको सक्रियताले पार्टीपंक्ति जुरमुराएको झल्को दिन्छ।

वरिष्ठ नेताको गिरफ्तारीबाट रुष्ट बनेको कांग्रेसले मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने निधो गरिसकेको छ। त्यसका लागि केन्द्रदेखि जिल्ला तहसम्मका नेता आआफ्नो क्षेत्रमा सक्रिय देखिएका छन्। 

कतिपय केन्द्रीय नेता गृह जिल्ला पुगेका छन्। उनीहरू पार्टीका आन्तरिक बैठक र भ्रातृ संगठनसँगको छलफलमा जुटेका छन्।

गृह जिल्ला झापामा रहेका प्रवक्ता शर्माले बुद्धशान्तिको आन्तरिक एक कार्यक्रममा नेविसंघ सक्रिय भएको अभिव्यक्ति दिन भ्याइसकेका  छन्। 

नेविसंघले तनहुँ घटनाको सांकेतिक विरोध स्वरुप मंसिर १८ गते केहीबेर सरकारी गाडीको चाबी नियन्त्रणमा लिने देशव्यापी कार्यक्रम सम्पन्न गरिसकेको छ।

सार्वजनिक रूपमा गरिएका र कांग्रेसका युवा नेताहरूले सामाजिक सञ्जालमा गरेका पोष्ट तथा दिएका अभिव्यक्तिले पनि कांग्रेस जागेको संकेत गर्छ। 

तनहुँ घटना लगत्तै केन्द्रीय सदस्य समेत गरेका थापाले ट्विट गरेका थिए, ‘नेका वरिष्ठ नेता पौडेलको गिरफ्तारी प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रक्रिया हुनै सक्दैन, होइन। यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो, यसले सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। प्रधानमन्त्री तपाईंका लागि यो निक्कै महङ्गो पर्नेछ।’

थापाले मात्रै होइन युवा नेता धनराज गुरुङले पनि सामाजिक सञ्जालमा निरन्तर लेखिनै रहेका छन्। 

वरिष्ठ नेता पौडेललाई गिरफ्तार गरे लगत्तै गुरुङले ट्विट गरेका थिए, ‘लोकतन्त्रका लागि अनवरत लड्नु भएका श्रद्धेय नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर आज गणतन्त्रका महाराजले निरंकुश शासनको परिचय दियो। हामी श्रीपेचसहितको राजाको विरुद्धमा सडकमा लडिरहेको बेला बयलगाडाको कथा सुनाएर बस्ने श्रीपेचरहितको महाराजको अब दिन गन्ती सुरु भयो।’

नेता गुरुङले गरेको पछिल्लो ट्विटमा ओलीबाट गणतन्त्रलाई खतरा भएको जनाएका छन्। गुरुङले ट्विट गरेका छन्, ‘ओली श्रीपेचबिनाका राजा बने, गणतन्त्र राजावादीबाट होइन ओलीबाट खतरामा।’

अर्का युवा नेता रामहरि खतिवडाले ट्विट गरेका छन्, ‘नेका वरिष्ठ नेता पौडेलको गिरफ्तारी नियोजित हो। राजनीतिक प्रतिशोध हो। यसले यो सरकार कुन बाटोमा जाँदैछ भन्ने स्पष्ट छ। ओलीले आफ्नो विपक्षमा जुलुस निकाल्ने अरुलाई स्वतन्त्र आवागमन हुनसमेत नदिने कामले संविधान माथि नै आक्रमण भएको छ। सरकार देशमा नाङ्गै प्रस्तुत भयो प्रतिरोध गरौं।’

देशव्यापी प्रदर्शन कार्यक्रम अन्तर्गत झापामा तयारी थालिएको  कांग्रेस सभापति उद्धव थापाले बताए। उनले २९ गते झापामा  मोटरसाइकल  र्‍याली गर्ने पार्टीले निर्णय गरेको बताए। 

केन्द्रीय प्रवक्ता शर्माको उपस्थितिमा आइतबार बसेको  जिल्ला कार्य समितिको बैठकले बिर्तामोडको मुक्तिचोकमा सभा गर्ने निर्णय गरेको छ। 

‘तनहुँमा वर्तमान सरकारले वरिष्ठ नेता पौडेललाई गिरफ्तार र  दुव्र्यवहार  गरेको घटनाको विरोधमा ¥याली र सभा गर्ने निर्णय गरेको छ’, थापाले भने, ‘सोमबार पत्रकार सम्मेलन गरेर थप कार्यक्रम र मोटरसाइकल ¥यालीको रुटका बारेमा पार्टीले जानकारी दिन्छ।’

सभापति थापाले नेकपा सरकारको जनविरोधी गतिविधि र भ्रष्टाचारविरुद्ध झापामा आयोजना हुने विरोध  र्‍याली र सभालाई भव्य र वृहत बनाउन पार्टीका कार्यकर्ता, शुभेच्छुक र भ्रातृ संगठनहरुलाई सशक्त रुपमा परिचालन हुन निर्देशनसमेत दिइएको छ। 

बैठकमा पूर्वसांसद डिल्लीप्रसाद सिटौला, पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीलगायतका नेताले विरोध कार्यक्रमका बारे सुझाव राखेका थिए।

यता, कांग्रेस प्रवक्ता शर्माले पनि सरकारको सर्वसत्तावादी चिन्तनकाविरुद्ध प्रदर्शनमा सहभागी बन्न आग्रह गरिरहेका छन्। ‘मंसिर २९ गते देशव्यापी प्रदर्शनमा सहभागी बनौं, तनहुँ घटना र सर्वसत्तावादी चिन्तन एवम् श्रृङ्खलाबद्ध भ्रष्टाचारकाविरुद्ध जनआवाज बुलन्द पारौं। जीवन्त प्रश्न र ज्वलन्त मुद्दाहरूमा छलफल गर्न अविलम्ब संसद बैठक बोलाउन सरकार र सभामुख समक्ष माग।’

सामाजिक सञ्जाल र आन्तरिक कार्यक्रममा सरकारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका कांग्रेस पार्टीका नेताले मंसिर २९ गते कस्तो कार्यक्रम गर्छन् र सन्देश दिन्छन् त्यो भने हेर्न बाँकी नै छ। सरकार र अन्य विपक्षी दलले कांग्रेसको यो कार्यक्रमलाई अग्नी परीक्षाका रूपमा भने अवश्य लिएका छन्।


Leave a Reply

Your email address will not be published.