ओलीजीलाई बुढेसकालमा केटाकेटीपन आयो, यसो नि छैन, उसो नि छैन!

ओलीजीलाई बुढेसकालमा केटाकेटीपन आयो, यसो नि छैन, उसो नि छैन!

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अन्तरसंघर्षका कारण सिर्जित विवाद अहिले उत्कर्षमा छ।

सोमबार बोलाइएको स्थायी कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र पठाए तर उपस्थित भएनन्।

स्थायी कमिटी बैठकमा अनुपस्थित भएपछि नेकपाभित्रको विवाद थप बल्झिने संकेत देखिएको छ।

नेकपा विवादको अन्तर्य, जारी विवाद र समाधानका उपायबारे स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मातृका यादवसँग आयोमेल संवाददाता धैर्यकान्त दत्तले गरेको कुराकानी:

नेकपाभित्र चलिरहेको विवादको मुख्य कारण के हो?
हाम्रो सिद्धान्तले के भन्छ भने अन्तर्विरोध सर्वव्यापी छ, सबै ठाउँमा हुन्छ। पार्टीमा मात्र होइन समाजमा पनि अन्तर्विरोध चलिरहन्छ। र, समाजकै एउटा प्रतिविम्ब पार्टी हो। त्यसैले पार्टीभित्र पनि अन्तर्विरोध हुन्छन्।

अन्तर्विरोध कहिले मैत्रीपूर्ण त कहिले शत्रुतापूर्ण हुन्छन्। यो अन्तर्विरोधलाई पार्टीले निरन्तर व्यवस्थापन गर्दै जानुपर्दछ। फेरि, नयाँ किसिमको अन्तर्विरोध हुन्छ किनभने क्रान्ति भनेको कहिल्यै पनि बनिबनाउ हुँदैन।

र, कुनै देशको नक्कल गरेर पनि हुँदैन। क्रान्ति जहिल्यै पनि आफ्नै विशेषतानुसारको हुन्छ।

अहिले हामी समाजवादमा जाने कुरा गरिरहेका छौं। त्यो बनिबनाउ बाटो पनि छैन। विभिन्न कारण थुप्रै मोडल फेल पनि भइसकेका छन्। त्यसको समीक्षा गर्दै नेपालमा कस्तो समाजवाद हुन्छ विचार गर्नुपर्ने छ।

पार्टी चल्ने भनेको विचार र विधिबाट हो। त्यसलाई मान्ने कि त्यसअनुसार हिँड्ने कि नहिँड्ने? अहिलेको विवाद भनेको त्यो हो। र, यो विवाद पार्टी एकता भएदेखि निरन्तर चल्दै आइरहेको छ। 

केही दिन साम्य देखिए पनि व्यवहारमा जाँदा सबै चिज बाहिर आइदियो। कमरेड केपी शर्मा ओलीले विगतमा संविधान र अहिलेको एकता प्रधानमन्त्री बन्नमात्र स्वीकार गर्नुभएको हो। र, अहिले जुन पार्टी एकताको विचार र विधि छ त्यसलाई मान्न तयार हुनुहुन्न भन्ने उहाँको व्यवहारबाट प्रष्ट भइसकेको छ। समस्या यहाँ छ।

पार्टीका विधि र विचार मनले स्वीकार गर्न सक्नुभइरहेको छैन।

उहाँ भन्नुहुन्छ, प्रचण्डले समझदारी तोड्नुभयो। जबकि, उहाँ स्वयंले समझदारी तोड्नुभएको छ। जहाँसुकै हेर्नुस् ओली कमरेडले समझदारी तोड्नुभएको छ।

आफूले गरेको गल्तीको जतिसुकै ढाकछोप गरे पनि सबै कुरा छर्लङ्ग भइसकेको छ। त्यसैले यो अन्तरविरोध कुनै नयाँ होइन। लामो समयदेखि चल्दै आइरहेको छ। केही साथीहरूले स्थायी कमिटीमा हल गर्न खोज्नुभएको छ। तर, उहाँ पनि भन्नुहुन्छ स्थायी कमिटीमा जाउँ जबकि स्थायी कमिटीको निर्णय नै मान्नु हुँदैन उहाँ।

‘चित र पट’ आफ्नै होस् उहाँलाई लागेको छ। जताबाट पनि सबै कुरा उहाँ आफ्नै भागमा पार्न खोज्नुहुन्छ।

देशको भागमा पार्नुपर्ने हो, जनताको भागमा पार्नुपर्ने हो। उहाँको आफ्नै भागमा पार्ने र आफूसँग जोडिएकालाई मात्र हेरिरहनुभएको छ। यसले गर्दा अन्तरद्वन्द्व सुरु भएको हो।

केपी शर्मा ओलीले विधि र प्रक्रिया मिचेको तपाईंहरूले दाबी गर्दै आइरहनुभएको छ। कहाँ र के मिच्नुभएको छ उहाँले?
पार्टीमा सर्वसम्मत निर्णय हुनु राम्रो कुरा हो। तर, सर्वसम्मत नभएको अवस्थामा बहुमतको निर्णय मान्नुपर्ने हाम्रो विधानमै भनिएको छ। तर, उहाँ सिधै भन्नुहुन्छ, म पार्टी बैठकको निर्णय मान्दिनँ। 

उहाँ अन्तरिम समितिको निर्णय मान्न तयार हुनुहुन्न। तर, उहाँ अध्यक्ष पनि अन्तरिम समितिकै हुनुहुन्छ।

प्रधानमन्त्री पनि अन्तरिम पार्टीबाटै बन्नुभएको छ। पार्टीको विधि विधान त मान्नुप-यो नि। तर, मान्दिनँ भनेर उहाँ ‘च्यालेन्ज’ नै गर्नुहुन्छ। पार्टी निर्णयको खुलेआम उल्लंघन गरिरहनुभएको छ।

बैठकमा आउन मान्नुहुन्न। आफ्नो प्रस्तावलाई प्रस्ताव र अर्काको प्रस्तावलाई अभियोगपत्र भन्नुहुन्छ। पार्टीमा त्यसको जवाफ दिनुप-यो नि। उहाँ आफूलाई स्थायी समितिभन्दा ठूलो ठान्नुहुन्छ।

हाम्रो सांगठनिक संरचनाअनुसार केन्द्रीय समिति सर्वोच्च निकाय हो। अरू सबै कमिटीहरू केन्द्रीय समितिप्रति उत्तरदायी छन्। आफूलाई अध्यक्ष भन्नुहुन्छ तर पार्टी बैठकमै आउन मान्नुहुन्न।

ओली बैठकमा नआउनुका कारण के होलान्?
अल्पमत र बहुमतको हामीले अहिलेसम्म भोटिङ गरेकै छैनौं। मत विभाजन भएकै छैन। तर, उहाँ आतंकित हुनुभएको छ। मलाई प्रधानमन्त्रीबाट हटाउँछ कि अध्यक्षबाट हटाउँछ कि भनेर उहाँको दिमागमा बसिसकेको छ।

मेरो पद जान्छ कि भन्ने उहाँभित्र भय बसेको छ। ‘मलाई हटाउन खोज्छन् भने म छाड्दिनँ’ हरेक ठाउँमा भन्दै हिँड्नुभएको छ।

हट्ने-हटाउने अहिले विषय नै उठेको छैन। पार्टीले राख्छ कि राख्दैन अहिलेको प्रश्न त्यो हो। उहाँले राम्ररी ‘फेस’ गरेर सबैलाई ‘कन्भिन्स’ गर्नुभयो भने पार्टीले उहाँलाई हटाउँदैन नि। उहाँ भित्रैबाट आतंकित भइसक्नुभएको छ। एकखाले ‘फोबिया’ को शिकार भइसक्नुभएको छ। त्यसैले बैठकको सामना गर्न डराइ रहनुभएको छ। 

र, आतंकित भएर मानिस जता पनि झम्टिन खोज्छ। आफू जोगिन उहाँ हरेकतर्फ झम्टिन खोजिरहनुभएको छ। मलाई लागेको छ।

आफ्नै पार्टी बैठकको सामना गर्न नसक्ने नेता कहीँ नेता हुन्छ र? अरू केही होइन म नै सबैथोक छु भन्ने उहाँमा घमण्ड पलाएको छ। उहाँ बैठकमा आउनुपर्थ्यो। बहस र छलफलमा भाग लिनुपर्थ्यो। तर, भाग्न खोजिरहनुभएको छ।

एकातर्फ प्रचण्डले पेस गरेको आरोपपत्रको जवाफ दिन्नँ भन्नुहुन्छ र अर्कोतर्फ १९ पृष्ठको जवाफ ३८ पृष्ठमा दिनुहुन्छ। स्थायी कमिटीले विवेक प्रयोग गर्छ भन्नुहुन्छ। तर, त्यो विवेक प्रयोग गर्ने ठाउँमा आफैं आउनुहुन्न।

कुराहरू उहाँको सन्तुलनमा छैन जस्तो मलाई लागेको छ। उहाँले देखाइरहेको प्रवृत्ति कि केटाकेटीमा देखिन्छ कि बुढेसकाल लागेपछि। बुढेसकालमा पनि केटाकेटीपन आउँछ मानिसलाई।

अहिले गम्भीर अवस्था छ। तर, उहाँले गम्भीरतापूर्वक सोचिदिनुभएको छैन। उहाँकै बहुमत भए भइहाल्यो नि। त्यै दलले नै उहाँलाई अध्यक्ष र प्रधानमन्त्री बनाएको हो। तर, कुनै व्यक्तिलाई सधैंका लागि बनाइदिँदैन नि। 

पार्टीमा पनि महाधिवेशन कुरिरहनुपर्दैन। केन्द्रीय कमिटीले चाहँदा जुनसुकै बेला पनि हटाउन सक्छ। गल्ती गर्दा महाधिवेशनबाट चुनिएका व्यक्तिलाई पनि जुनसुकै बेला हटाउन सकिन्छ।

उहाँ भन्नुहुन्छ, म निर्वाचित अध्यक्ष हुँ। त्यसो भए उनका उपाध्यक्षहरू कहाँ गए त? महासचिव र सचिवहरू कहाँ गए? उहाँ आफैंले बोलेको कुरा स्वयं काटिरहनुभएको छ।

सचिवालयमा सरसल्लाह गरेर समाधान खोज्ने भन्नुहुन्छ तर आफैं अनुपस्थित भइदिनु हुन्छ। उहाँले पेस गरेको ३८ पृष्ठको प्रस्तावमै सबै प्रमाणहरू छन्।

नेकपालाई जनताले दुईतिहाइ मत दिएर देश जिम्मा लगाएको छ। देश जिम्मा लिएको पार्टीको हविगत यस्तो हुने हो भने के हुन्छ? सामान्य मान्छेले बोल्दा विरोध गर्दा लाठी चार्ज हुन्छ। तर, ओलीजी त संविधानविपरीत क्रियाकलाप गरिरहनुभएको छ।

‘राजा आऊ देश बचाऊ’ को नारा सडकमा गुञ्जिन थालेको छ। र, त्यसलाई उहाँले सहज बनाइदिनुभएको छ।
तपाईंकै पार्टीभित्रको आन्तरिक विवादको परिणाम त होइन त्यो?
‘भाइ फुटे गँवार लुटे’ यो पुरानो भनाइ हो। हाम्रो पार्टीभित्र चलिरहेको विवादको अरूले फाइदा लिनु स्वाभाविकै हो। तर, राजावादीहरूलाई हाम्रो पार्टीले पक्कै पनि उचालेको होइन। तर, पार्टीकै कुनै व्यक्ति चाहिँ हुनसक्दछ। व्यक्ति र पार्टी फरक कुरा हो।

हाम्रै पार्टीको सरकार छ। र, यस्ता गतिविधि भइरहेको बेला हामीमाथि प्रश्न उठ्नु स्वाभाविक नै हो। सोमबारको स्थायी कमिटी बैठकमा हामीले पनि यसबारे प्रश्न उठाएका छौं। 

मैले उठाएँ, जनार्दन शर्माले लिखित प्रस्ताव नै पेस गर्नुभएको छ। स्थायी कमिटीमा राजा फर्काउने आन्दोलनको पक्षमा कोही देखिएनन्।

सरकार र नेताका गतिविधिबाट जनता रुष्ट छन्। रिसको झोंकमा मानिस जता पनि लाग्छन्। तर, त्यसलाई राजावादीले ठूलो उपलब्धी नठाने हुन्छ।

तपाईंहरूले महाधिवेशनबिनै पार्टी नेतृत्व र चुनावबिनै सरकारको नेतृत्व खोज्नुभएको अध्यक्ष ओलीले स्थायी कमिटी बैठकमा पठाएको पत्रमा भनिएको छ नि?

चुनावमा उहाँ प्रधानमन्त्रीमा त निर्वाचित हुनुभएको होइन नि। हाम्रो संसदीय दलले नेता मानेर उहाँलाई प्रधानमन्त्री बनाएको हो। संसदीय दलले चाह्यो भने जुनसुकै बेला पनि हटाउन सक्छ नि।

अर्को कुरा, एकता महाधिवेशनको अध्यक्ष उहाँ होइन नि। यही अन्तरिम पार्टीकै अध्यक्ष हुनुहुन्छ। त्यसैले उहाँले दिनुभएको दलिलमा कुनै तर्क छैन।

पुरानो दुवै पार्टी विघटन भएर बनेको नेकपाको अहिले उहाँ अध्यक्ष हुनुहुन्छ। आफ्नै भागमा जे पनि पार्न खोज्ने र आफ्नै अनुकूलको व्याख्या गरेर हुँदैन। सत्य र तथ्यमा आधारित भएर व्याख्या हुनुपर्दछ। तर, त्यो उहाँबाट हुनसकिरहेको छैन।

प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन पटक–पटक आग्रह गरिरहनुभएको छ। प्रचण्डको प्रस्ताव फिर्ता हुन्छ त?
त्यो प्रस्ताव प्रचण्डले चाहेर पनि अब फिर्ता हुँदैन। पार्टीमा दर्ज भइसकेको प्रस्ताव अब कुनै हालतमा फिर्ता हुँदैन। ओलीजीले चाहेकै कुरा हुनुपर्ने जरुरी छैन। 

प्रस्ताव कमिटीमा आइसकेको छ। सबैभन्दा ठूलो कमिटी हो नि। प्रचण्ड कमरेडले स्थायी कमिटीको बैठकमा पनि जनताको प्रस्ताव बनिसक्यो भनेर अब फिर्ता नहुने भनिसक्नुभएको छ। 

बहस र छलफल गरेर निर्णय गर्नुप-यो नि। फिर्ता लिने कुरा गरेर मात्रै केही हुनेवाला छैन। के निर्णय गर्ने त्यो कमिटीको हातमा छँदै छ नि। कमिटीले जे निर्णय गर्छ त्यो सर्वमान्य हुनेछ।

तपाईंहरूले चाहेको के हो? केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये कुनै एक पद छोडिदिनुपर्ने हो?
पहिले त दुवै प्रस्तावमाथि छलफल हुनुप-यो। प्रस्तावमा उठाइएका प्रश्नहरूको जवाफ दुवै अध्यक्षले दिनुप-यो। स्थायी कमिटीमा पठाएको पत्रमा ओली कमरेडले खेलको नियम बदलियो भन्नुभएको छ। त्यसलाई उहाँले प्रमाणित गर्नुप-यो।

भदौ २६ गतेको स्थायी कमिटीले गरेको निर्णयको उल्लंघन कसले ग-यो, त्यसको जवाफ आउनुप-यो।

सबैको जवाफ आइसकेपछि बहस हुन्छ। र, त्यसपछि कसरी जाने भन्ने निर्णय हुन्छ होला नि। त्यसको लागि त बैठकमा आउनुप-यो। बैठकमा नआएर समस्यालाई झनै बल्झाउने काम भएको छ।

आमजनताले बुझ्न सकिरहेका छैनन्, नेकपाको अहिलेको विवादमा प्रचण्डले अर्का अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै चाहेको हो? 
होइन तपाईंहरू यो कुरा किन उठाउनुहुन्छ? आमजनताले होइन कि तपाईं पत्रकारहरूले खोजिरहनुभएको छ। आमजनताले खोजेकै छैन, हामी पनि जनताबीच गइरहेका छौं। तपाईंहरू प्रश्न उठाइदिनुहुन्छ।

हाम्रो सरोकार के हो भने देश र जनताको आवश्यकता बैठकमा छलफल गरौं। प्रधानमन्त्रीमाथि प्रश्न उठेका छन्। उहाँले जवाफ दिनुपर्दछ। कतिपय साथीलाई लागेको होला ओलीजीले त्यस्तो गर्नुभएको छैन।

सत्यमा आधारित भएर छलफल र बहस हुनुप-यो। दुवै अध्यक्षले पार्टीलाई कन्भिन्स गर्न सक्नुप-यो। सबैजना कन्भिन्स नै हुनुपर्छ भन्ने पनि छैन। सबैको आ-आफ्नो स्वतन्त्रता हुन्छ। सर्वसम्मत नभएको अवस्थामा अल्पमत वा बहुमतबाट निर्णय गर्नुपर्छ।

अर्का अध्यक्ष ओलीजीले जहिल्यै पार्टी फुट्छ भन्दै हिँडिरहनुभएको छ। उहाँको अनुकूल भएको भए पार्टी त उहिल्यै फुटिसकेको हुन्थ्यो। पार्टी विभाजनको पक्षमा रहेको उहाँको व्यवहारबाटै प्रष्ट भइसकेको छ।

आफ्ना सबै पत्र र प्रस्तावहरू उहाँले पहिले सार्वजनिक गरेपछि यताबाट पनि बाहिर लगिएको हो। उहाँले गर्दा हुने अरूले गर्न नहुने, यस्तो पनि हुन्छ? ओली कमरेडको व्यवहारले देश, जनता र पार्टी कसैलाई हित गर्दैन भन्ने कुरा प्रष्ट भइसकेको छ।

ओलीले आत्मलोचना गरे विवाद साम्य हुन्छ?
आफूलाई रूपान्तरण गर्नुप-यो। उहाँले त पहिले आफूलाई समीक्षा गर्नुप-यो र सच्चिनुप-यो। विवाद साम्य भइहाल्छ नि। तर, अर्को विकल्प छैन।

प्रधानमन्त्री ओलीप्रति प्रचण्डको असन्तुष्टि कसरी सुरु भयो?
ओलीजीले गर्नुभएको समझदारी एकपछि अर्को गरी तोड्दै गएपछि प्रचण्ड कमरेडको असन्तुष्टि बढ्दै गएको हो।

आफू एक्लै ढंगले चल्ने सर्वसत्तावाद प्रवृत्ति देखाउन खोज्ने, सबै थोक मैले गरेको छु, अरू कोही कसैले केही गरेको छैन भन्ने उहाँलाई लागेको छ। कसैलाई गन्दै नगन्ने उहाँमा ठूलो दम्भ देखिएको छ।

अहिलेको परिवर्तनको नेतृत्व कसले गरेको हो? उहाँले? अहिलेको परिवर्तनको नेतृत्व प्रचण्ड, माधव कमरेडहरूले गर्नुभएको हो।

उहाँ त ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेर गणतन्त्रकै विरोध गर्नुभएको होइन र? प्रचण्डले त आफू त्याग गरेर उहाँलाई प्रधानमन्त्री बनाइदिनुभएको हो। प्रचण्ड कसरी पदको लोभी हुनु भयो?

अब बस्ने स्थायी कमिटी बैठकले समस्याको समाधान निकाल्ला भनेर विश्वास गर्न सकिन्छ?
विश्वास गर्ने भनेको हाम्रो पार्टी हो। पार्टीले केही न केही निकास पक्कै निकाल्ला भन्ने मलाई लागेको छ। निकास ननिकालेर उपाय पनि छैन। कुनै व्यक्तिको चाहनाअनुसार चल्ने कुरा होइन।

पार्टी फुट्ने सम्भावना कत्तिको देख्नुभएको छ?
म त पार्टी फुट्ने सम्भावना थोरै पनि देखेको देख्दिनँ। ओली कमरेडले धेरै कोसिस गर्नुभयो तर सक्नुभएको छैन। अध्यादेश ल्याएकै हो, पटक–पटक भनेकै हो, अहिले पनि फाउन्डेसनको नाउँमा गतिविधिहरू चलिरहेका छन्, अर्को पार्टी दर्ता गराएकै हो। तर, साथीहरू उहाँसँग जान मान्नुभएको छैन।

मलाई त लाग्दैन पार्टी फुट्छ भनेर। पार्टी फुटाएर त हामी पनि गएका थियौं। पार्टी फुटाउनेहरूको हविगत सबैले देखेकै छन्। पार्टी फुटाउने र वातावरण बनाउनेको कस्तो हविगत हुन्छ भन्ने सबैले थाहा पाइसकेका छन्। त्यसैले पार्टी फुट्दैन। 

मुर्खता नै हामीले ग-यौं भनेमात्र हो। मुर्खताको औषधी केही हुँदैन, विगतबाट सिक्नुप-यो।
 
 


Leave a Reply

Your email address will not be published.