खाने तेलको भाउले आकास छोयो, सरकार कता छ?

खाने तेलको भाउले आकास छोयो, सरकार कता छ?

नेपालमा पछिल्ला महिना खाने तेलको भाउ लगातार बढिरहेको छ। 

स्थानीय बजारमा तोरी, भटमास र सनफ्लावर तेलको भाउ उकालो लागेको हो। गत चैतमा १ लिटर खाने तेल १ सय ४५ देखि १ सय ५० रुपैयाँ रहेकामा हाल आएर २ सय नाघेको छ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले उद्योगबाटै तेलको भाउ निकै बढेर आउँदा आफूहरूलाई व्यापार गर्न गाह्रो भएको बताए।

‘तोरी, भटमास तेलको भाउ लिटरको २ सय नाघिसकेको छ, उपभोक्ताले हामी (खुद्रा) व्यापारीले बढी नाफा खाए भन्छन्। तर उतैबाट भाउ बढेर आएको हो,’ उनले भने।

तेल उद्योगी भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढ्दा त्यसको असर नेपालमा पनि परेको बताउँछन्।

‘हामीले कच्चा तेल ल्याउने बाहिरबाटै हो, अन्तर्राष्ट्रिय बजारमै भाउ बढेपछि यहाँ रिफाइन तेलको भाउ बढ्ने नै भयो,’ शिवशक्ति ग्रुपका अध्यक्ष राजकुमार अग्रवालले भने, ‘हामी त  पुरानो भाउमा बेचिरहेका छौं। हालको अन्तर्राष्ट्रिय बजार भाउअनुसार अझ बढी हुन जान्छ।’

खुद्रा व्यापारीहरूका अनुसार खाने तेलको भाउ पछिल्लो एक महिनामै १५ देखि ३० रुपैयाँले बढेको छ। 

सनफ्लावर तेलको भाउ लिटरको २ सय रुपैयाँ नाघेको छ। केही महिना अघि १ सय ५५ मा पाइने भटमासको तेलको उद्योग मूल्य नै १ सय ८० पुगेको छ भने बजारमा १ सय ९० देखि २ सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ।

तोरी तेलको भाउ पनि २ सय रुपैयाँसम्म पुगेको छ।

उद्योगी–व्यापारीले अधिक नाफा कमाउन खाने तेलको भाउ बढाएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको आरोप छ।

‘अहिले तेलको भाउ बढ्नुपर्ने आवश्यकता नै थिएन। तर, चाडपर्व, बिहेको सिजनमा तेलको माग बढी हुने भएकाले भाउ बढाएका हुन्,’ उनले भने, ‘लकडाउनमा खासै बिक्री भएन, त्यही पैसा उठाउन खोजेका हुन्।’

सरकार आमउपभोक्ताका हितका लागि भन्दा पनि व्यापारीलाई संरक्षण गर्न लागेको उनको आरोप छ।


Leave a Reply

Your email address will not be published.