शिक्षक हत्यापछि मिक्लाजुुङमा त्रास,  चार जिल्लाका प्रहरीको संयुक्त ‘सर्च अप्रेसन’ 

शिक्षक हत्यापछि मिक्लाजुुङमा त्रास,  चार जिल्लाका प्रहरीको संयुक्त ‘सर्च अप्रेसन’ 

शिक्षकको हत्या भएपछि मोरङको मिक्लाजुङ गाउँपालिका-१  बर्खेमा त्रास बढेको छ। 

घरबाट अपहरणमा परेका सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएपछि प्रहरीले सर्च अप्रेसन चलाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार घटनास्थल चार जिल्लाको सीमाना क्षेत्र भएकाले धनकुटा, इलाम, पाँचथर र मोरङबाट प्रहरी संयुक्त ‘सर्च अप्रेसन’ चलिरहेको छ।

‘शिक्षकको हत्यापछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ,’ एसपी खड्काले भने ‘उक्त गाउँमा प्रवेश गर्ने व्यक्तिको बारेमा विवरणसमेत लिने गरिएको छ।’ घटनामा संलग्न चाँडै नै पक्राउ पर्ने उनको विश्वास छ।

खड्काले प्रहरीलाई गाउँलेले दिएको प्रारम्भिक सूचनामा गोलीको आवाज सुनिएको भनिए पनि प्रहरीको टोली पुग्दा शिक्षक श्रेष्ठको हात रुखमा बाँधेर घाँटी रेटिएको पाइएको बताए। 

गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार श्रेष्ठको हत्या घटनाबारे अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन।

श्रेष्ठकी श्रीमती धनकुमारी श्रेष्ठ बिहानै गोठमा काम गरिरहेका बेला पाँचजनाको समूहले श्रेष्ठको अपहरण गरेको थियो। उनका एक छोरा र एक छोरी मधुमल्लामा अध्ययनका लागि बस्ने गरेका छन्।

गाउँपालिकाबाट ३५ किलोमिटर टाढा भएको उक्त बर्खे जंगल क्षेत्र पाँचथरको मिक्लाजङु, धनकुटाको चौविसे र इलामको चुलाचुली क्षेत्र पर्छ। हत्या भएको बर्खे जँगल घरबाट १ किलोमिटर टाढा पश्चिम क्षेत्रको जंगल हो।


Leave a Reply

Your email address will not be published.