नयाँ कानुनविरुद्ध किसानद्वारा आज भारत बन्दको घोषणा

नयाँ कानुनविरुद्ध किसानद्वारा आज भारत बन्दको घोषणा

नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको नयाँ कानुनको विरोधमा भारतमा सुरू भएको किसानहरूको आन्दोलन देशव्यापी रुपमा फैलिएको छ।

केन्द्र सरकारमाथि दबाब बढाउन किसान संगठनले मंगलबार भारत बन्दको घोषणा गरेको छ। पञ्जाब, हरियाणा, उत्तर प्रदेशसहित अन्य राज्यका किसा संगठनको बैठकले मंगलबार भारत बन्द गर्ने घोषणा गरेको हो।

सरकारले कृषि क्षेत्रसँग सम्बन्धित ल्याएको तीनवटै कानुन फिर्ता लिनुपर्ने उनीहरूले माग गरिरहेका छन्।

कृषि कानुनविरुद्ध हरियाणा-उत्तर प्रदेशसँग जोडिएका दिल्ली सीमामा किसानहरूको विरोध प्रदर्शन जारी छ। शनिबार केन्द्र सरकार र किसानका बीच भएको पाचौँ चरणको वार्ता बिना निष्कर्ष टुंगिएको थियो।

कठ्यांग्रिने चिसोमा पनि किसानहरूको उत्साह कायम छ। भारतीय किसान युनियनले सिंघु सीमामा पाँच प्रदर्शन स्थलको नामकरण गरेको छ। सिंघु सीमा र टिकरी सीमा दिल्ली–हरियाणाको सीमा हो। र, यहाँ किसानहरूको प्रदर्शन कैयौँ किलोमिटरसम्म फैलिसकेको छ। ती प्रदर्शन स्थलहरूको पहिचान गर्न किसान संगठनले पाँच प्रसिद्ध हस्तिको नाममा नामाकरण गरेको छ।

संगठनले बाबा बंदा सिंह नगर, चाचा अजित सिंह नगर, बीबी गुलाब कौर नगर, सहिद भगत सिंह नगर र सहिद साधुसिंह तख्तुपुरा नगर नामाकरण गरेका हुन्।

सरकारसँग जारी वार्ताबाट निष्कर्ष निस्किनेमा किसानहरू सशंकित देखिएका छन्। किसान संगठनहरूले सरकारले जारी गरेको नयाँ कानुन रद्द गर्नुपर्ने अन्तिम ‘बटमलाइन’ तय गरेका छन्। यसबाहेक अन्य कुनै कुरामा सहमति हुन नसक्ने उनीहरूले अडान लिएका छन्।

भारतीय किसान युनियनले दिल्ली र ‘बोर्डर प्वाइन्ट’ ठप्प पार्ने चेतावनी दिएको छ।

तीन नयाँ कृषि कानुन फिर्ता लिन माग राख्दै हजारौं किसान सडकमा उर्लिएका छन्। राजधानी दिल्लीसँग जोडिएका सीमा उनीहरूले ठप्प पारेका छन्।

भारतभरका किसान संगठन अल इन्डिया किसान संघर्ष कोअर्डिनेसन कमिटीले भारत बन्दलाई आफ्नो समर्थन जनाएको छ। यस संस्थाअन्तर्गत भारतका चार सयभन्दा बढी किसान संगठन आवद्ध छन्।

यसैगरी कांग्रेस, समाजवादी पार्टी, आम आदमी पार्टी,तृणमूल कांग्रेस, राष्ट्रिय लोकदललगायतका पार्टी खुलेर आन्दोलनलाई समर्थन जनाइसकेका छन् भने विपक्षी दलहरूले पनि सरकारमाथि दबाब बनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published.