राजावादीको आन्दोलनसँग सरकार डराएको हो?

राजावादीको आन्दोलनसँग सरकार डराएको हो?

पार्टीभित्रको विवाद र राजतन्त्रका पक्षमा आन्दोलन बढेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक आज बस्दैछ। आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग बैठक आयोजना गरिँदै छ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने भनिएको छ।

पार्टीभित्रको विवाद, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकलाई चासोको रुपमा हेरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले वर्तमान समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने बताए। उनले पछिल्लो समय सडकमा देखिएका आन्दोलन र गणतन्त्र विरोधीको सक्रियताका विषयमा छलफल हुने बताए।

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सोमबार शीर्ष नेताहरूको बैठक बोलाएका थिए।

कांग्रेसले केही दिन अघि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकड, कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा भइरहेका प्रदर्शनलाई बैठकमा उठाउने निर्णय गरेको छ।

यसअघि भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नयाँ नक्सामा समावेश गरेपछि उत्पन्न परिस्थितीका विषयमा छलफल गर्न गत जेठ १३ गते सर्वदलीय बैठक बोलाइएको थियो। बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन आग्रह गरेका थिए।


Leave a Reply

Your email address will not be published.