गाँजा त फुकुवा होला, तर त्यही आरोपमा जेल परेकालाई आममाफी हुन्छ?

गाँजा त फुकुवा होला, तर त्यही आरोपमा जेल परेकालाई आममाफी हुन्छ?

नेपालमा गाँजा ‘फुकुवा’ गर्ने बहस चलिरहँदा संयुक्त राष्ट्रसंघले ‘कडा खाले लागूऔषध’ को सूचीबाट गाँजा हटाएको छ। 

राष्ट्रसंघको ‘लागुऔषध’ सम्बन्धी एउटा बहसमा नेपालले पनि गाँजालाई लागूऔषधको सूचीबाट हटाउने पक्षमा मतदात गरेको थियो। नेपालसहित करिब तीन दर्जन देशले गाँजालाई लागूऔषधको सूचीबाट हटाउन मतदान गरेका छन्। 

नेपालमा २०३३ सालमा ‘लागूऔषध नियन्त्रण ऐन’ जारी भएपछि गाँजा खेती तथा यसको सेवनमा प्रतिबन्ध लगाइएको थियो। 

गाँजा के हो?
कानुनी भाषामा गाँजा एक ‘लागूपदार्थ’ हो। जसको सेवन, प्रयोग वा व्यापार व्यवसाय ‘अपराध’ सहर मानिन्छ। 

तर, नेपाली समाजको भाषामा यो एक ‘खाने चीज’मात्रै हो। खासगरी ‘भाङो’ को रुपमा नेपाली भान्सामा यसको परिकार हुन्छ नै। 

हिन्दु धर्ममा मनाइने ‘शिवरात्रि’का लागि गाँजा भगवान ‘शिवजी’को एक अमूल्य ‘प्रसाद’ हो। त्यसैको बहानामा युवाका लागि त गाँजा एक ‘डोज’ पनि हो। 

चिकित्सकीय प्रयोगका हिसाबले गाँजा औषधीय गुण मिसिएको एक वनस्पती हो। 

खेती गरिरहनु नपर्ने र डाँडा-पाखाबारीहरूमा आफैँ पनि जाग्ने गाँजा आम पहुँचमा पनि छ। तर, कानुनीरुपमा प्रतिबन्ध भइसकेपछि नेपालमा प्रहरीका लागि एउटा काम थपियो ‘गाँजा नष्ट।’

यसबाट बन्ने लागूपदार्थ जस्तो कि चरेसजस्ता चीज भने निकै कडा र घातकै हुन्छन्। जसकारण पछिल्लो समय यसको व्यावसायिक खेती नै हुन थाल्यो। 

त्यसैले हरेक दिनजसो ‘गाँजा फडानी’का तस्बिरमा प्रहरी देखिइरहन्छन्। 

सन् १९६० देखि पश्चिमा मुलुकमा ‘प्रेम र स्वतन्त्रता’ को युग सुरुवात भयो। यसमा ‘स्वतन्त्रता’ प्रेमी युवा विन्दास भएर लामो यात्रामा निस्किन थाले। 

बरालिएका यी युवाको एउटा खुराक गाँजा भयो। युरोपबाट टर्की हुँदै भारत अनि नेपालसम्मै आइपुगेका यी युवाले काठमाडौंमा पनि अड्डा जमाए। 

यसरी यो दशक ‘हिप्पी’ युगले इतिहास लेखायो। ‘हिप्पी’को पर्याय गाँजा बन्यो। 

त्यो बेला काठमाडौंका कतिपय गल्लीमा ‘गाँजा’ पसल असरल्लै थिए, अहिलेका म:म पसलजस्तै।

चर्चित ब्राजिलियन लेखक 'पाउलो कोहेलो' पनि काठमाडौं आउने मध्येका एक ‘हिप्पी’ थिए। आफ्नी प्रमिकासँगको रोमान्समा काठमाडौंको हिप्पी कल्चरमा घुसेका पाउलोले २०१८ मा ‘हिप्पी’को एउटा पुस्तक पनि प्रकाशित गरेका छन्। 

र, इतिहास भइसकेको ‘हिप्पी कल्चर’लाई स्थापित गर्नका लागि ‘हिप्पी ट्रेल’को पनि प्रयास भइरहेको छ। युरोपेली मुलुकबाट सुरु भएर यो ट्रेलको एउटा विन्दु काठमाडौंसम्मै आइपुग्नेछ। 

विश्वभरि ‘हिप्पी कल्चर’ फैलिरहेको थियो। १९६१ मा राष्ट्रसंघले एउटा सन्धि पारित गर्‌यो, ‘द सिंगल कन्भेन्सन न नार्कोटिक ड्रग्स १९६१।’ यसमा पनि नेपाल पनि पक्ष राष्ट्र थियो। 

नेपालले पनि यसमा हस्ताक्षर गर्‍याे। 

यो सन्धिले गाँजालाई पनि कडाखालको लागूऔषधको सूचीमा राखेको थियो। 

त्यसैले नेपालमा पनि यसको प्रतिवन्ध लगाउन निकै दबाव पर्दै थियो। खासगरी काठमाडौंका ‘हिप्पी’ गल्लीहरूमा धेरै अमेरिकीहरू गिजोलिइसकेका थिए। ती अमेरिकी युवा ‘हिप्पी’ गल्लीको त्यही भासमा डुब्न थालेपछि अमेरिकाले नेपाललाई धेरै नै दबाव दिएको थियो गाँजा प्रतिवन्धका लागि।

अनि २०३३ सालमा ‘लागूऔषध नियन्त्रण ऐन’ जारी भयो। 

र,  नेपालमा गाँजा प्रतिबन्ध भयो। 

गाँजा सेवनमात्रै होइन, घरपाखामा गाँजा उम्रिएको आरोपमा पनि कतिपय व्यक्ति पक्राउ परे। 

अब के हुन्छ, ‘गाँजा’ मुद्दामा जेल परेकालाई आममाफी!?
‘मरीजुवाना  (गाँजा) ढुवानी मुद्दामा सैकडौं नेपाली भारतीय जेलमा छन् त्यस्तै नेपालका जेलमा पनि कैयौं व्यक्ति कैदी जीवन बिताइरहेका छन्’ शनिबार मानवअधिकारकर्मी मोहना अन्सारीले लेखिन् ‘अब मरीजुवाना युएनको नार्कोटिकबाट अलग्गिइ सकेको छ। तत्काल कानुन बनाएर ती सबैलाई आममाफी दिइनुपर्छ। यसबारेमा ढिलाइ गर्नु तिनीहरुमाथि अन्याय हुनेछ।’

राष्ट्रसंघले गाँजालाई लागूऔषधको सूचीबाट हटाएको खबर सार्वजनिक भएसँग अन्सारीले यस्तो ट्विट गरेकी हुन्। 

लागूपदार्थ ओसारपसार आरोपमा पक्राउ परेका धेरैजसो व्यक्ति ‘भरिया’ छन्। तीमध्ये पश्चिम नेपालका पहाडी जिल्लाका त धेरैजसो महिला छन्। 

पश्चिमका पहाडमा गाँजा धेरै हुन्छ। ओसारपसारका लागि तस्करले प्रायस् महिलाकै प्रयोग गरेका हुन्छन्। 
तीमध्ये धेरै नेपाली नाकामै पक्राउ पर्छन् भने कतिपय भारतीय भूमिमा।

नेपालकै तथ्यांक हेर्दा सन् २०११ देखि २०२०सम्म अर्थात् बितेको १० वर्षमा करिब ४ लाख ७९ हजार ५ सय ९० किलोग्राम गाँजा बरामद भएको छ। 

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले दिएको जानकारी अनुसार यो दशकमा करिब ३४ हजार ६ सय ९७ जना व्यक्ति लागूऔषध कारोबार वा दुर्व्यसनीको आरोपमा पक्राउ परेका छन्। तीमध्ये करिब १७ हजार ३ सय ४८ जना आरोपी गाँजासँग मात्रै सम्बन्धित छन्। 

‘लागूपदार्थको सुरुवात नै गाँजाबाट हुन्छ,’ ब्यूरोका प्रहरी निरीक्षक सुनिल श्रेष्ठ भन्छन् ‘पक्राउ परेकामध्ये आधाभन्दा धेरै गाँजासँगमात्रै सम्बन्धित छन्।’

आममाफी सम्भव छ?
तत्काल त सम्भव छैन। किनकि भर्खरैमात्र अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा भएको छ। 

अन्तर्राष्ट्रिय सन्धि(सम्झौतामा हस्ताक्षर गरिसकेपछि त्योसँग बाझिने राष्ट्रिय कानुन स्वतस् निस्क्रिय हुन्छन्।

पहिला प्रतिबन्ध लगाउने सन्धिमा नेपालले हस्ताक्षर गरेको थियो र नेपालमा कानुन बनाएर प्रतिबन्ध लगाएको थियो। अहिले फेरि प्रतिबन्ध फुकुवा गर्नुपर्ने पक्षमा नेपालले मतदान गरेपछि यहाँ पनि गाँजाको प्रतिबन्ध खुलाउनुपर्ने हुन्छ। 

‘तर त्यसका लागि कानुन चाहिन्छ,’ अधिवक्ता लोकेन्द्र वली भन्छन्, ‘लागुपदार्थ नियन्त्रण ऐन, २०३३ संशोधन नभइकन अहिले नै त्यसबारे केही भन्न सकिन्न।’

उनका अनुसार त्यो कानुनमा संशोधन नहुँदासम्म नेपालमा भने पुरानै व्यवस्था लागू हुनेछ।

‘जहिलेसम्म नयाँ कानुन बनेर वा संशोधन भएर राजपत्रमा प्रकाशित हुँदैन त्यो बेलासम्म त पुरानै व्यवस्था लागु हुन्छ,’ उनले भने, ‘त्यो दिनसम्म गाँजा सेवन, ओसारपसार वा पुरानो कानुनले प्रतिबन्ध गरेका सबै कुरा उसैगरी लागू हुन्छ।’

त्यस्तै त्यही कानुनअनुसार पक्राउ परिसकेका वा सजाय सुनाइएकाले पनि सजाय भुक्तान गर्नुपर्छ। 

‘कसुरदारको सजाय आममाफी दिनका लागि पनि त्यस्तै खाले कानुन चाहिन्छ,’ उनी भन्छन्, ‘नत्र त्यो तत्कालीन  कानुनअनुसारको सजाय त उनीहरूले भुक्तान गर्नैपर्छ किनकि त्यो कानुन लागू भएकै बेला ठहरिएको कसुदार हुन्छ।’

अब संसदमा फेरि पहल गर्छु – सांसद विरोध खतिवडा
२०७६ फागुन १९ गते नेकपा सांसद तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६’ संसदमा दर्ता गराए। 

नेपालमा गाँजा प्रतिबन्ध फुकुवा गर्ने र त्यसको व्यवसायलाई विश्वव्यापीकरण गरेर दुई/तीन वर्षमै ५० देखि ६० खर्ब रुपैयाँको कारोबार गर्न सकिने तर्क उनले गरे। 

त्यसअघि सांसद विरोध खतिवडाले ‘गाँजा फुकुवा गर्नुपर्ने’ बहस नेपालमा छेडिसकेका थिए। 

‘यो एक सकारात्मक कुरा हो,’ राष्ट्रसंघले गाँजालाई लागूऔषधको सूचीबाट हटाइसकेपछिख खतिवडाले आयोमेलसँग भने ‘अन्तर्राष्ट्रिय अभिसन्धीहले नै भनिसकेपछि अब नेपालले पनि कानुन बनाउनुपर्छ र त्यसैअनुरुप लागु गर्नुपर्छ।’

उनले संसदको आगामी अधिवेशनमा यसबारेमा कुरा उठाउने बताए।

लागूऔषध नियन्त्रण ऐन २०३३ मा यस्तो छ व्यवस्था
१४. दण्ड सजाय: (१) दफा ४ अन्तर्गत निषेध गरिएका कार्य गर्ने व्यक्तिलाई अपराधको मात्रा अनुसार देहाय बमोजिम सजाय हुनेछ:

(क) गाँजा सेवन गर्ने व्यक्तिलाई १ महिनासम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना।

तर चिकित्सा केन्द्रमा १ महिनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरी दिएमा त्यस्तो व्यक्तिको सम्बन्धमा १५/१५ दिनमा उक्त चिकित्सा केन्द्रबाट उपचार गराई रहेको प्रतिवेदन पेश गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्नेछ।

(ख) २५ वटा बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना।

(ग) २५ वटा बोटभन्दा बढी गाँजाको खेती गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना।

(घ) गाँजा उत्पादन, तयार, खरिदबिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार तथा संचय गर्ने व्यक्तिलाई:

(१) ५० ग्रामसम्मको भए ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना।

(२) ५० ग्रामदेखि पाँचसय ग्रामसम्मको भए १ महिनादेखि १ वर्षसम्म कैद र १ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना।

(३) ५ सय ग्रामदेखि २ किलो ग्रामसम्मको भए ६ महिनादेखि २ वर्षसम्म कैद र २ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना।

(४) २ किलोग्रामदेखि १० किलो–ग्रामसम्मको भए १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना।

(५) १० किलो ग्रामदेखि माथि जति सुकै भएपनि २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना।

(ङ) अफिम, कोका वा सोबाट बनेको लागूऔषधको सेवन गर्ने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना।

तर, चिकित्सा केन्द्रमा ३ महिनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरी दिएमा १५/१५ दिनमा चिकित्सा केन्द्रबाट उपचार गराई राखेको जानकारी पेश गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्नेछ।

(च)अफिम वा कोकाको खेती गर्ने व्यक्तिलाई:
(१) २५ बोटसम्म भए १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना।
(२) २५ बोटभन्दा माथि जतिसुकै भएपनि ३ वर्षदेखि १० वर्षसम्म कैद र २५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना।

(छ) अफिम, कोका वा सोबाट बनेको लागू औषधको सेवन र खेती गर्ने कार्य बोहक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई–
(१) २५ ग्रामसम्मको कारोबार गर्नेलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना।

(२) २५ ग्रामदेखि १ सय ग्रामसम्म कारोबार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना।

(३) १ सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना।

(ज) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागूऔषध वा मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) र  तिनको लवण र अन्य पदार्थ समेतको दुर्व्यसन गर्ने व्यक्तिलाई २ महिनासम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय।

तर चिकित्सा केन्द्रमा ३ महिनासम्म उपचार गराउने गरी त्यस्तो दर्व्यसनीलाई जिम्मा लिने कुनै व्यक्ति वा संस्थाले कागज गरी दिएमा त्यस्तो चिकित्सा केन्द्रबाट उपचार गराई राखेको जानकारी १५(१५ दिनमा पेश गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्नेछ।

(झ) माथि खण्ड ९ज० मा लेखिएदेखि बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म जरिवाना।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि 'अपराधको मात्रा' भन्नाले लागू औषधको प्रकृति, परिमाण, सञ्चय, खरिद-बिक्री,ओसार-पसार वा निकासी-पैठारीको उद्देश्य, अभियुक्तको गिरोह वा संगठन, अभियुक्तहरुले प्रयोग गर्ने हातहतियार वा बलको प्रयोग तथा नाबालकलाई आपराधिक कार्यमा गराइएको संलग्नता, शैक्षिक, सामाजिक र सांस्कृतिक संगठन जस्ता संस्थालाई माध्यम बनाई गरिएको कारोबार, सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदको दुरुपयोग गरी गरिएको कारोबारको आधारमा निर्धारण गरिने अपराधको मात्रा सम्झनु पर्छ।

(२) दफा ५ क र ५ ख को बर्खिलाप काम गर्ने ब्यक्तिलाई १ महिनासम्म वा १ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

१५. आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई सजाय स् कुनै घर,जग्गा वा सवारीको धनीले वा त्यसको भोग चलन गर्ने व्यक्तिलाई जानाजान त्यस्तो घर, जग्गा वा सवारीमा दफा ४ अन्तर्गत निषेध गरिएको कुनै कार्य गर्न अनुमति दिएमा निजलाई ६ महिनादेखि ५ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। घर, जग्गा वा सवारी धनीले नै अपराध गरेकोमा वा अपराध गर्न अनुमति दिएकोमा त्यस्तो घर, जग्गा वा सवारी समेत जफत हुन सक्नेछ।


Leave a Reply

Your email address will not be published.