बोरा अभाव देखाउँदै खाद्यले किनेन किसानको धान, किसान भन्छन्–व्यापारीको मात्रै किन्छ 

बोरा अभाव देखाउँदै खाद्यले किनेन किसानको धान, किसान भन्छन्–व्यापारीको मात्रै किन्छ 

कैलालीमा बोरा अभाव देखाउँदै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद रोकेको छ।

बोरा अभाव भएको भन्दै लिमिटेडले किसानलाई फर्काउने गरेको छ। लिमिटेडले सीमित कोटामा मात्रै धान खरिद गर्नेगरेको आरोप पनि लागेको छ। 

‘लिमिटेडले केही मानिससँग गोप्य रुपमा धान खरिद गरेर किसानलाई बोरा छैन भन्दै फर्काउन थालेको छ’, गोदावरी नगरपालिकाका किसान कार्तिक रानाले भने, ‘मेरो घर खरिद केन्द्र नजिक हुँदा पनि मैले पालो पाएको छैन।’ लिमिटेडले व्यापारीको धान किन्न थालेका कारण किसानको धान खरिद गर्न आलटाल गरिरहेको आरोप रानाले लगाए। 

‘किसान धान बेच्न पुग्दा संस्थानले कहिले बोरा छैन त कहिले बढी भइसक्यो भन्दै फर्काउने गरेको छ’, धनगढी–३ का किसान रामदास रानाले भने, ‘व्यापारीले ल्याएको धान भने धमाधम किनिरहेको छ।’ 

लिमिटेडले यस वर्ष तोकेको कोटाको आधा धान मात्रै खरिद भएको जनाएको छ। कार्यालय प्रमुख अनिल श्रेष्ठले पर्याप्त गोदाम नभएको र समयमै आवश्यक बोरा नपाउँदा धान खरिद कार्य प्रभावित भइरहेको बताए। 

‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीका चारवटा स्थानबाट धान खरिद गरिरहेको छ’, कार्यालय प्रमुख श्रेष्ठले भने, ‘तर धान राख्ने ठाउँ अभाव र बोरा अभावका कारण नियमित धान खरिद गर्न सकिरहेका छैनौं, जसका कारण धान खरिद कार्य सुस्त बनेको छ।’ 

उनका अनुसार धनगढी–१३ मोहनपुरमा १०÷१० हजार क्विन्टल क्षमताका चारवटा गोदाम भएपनि दुईवटा गोदाम विश्व खाद्य कार्यक्रमले प्रयोग गरिरहेको छ। 

त्यस्तै, टीकापुरमा पाँच हजार क्विन्टल क्षमताको गोदाम रहेकोमा अहिले जिर्ण बन्दै गएका कारण धान राख्न नसकेको श्रेष्ठले बताए। 

कार्तिक १८ गतेदेखि कैलालीका चारवटा स्थान धनगढी, भजनी, जोशीपुर र टीकापुरबाट धान खरिद सुरु भएको थियो। यस वर्ष कैलालीका लागि ६५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ। तर, आइतबारसम्म कैलालीका चारवटै केन्द्रबाट ३० हजार क्विन्टल मात्र धान खरिद भएको छ। सुरक्षित गोदामका लागि केन्द्रसँग पटकपटक आग्रह गर्दासमेत चासो नदेखाइएको श्रेष्ठले बताए।


Leave a Reply

Your email address will not be published.