राप्रपा हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक हो : कमल थापा

राप्रपा हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक हो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन्। 

सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण समारोहमा थापाले स्वःस्फूर्तरुपमा देशभर भइरहेको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको बताए।

उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे। 

राजस्था र हिन्दुराष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको थापाले दाबी गरे। 

त्यस्तै चुनाव चिह्न हलो भएकोमा दु:ख मनाउ गर्नुपर्ने अवस्था नभएको भन्दै थापाले हलोको सामाजिक सांस्कृतिक महत्वबारे चर्चा गरे।

‘हिन्दुराष्ट्रको नारा बोकेकाले गाई चुनाव चिह्न चाहे पनि पार्टी एकताका लागि हलो स्वीकार गर्‍याैं। हामीले अवलम्बन गरेको हलोको पनि सामाजिक आर्थिक र धार्मिक महत्व छ,’ उनले भने, ‘हलो भनेको भगवान बलरामको प्रतीक हो। हामीले यो चिह्न कायम गर्ने सौभाग्य पायौं यसमा आत्मग्लानी गर्नुपर्ने कारण छैन।’

त्यस्तै, अर्का अध्यक्ष पशुपति शमशेर जबराले ‘सरकारले सिन्को पनि नभाँचेको’ आरोप लगाए। 

‘मुलुक अहिले नराम्रो अवस्थामा छ। दुइतिहाईकाे सरकार दुई वर्षमम दिशाहीन उपलब्धिहीन बाटोमा छ। सरकारले सिन्का भाच्न सकेको छैन,’ उनले भने, ‘सरकारसँग केही ठोस बाटो छैन। काण्डको नाम लिन साध्य छैन। स्थायित्वका लागि प्राप्त जनादेशको पनि आपसी कलहमा परेर सरकारले खिल्ली उडायो।’

अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसको एउटा समूहको जस्तोमात्र देखिएको आरोप लगाए।

अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै देशमा संवैधानिक राजतन्त्रको आवश्यकता रहेको औंल्याए।

‘नेपालका लागि, संवैधानिक राजतन्त्रको आवश्यकता छ। स्पेनजस्तो विकसित देशमा दुईपटकको गणतन्त्रपछि राजतन्त्र आयो। नेपालमा पनि त्यो आवश्यक देखिएको छ,’ अध्यक्ष लोहनीले भने, ‘राष्ट्रपति एउटा पार्टीमा एउटा गुटका भए। सरकारको आफ्नालाई मात्र हेर्‍‌यो। ट्रास्परेन्सीले भ्रष्टाचारमा देखाएको सूचक लज्जास्पद छ।’

त्यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका नेता लोकेन्द्रबहादुर चन्दले पार्टीले जे निर्णय गर्छ त्यसमा आफ्नो सहमति हुने बताए।

पार्टीको झण्डोत्तोलन पूर्वप्रधानमन्त्री चन्दले गरेका थिए भने चुनाव चिह्न अध्यक्ष त्रय थापा, जबरा र लोहनीबाट भएको थियो।

तीनैजना अध्यक्षले पार्टीको अधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए। पार्टी एकतापछि राप्रपाले हाल चुनाव चिह्न हलो र झण्डामा गाई चिह्न प्रयोग गरेको छ।


Leave a Reply

Your email address will not be published.