राजावादी उभार-युवाको प्रतिगामी ज्वारभाटा

राजावादी उभार-युवाको प्रतिगामी ज्वारभाटा

उनी एउटा रातो पल्सर(२२० सिसी) मोटर साइकलको हर्न थिचिरहेका थिए। बाइकमा एउटा ठूलो राष्ट्रिय झन्डा फहराइरहेको थियो। 

२७ वर्षीय उनी प्रमेश गुप्ता हुन्। अघिल्लो साता नेपालगन्जमा भएको ‘राजा आउ, देश बचाउ’ वाला आन्दोलनमा उनका कैयौं साथीहरू पनि साथमा थिए। 

उनी कुनै पनि राजनीतिक दलमा छैनन्। न कुनै राजनीतिक ‘सिद्धान्त’ वा ‘वाद’ का बारेमा उनी जानकार छन्। कम्प्यूटर इन्जिनियर पढेका उनको जागिर लकडाउनमा खोसियो। 

त्यसपछि घरमा आएका उनी केही महिना घरभित्रै बसे। 

‘हामीलाई यी ‘वाद’ वाला राजनीति चाहिएन’ मोटर साइकल हाँक्न तम्तयार उनले भने ‘केही त होस् जो यो गणतन्त्रले दिन सकेन अनि आन्दोलनमा आएको।’

‘राजा आउलान् त फेरि?’ उनलाई त्यसको पनि ‘बाल मतलव।’

‘जो सुकै आओस् तर अहिलेको जस्तो नहोस्।’

केहीबेरमा र्‍याली हुँइकियो।

युवाको स्वर एक भयो ‘राजा आउ, देश बचाउ…।’

यो लहर अहिले देशभरि देखिएको छ। जहाँ लोभलाग्दा युवा जमात ‘राजा’ बोलाइरहेका छन्।

गत शनिबार काठमाडौंमा पनि हुलका हुल युवा माइतीघरमा जम्मा हुँदै थिए। ढाका टोपी लागएका अनि चाउरिन थालेका केही वृद्ध अनुहारबाहेक काठमाडौंको यो र्‍यालीमा पनि ‘युवा’को हुल नै बाक्लो थियो। 

‘स्पोर्टस’ बाइकको एक्सिलेटर निमोठीरहेका उनीहरूलाई थाहा छैन देशको राजनीतिक भविष्यको ‘एक्सिलेटर’ कतातिर निमोठिँदैछ। 

पृथ्वीनारायण शाह र श्रीपेच लगाएका ज्ञानेन्द्रका अग्ला अग्ला तस्विर बोकेर ‘कछुवा’ गतिमा अघिअघि घस्रिरहेको एउटा मिनी ट्रकका पछि युवाका बाइकहरू घ्यारघ्यार गरिरहेका थिए। 

यो र्‍यालीमा २२० सिसीदेखि माथिकै मोटरसाइकलमा युवा जमात ‘राजा आउ…’ भनिरहेको थियो। 

राजा बोलाउने यो आन्दोलनमा ‘युवा’ लहरले के संकेत गर्छ?

‘युवा भनेका परिवर्तन र विद्रोहको प्रतिक हो’ त्रिभुवन विश्वविद्यालमा राजनीतिक शास्त्रका उपप्रध्यापक सुदीप गौतम भन्छन्, ‘अहिलेका युवा त्यही चाहन्छन्। सडकमा पोखिएको उनीहरूको आक्रोश युवा फ्रस्टेशन पनि हो।’

अनि ‘परिवर्तनकारी युवा चेत’ फेरि किन पछाडि फर्केर राजा बोलाइरहेछन् त?

‘यो खासमा व्यवस्थाविरुद्धको आक्रोश पनि होइन’, गौतम भन्छन् ‘यो सरकार अनि सरकार चलाउनेका गतिविधिप्रतिको आवेग हो। युवाहरूले नयाँ चाहन्छन् त्यो कुरा अहिले शासन चलाउनेहरूले बुझ्न सकेनन्।’

उनका अनुसार जुन अपेक्षा ‘राजतन्त्र फालेर, गणतन्त्रको उभार’मा थियो त्यो बेला युवापुस्तामा थुप्रै आशा थिए। सपना थिए। उज्यालो भविष्यको अभिलाषा थियो। 

‘तर, यो १४–१५ वर्षमा त के भयो? सायद युवाले त्यो अनुभूति गर्न पाएनन्’ उनी भन्छन् ‘अनि त्यही आक्रोश सडकमा पोखिएको हो।’

उनका अनुसार यो व्यवस्था परिवर्तन वा फेरि पुरानै राजतन्त्र ब्यूँताउने आन्दोलन अनि माग पनि होइन। 

गौतमको बिचारमा अहिले सडकमा मानिस ‘राजतन्त्र’ को नाराले मात्रै तानिएका होइनन्। त्यसमा एउटा अर्को ‘शुत्र’ पनि गाँसियो ‘हिन्दू राज्य।’

‘धार्मिक आस्था भन्ने कुरा एकदमै कठिन कुरा हो’ उनी भन्छन् ‘धर्मको सेन्टिमेन्टले पनि मानिस सडकमा तानिएका हुन्।’

उनलाई लाग्छ अहिले सत्ता हाँकिरहेकाहरूले ‘जनचाहना’लाई ध्यानै दिएका छैनन्। न प्रतिपक्षले आम नागरिकको भावनालाई समेट्न सकेको छ।

‘अहिले न सत्ता चलाउनेले जनताको आकांक्षाअनुसार सरकार हाँक्न सके न प्रतिपक्ष सडकमा आएर जनताको नेतृत्व गरे’ उनी भन्छन् ‘खासमा यो कम्यूनिष्टप्रतिको एउटा अव्यक्त्त नैराश्यता पनि हो उनीहरूलाई मन नपराउने जत्था पनि हो। किनकि कांग्रेसले गणतन्त्र कम्यूनिष्टको मात्रै होइन कांग्रेसकै अगुवाइमा आएको हो वा यो हाम्रो पनि अजेण्डा हो भनेर स्थापित गर्न नसक्नुको परिणाम पनि हो।’

अहिले नै युवा ‘मुड विश्लेषण’ गर्ने बेला भएको छैन कि!

‘यो खासमा सुशासनको माग हो। अहिले नै विश्लेषण गर्ने बेला भएको छैन कि’ युवा नेता रन्जु दर्शना भन्छिन् ‘युवा रजानीतिमा सक्रिय हुनु त सकारात्मक कुरा हो।’

तर उनका अनुसार ती युवा ‘आफ्नो भविष्य यही राजनीतिक हो भनेर सडकमा आएका हुन् कि जाने त विदेश नै हो अहिलेलाई आन्दोलनमा गैदिम् न त भनेर आएका हुन्’ भन्नेबारेमा भने सोच्नैपर्छ।

तर युवाले त फेरि राजतन्त्र नै माग्न थाले नि!

‘हो अहिलेको युवा पुस्ताले लोकतन्त्र र गणतन्त्रको लडाइँमा धेरै समय खर्च भएको देखेका छन्। भोगेका छन्। त्यसैले युवापुस्तामा एक किसिमको फ्रस्टेशन आउनु त स्वभाविकै हो’ दर्शना भन्छिन् ‘तर लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हो। राजतन्त्र वा अरु तन्त्र हुनसक्दैन।’

उनका अनुसार अहिले युवाले आफ्नो खाले नेतृत्व पनि चाहिरहेका छन्। 

‘नेपाली राजनीतिमा एउटा खड्किएको कुरा भने यो पनि हो’ उनी भन्छिन् ‘तर अहिले युवाले आफ्ना मन खाँदा नेतृत्व पाउन सकेको छैन।’

र, याे पनि

सडकबाट ‘राजा आऊ…’ भन्नेहरू को हुन्?

सडक आन्दोलनसँग मेरो साइनो छैन : ज्ञानेन्द्र

झापामा राप्रपाले १० हजार प्रदर्शनकारी उतार्ने, नेतृत्व राजेन्द्र लिङ्देनले गर्ने

सडक आन्दोलनको नेतृत्व अब राप्रपाले गर्छ : कमल थापा

‘हामीले ज्ञानेन्द्रसँग सल्लाह गरेर राजसंस्था चाहिन्छ भनेका होइनौं’


Leave a Reply

Your email address will not be published.