सिसी क्यामेराको मद्दतले रिक्सामा छुटेको सात लाख फिर्ता

सिसी क्यामेराको मद्दतले रिक्सामा छुटेको सात लाख फिर्ता

नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु ७ लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता दिएका छन्।

सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मंगलबार जिल्ला प्रहरी कार्यालयमा पुगेर फिर्ता गरेका बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

उनका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाएलगत्तै नाथले सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएका थिए।

पैसासहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको सिसी क्यामेराको मद्दतले नाथ चढेको भे१ह ५०१९ नंको अटोरिक्सा पहिचान गरी चालकलाई खबर गरेपछि रकम फिर्ता भएको हो।

प्रहरीले रिक्साचालक बर्मालाई सम्पर्क गरी रकमसहितको झोला मगाएको थियो। झोला बोकेर प्रहरी कार्यालय पुगेका बर्माले प्रहरीको रोहवरमा सम्बन्धित व्यक्तिलाई झोला फिर्ता गरेका हुन्।

प्रविधिको प्रयोगबाट नगदसहितको झोला हराएको केहीबेरमै फेला पार्न प्रहरी सफल भएको प्रहरी उपरीक्षक रानाले बताए।

यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका अभियुक्तलाई ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ। सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका बाँकेको नरैनापुर गाउँपालिका–२ का ३४ वर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक रानाले जानकारी दिए।

उनलाई जिल्ला अदालत बाँकेले २०६८ असार ३१ गते १० वर्ष कैद सजायको आदेश सुनाएको थियो।


Leave a Reply

Your email address will not be published.