टर्मिनल भवन उद्घाटन गर्दै पर्यटनमन्त्री भट्टराईले भने- संघ सरकारबाट जनकपुरलाई उपहार

टर्मिनल भवन उद्घाटन गर्दै  पर्यटनमन्त्री भट्टराईले भने- संघ सरकारबाट जनकपुरलाई उपहार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुरको विकासका लागि तीनै तहका सरकारबीच  समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

मन्त्री भट्टराईले जनकपुरको विकास संघ सरकारको पहिलाे प्राथमिकता रहेको समेत बताए।

जनकपुर विमानस्थलमा नवनिर्मित टर्मिनल भवनको मंगलबार उद्घाटन गदै उनले टर्मिनल भवन प्रदेश २ सरकार, स्थानीय सरकार र संघ सरकारबीच मित्रताको सेतु रहेको उल्लेख गरे।

‘आधुनिक र सुविधासम्पन्न टर्मिनल भवन सञ्चालनमा आएको छ,’ उनले भने, ‘यो टर्मिनल भवन पवित्र एवं तीर्थस्थल जनकपुरका लागि संघ सरकारबाट एउटा उपहार हो।’

जनकपुर विमानस्थलको नामाकरणको सन्दर्भमा भट्टराईले प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्तरुपमा प्रस्ताव गरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जनकपुरधाम विमानस्थल राख्न तयार रहेको मन्त्री भट्टराईले बताए।

साथै विमानस्थलको १३ सय मिटरको धावनमार्गलाई १६ मिटरसम्म विस्तार गर्न स्थानीय सरकारले जग्गा उपलब्ध गराए संघ सरकार प्राविधिकलगायतका अन्य खर्च सहयोग गर्न तयार रहेको उनले बताए।

मन्त्री भट्टराईले सातवटै प्रदेशमध्ये प्रदेश २ सरकार र संघ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको दाबी गरे।  ‘संघ र प्रदेश २ सरकार असल मित्र छ, मित्रवत हिसाबले अघि बढिरहेका छौं, हामीबीच कुनै समस्या छैन,’ उनले भने, ‘अभ्यासका क्रममा सानातिना समस्या आउन सक्दछ। त्यो ठूलो कुरा भएन।’

समझदारी र सहकार्यका साथ संविधानले उल्लेख गरेका काम कर्तव्य र अधिकारको पालना गर्दै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्ने दायित्व सबैको रहेको उनले बताए।

मन्त्री भट्टराईले उदघाट्न गरेसँगै ५३ वर्षअघि निर्माण गरिएको टर्मिनल भवनलाई विस्थापित गर्दै नवनिर्मित टर्मिनल भवन मंगलबारदेखि सञ्चालनमा आएको छ।

नयाँ टर्मिल भवन सञ्चालनमा आएसँगै यसअघि यात्रुहरूले भोग्दै आएको समस्या अन्त्य हुने विश्वास लिइएको छ।

सिमेन्ट र ईंटाको प्रयोग नगरी स्टीलबाट नेपाल सरकारको ४२ करोडको लागतमा तयार पारिएको नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्ने सक्ने व्यवस्था मिलाइएको छ।

कुल सात सय यात्रु क्षमताको टर्मिनल भवनमा सीसीटीभी, फायर अलार्म, सञ्चार सेवा, विशिष्ठ कक्ष, मातृ शिशु स्याहार कक्षलगायतको व्यवस्था गरिएको छ। साथै ३५ जना सुरक्षाकर्मीका लागि आवास गृह र पार्किङको व्यवस्था मिलाइएको छ।

२०२४ सालमा १८ यात्रु बोक्ने जहाजका लागि निर्माण गरिएको टर्मिनल भवनबाटै हालसम्म कार्यसञ्चालन भइरहेको थियो।

१८ करोडको लागतमा २०६९ साल मंसिरमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले नयाँ टर्मिनल भवनको शिलान्यास गरेका थिए। तर, निर्माण सम्पन्न हुँदासम्म ४२ करोड खर्च भएको छ।


Leave a Reply

Your email address will not be published.