रोनाल्डोको दुई गोलमा बार्सिलोनामाथि युभेन्टसको रवाफिलो जित

रोनाल्डोको दुई गोलमा बार्सिलोनामाथि युभेन्टसको रवाफिलो जित

क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युइएफए च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्टसले लियोनल मेस्सीको बार्सिलोनामाथि सानदार जित निकालेको छ। सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छोडेपछि यी दुई खेलाडी बीच पहिलो पल्ट भेट भएको हो।

समूह जीको अन्तिम खेलमा बार्सिलोनाको घरेलु मैदानमै युभेन्टसले उसलाई पराजित गरेको हो। यससँगै यसअघि समूहमै भएको अघिल्लो खेलमा पराजयको बदलासमेत युभेन्टसले लिएको छ। यी दुई बीचको अघिल्लो खेलमा बार्सिलोना २–० ले विजयी भएको थियो।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा वेस्टन म्याककेनीले एक गोल गरे। रोनाल्डोले दुवै गोल पेनाल्टीको अवसर सदुपयोग गर्दै गरेका थिए।

रोनाल्डोलाई रोनाल्ड अरौजोले लडाएपछि १३ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रोनाल्डोले नै गोल गरे। 

त्यसपछि २० औं मिनेटमा युभेन्टसले अग्रता दोब्बर बनायो। उसका लागि म्याककेनीले गोल गरे। क्वाडराडोको पासमा उनले गोल गरे। 
त्यसपछि पहिलो हाफमा दुवै तर्फबाट कुनै गोल हुन सकेन। तर, दोस्रो हाफको ५२ औं मिनेट पुनः बार्सिलोनाका लागि दूर्भाग्य बन्न पुग्यो। क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले फेरि युभेन्टसलाई पेनाल्टीको अवसर दिए। उक्त अवसरलाई पुनः गोलमा परिणत गर्न रोनाल्डोले कुनै गल्ति गरेनन्। 

७५ औं मिनेटमा युभेन्टसले अर्को गोल गरेपनि भिएआरमा उक्त गोलले मान्यता पाएन। लिओनार्डो बोनुची त्यहाँ अफसाइड देखिए।

पराजित भएपनि बार्सिलोना यसअघि नै शीर्ष १६ मा प्रवेश गरिसकेको छ। दुवैको ६ खेलबाट समान १५ अंक रहेपनि हेड टु हेडमा युभेन्टस समूह विजेता बन्यो।


Leave a Reply

Your email address will not be published.