प्रदेश १ का भूमिहीनले आगामी असारभित्र लालपुर्जा पाउने, ३० पालिकासँग सम्झौता 

प्रदेश १ का भूमिहीनले आगामी असारभित्र लालपुर्जा पाउने, ३० पालिकासँग सम्झौता 

प्रदेश १ का भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीले आगामी असारभित्र जमिनको लालपुर्जा पाउने भएका छन्।

त्यसका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगले सोमबार विराटनगरमा २८ पालिकासँग सम्झौता गरेको छ। थप दुई पालिकासँग यसअघि नै सम्झौता भइसकेको छ।

यी पालिकामध्ये सबैभन्दा बढी सुकुम्बासी उदयपुरको त्रियूगा नगरपालिकामा छन्। त्यहाँ १८ हजार ४ सय २  सुकुम्बासी रहेकामा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा ३६ जना रहेका छन्।

प्रदेशका १ सय ३८ पालिकामध्ये पहिलो चरणमा ३० पालिका छानिएको आयोगका अध्यक्ष देवी ज्ञावलीले जानकारी दिए। उनका अनुसार अन्य प्रदेशमा पनि आयोगले  काम अघि बढाएको छ।

‘आगामी निर्वाचन अघि दलित, भूमिहीन र अव्यवस्थित बसोबसामा रहेका नागरिकले आफ्नो नाममा रहेको जमिनको लालपुर्जा पाउने गरी काम भइरहेको छ,’ उनले भने।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही सरकारका पालामा सुकुम्बासी समस्या समाधान गरिछाड्ने बताए।

पालिकाले सम्झौताको तीन महिनाभित्र भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासमा नागरिक छनोट गरिसक्नुपर्ने छ भने आगामी असार मसान्तभित्र लालपुर्जा वितरण गरिसक्नुपर्ने छ। 

आयोगका प्रदेश १ अध्यक्ष गोपाल गुरागाईँका अनुसार प्रदेश १ मा सम्झौता गरिएका ३० पालिकाका करीब ७ लाख नागरिक यो योजनाबाट लाभान्वित हुनेछन्। प्रदेश १ मा करिब १५ लाख नागरिक भूमिहीन रहेको आँकलन छ। 


Leave a Reply

Your email address will not be published.