सर्वदलीय बैठक : प्रतिपक्ष बोलिरहे, सत्तापक्ष सुनिरहे

सर्वदलीय बैठक : प्रतिपक्ष बोलिरहे, सत्तापक्ष सुनिरहे

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले आन्तरिक द्वन्द्वमा फसेको छ। आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेताहरूको आलोचना र विरोधको सामना गर्नुपरिरहेको छ।

प्रतिपक्षी दलहरू पनि सरकारको कार्यशैलीको निरन्तर आलोचना गरिरहेका छन्। आफ्नै र प्रतिपक्षी दलबाट घेरिएको बेला प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठक बोलाए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकोे बैठकमा सत्तारुढका साथै संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरू सहभागी भए। र, सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री ओलीले सरकारकै आलोचना सुन्नुपर्‍याे। 

बैठकको सुरुवातमा ओलीले कोभिड रोकथाम र नियन्त्रणका लागि सरकारले अहिलेसम्म गरेको प्रयासबारे जानकारी गराउँदै आगामी दिनमा सहयोग गर्न सबै दलसँग आग्रह गरे।

प्रधानमन्त्री ओलीले बोलिसकेपछि क्रमशः बैठकमा सहभागी प्रतिपक्षी दलको तर्फबाट प्रतिनिधित्व गरेका नेताहरूले आ-आफ्नो धारणा राखे। प्रतिपक्षी दलका नेताहरूले बोलिरहँदा सत्तापक्षधर नेताहरू सुनेरमात्रै बसेका थिए। सत्तापक्षबाट प्रधानमन्त्री ओलीबाहेक अरू कुनै नेताले केही बोलेनन्।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको असफलताका कारण जनतामा अहिलेको व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न भएको आरोप लगाएको छ। सरकार सर्वसत्तावादको निती अँगाल्दै अघि बढ्दै गएपछि अहिलेको व्यवस्थाविरुद्ध विभिन्न नाममा मानिसहरू सडकमा देखिन थालेको उसले बताएको छ।

बैठकमा सहभागी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकारको गलत शैलीका कारण उत्पन्न असन्तुष्टिको फलस्वरुप राजवादीहरू सडकमा देखिन थालेको बताए।

‘अहिलेको व्यवस्था र निर्वाचन पद्धतिको खराबी होइन,’ महतले भने, ‘तपाईंहरूको कार्यशैलीको खराबी हो। सरकार सच्चिने हो कि होइन? सरकार नसच्चिए विभिन्न प्रवृत्ति हाबी हुने निश्चित छ।’

सरकारविरुद्ध देखिएको असन्तुष्टिको परिणामस्वरुप विभिन्न पक्षले आ-आफ्नो हिसाबले उपयोग गर्न खोजेको महतले बताएका थिए।

‘अहिलेको असन्तुष्टि सरकारप्रतिको असन्तुष्टि हो, सरकार लोकतन्त्र र संविधानको मर्मविपरित हिँडिरहेको छ,’ उनले भने,‘सरकार सच्चिएर लोकतन्त्रको मर्मअनुसार अघिबढे कुनै प्रवृत्ति सफल हुनसक्दैन।’

आफूभन्दा फरक विचार राख्नेमाथि सरकारले दमनको निती अपनाएको भन्दै उनले राज्य सञ्चालनको स्रोत वितरणमा पनि विभेदकारी ढंगले अघि बढिरहेको बताए।

बैठकमा कांग्रेस नेताहरूले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहारको विरोध गर्दै तत्काल संसदको बैठक बोलाउन माग गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधनदेखि बन्द नाका खोल्न सरकारसँग माग गरेको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूले संसद बैठक बोलाउन, कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, संविधान संशोधन प्रक्रिया अघि बढाउन, सीमा खोल्न, प्रदेशलाई अधिकार सम्पन्न बनाउनलगायतका माग प्रधानमन्त्रीसमक्ष राखेको बताए।

यसैगरी प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर संघीय सरकार मुलुक विकासतर्फ अघि बढ्न आफूहरुले सुझाव दिएको उनले बताएका छन्।

अहिले मुलुकको विभिन्न ठाउँमा भइरहेको राजवादी आन्दोलनपनि सरकारको असफलताको प्रतिफल रहेको अध्यक्ष यादवले जिकिर गरेका छन्। यता राप्रपाले भने आफूहरूले राखेको धारणाको जवाफ प्रधानमन्त्रीको तर्फबाट नआएको गुुनासो गरेको छ।

राप्रपाको तर्फबाट बैठकमा सहभागी भएका नेता दीपक बोहराले संविधान संशोधन गरेर हिन्दु राज्यको स्थापना र राजालाई संसदमातहत राख्नुपर्ने सुझाव दिएका थिए।

राजासहितको लोकतन्त्र र हिन्दु राज्य कायम गर्नुपर्ने आफूहरुको प्रस्तावमा प्रधानमन्त्रीका साथै सहभागी कुनै दलको तर्फबाट कुनै जवाफ नआएको बोहराले बताए।

‘सडकमा भइरहेको आन्दोलनप्रति हाम्रो नैतिक समर्थन रहेको हामीले भनेका थियौं,’ उनले भने, ‘त्यसको समाधानका लागि अहिलेकै संविधानमा राजासहितको लोकतन्त्र र हिन्दु राज्य कायम गर्ने प्रस्ताव ग-यौँ। तर, उहाँहरू कसैले केही बोल्नु भएन्।’

न्य दलजस्तै कोभिड नियन्त्रण् र रोकथामका लागि सरकार असफल भइसकेको भन्दै राप्रपाले कोरोनाको निःशुल्क भ्याक्सिन उपलब्ध गराउन माग गरेको छ।

सबै दलले आ-आफ्ना धारणा राखिसकेपछि अन्त्यमा पुनः सम्बोधन गरेका प्रधानमन्त्री ओलीले बैठकमा आएका सुझाव र आलोचनाहरूलाई गम्भीरताका साथ मनन गरेर अघि बढ्ने बताएका थिए।


Leave a Reply

Your email address will not be published.