‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको छु : प्रधानमन्त्री ओली

‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले 'म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न' भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको बताएका छन्। 

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफूले गरेको संकल्पमा दृढ रहेको बताएका हुन्। 

उनले भ्रष्टाचार आर्थिक अपराध मात्र नभई यसले सामाजिक मूल्य मान्यता उपर सिधा प्रहार गर्ने बताए। 'भ्रष्टाचार आर्थिक अपराध मात्र होइन, यसले सामाजिक मूल्य मान्यताहरु उपर सिधा प्रहार गर्दछ। प्रजातान्त्रिक संस्थाहरुलाई ध्वस्त पार्छ। राजनीतिक स्थायित्व हुन दिदैन, विकासको गतिलाई अवरोध गर्छ र अन्ततोगत्वा राजनीतिक प्रणालीमा नै प्रहार गर्छ।',  ‌ओलीले भनेका छन्। 

वर्तमान सरकारले भ्रष्टाचारलाई कडाइकासाथ नियन्त्रण नगरे 'समृद्ध नेपाल, सुखी नेपाली' को आकांक्षा हासिल हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपाल सरकार भ्रष्टाचार नियन्त्रणका लागि सबै किसिमका नीतिगत, कानूनी र संस्थागत प्रबन्ध गर्ने कुरामा प्रतिबद्ध र क्रियाशील रहिआएको बताए। 

भ्रष्टाचारले लोकतान्त्रिक संरचना र संस्थालाई क्षति पुर्‍याउनुका साथै निर्वाचित सरकारलाई अस्थिर बनाई आर्थिक विकासमा पनि सुस्तता ल्याउने प्रधानमन्त्रीको भनाई छ।

प्रधानमन्त्री ओलीले सबै कुरामा भ्रष्टाचार नै देख्ने नकारात्मक टिप्पणीले भने सार्वजनिक पदाधिकारी काम गर्नबाट हतोत्साही हुने उल्लेख गरे। उनले यस्ता कुरामा कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्ने उद्देश्य राख्न नहुने बताए। 'नेपाल सरकार भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण गर्न नागरिक समाज र सञ्चार जगतबाट गरिने खबरदारीलाई सदैव स्वागत गर्दछ । तर सबै कुरामा भ्रष्टाचार नै देख्ने नकारात्मक किसिमका टिप्पणीहरुले सार्वजनिक पदाधिकारीहरु काम गर्नबाट हतोत्साही हुन्छन् । यस्ता कुरामा कसैले पनि राजनीतिक स्वार्थसिद्ध गर्ने उद्देश्य राख्नुहुँदैन।', ओलीले भने।

संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ९ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। यस वर्ष ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने मूल सन्देश राखि दिवस मनाउन लागिएको हो।


Leave a Reply

Your email address will not be published.