जसले पतिको निधनपछि सिन्दूर–पोतेसहित सुरु गरिन् काजकिरिया

जसले पतिको निधनपछि सिन्दूर–पोतेसहित सुरु गरिन् काजकिरिया

झापाको विर्तामोड नगरपालिका–८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया गरिरहेकी छिन्।

उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो। सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उनको मिर्गौलामा समस्या थपिएको थियो। बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएपछि उनको शनिबार निधन भएको र स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो।

दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर, रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किइन्। हाल निजी निवासमा पतिको किरिया बारिरहेकी उनको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन्।

‘यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो’, पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै उनले भनिन्, ‘उहाँले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो।’

रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको जानकारी दिए।

वीरता जेसिजका पूर्वअध्यक्ष सजेश शिवाकोटीले रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको बताए। ‘सुरु कसैले गर्नै पर्छ, सलाम र सम्मान छ भाउजू।’, उनले भने।

‘श्रीमानले दिए जति सबै उहाँको मृत्युपछि त्यागी नै हाल्ने हो भने सँगै जोडिने थर, नानी बालबच्चा आदि नि त्याग्दै हिँड्न सम्भव छैन। त्यसैले उहाँको साहसलाई मान्नैपर्दछ।’, सामाजिक सञ्जालमा समर्थन जनाउँदै लोकु चापागाईँले लेखेका छन्।

रेनुकाको साहसिक कार्यलाई सामाजिक सञ्जालमार्फत समर्थन र हौसला दिनेहरु बढिरहेका छन्। विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडका अध्यक्ष मोहन शिवाकोटीले एकसय वर्षपछिको समाजको सोचलाई आजै परिवर्तन गरिदिएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो पनि याद गर्नुहोला, तपाईँको कुरा काट्नेहरु पनि समाजमा धेरै छन्, केही फरक पर्दैन किनकि तिनकै सन्तान कुनै दिन तपाईँको अनुयायी हुनेछन्।’

रेनुकाका पति केशव नेपाल कुनै नेता तथा पदीय ओहोदामा रहेका व्यक्ति होइनन्। उनी विर्तामोडस्थित आफ्नै घरमा पसल चलाएर बसेका थिए। रेनुकासमेत सामान्य गृहिणी हुन्। उनका दुई छोरा र दुई छोरी छन्। रासस


Leave a Reply

Your email address will not be published.