ओली सरकार सच्चिन्छ कि सच्चिँदैन?

ओली सरकार सच्चिन्छ कि सच्चिँदैन?

केही दिनअघि नयाँ नक्सा जारी गर्नपूर्व साझा धारणा तय गर्न सरकारले सर्वदलीय बैठक बोलायो।

मुलुक संकटमा फसेका बेला, खास विषयमा साझा अजेन्डा तयार पार्नेलगायत अवस्थामा समान्यतयाः सरकारले सर्वदलीय बैठक बोलाउँछ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाए। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई डाकिएको थियो।

समसामयिक राष्ट्रिय राजनीतिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सोमबार सार्वजनिक गरेका थिए।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीदेखि प्रतिपक्षी दलका लगभग सबै शीर्ष नेता सहभागी पनि भए।

तर, बैठकको सुरूवातमै प्रधानमन्त्री ओलीले कोभिड रोकथाम र नियन्त्रणका लागि सरकारले अहिलेसम्म गरेको प्रयासबारे जानकारी गराउँदै थप सुझाव माग्दै राजनीतिक दलहरूलाई सहयोग गर्न आग्रह गरे।

साथै उनले मुलुकमा भएको राजनीतिक परिवर्तनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धी रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रतिगमनकारी शक्तिहरूले संविधान विरोधी र हिंसात्मक गतिविधि सह्य नहुने भन्दै सडकमा देखिएका व्यवस्था विरोधी गतिविधिबारे दलहरूको सुझाव मागे।

त्यसपछि बैठकमा उपस्थित नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार र सहमहामन्त्री प्रकाशशरण महतले सडकमा देखिएको असन्तुष्टि र आक्रोश व्यवस्थाविरुद्ध नभएर प्रधानमन्त्री ओली र उनी नेतृत्वको सरकारको विरोधमा रहेको बताए।

सहमहामन्त्री महतका अनुसार कांग्रेस नेताहरूले सरकारको अकर्मण्यता, कार्यशैली, दमनकारी नीति र भेदभावपूर्ण शैलीका कारण जनतामा निराशा छाएको बताए।

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै उनीहरूले ‘अहिलेको अवस्था आउनुमा सबैभन्दा ठूलो कारण तपाईं र तपाईंको सरकार हो। तपाईंको कार्यशैली, असफलता र दिशाहीनताको परिणामस्वरुप तपाईंकै विरुद्ध देखिएको यो असन्तुष्टि हो। सच्चिने कि नसच्चिने’ प्रश्न गरे।

कांग्रेस नेताहरूले कोभिड नियन्त्रणका नाउँमा भ्रष्टाचार गर्नु र भ्रष्टाचारीलाई जोगाउनुबाहेक सरकारले अरू केही गर्न नसकेको प्रधानमन्त्रीलाई बताए।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले पनि सरकारकै कमजोरी र असफलताका कारण अहिले व्यवस्थाविरुद्ध सडकमा राजावादीहरू देखिन थालेको बताए।

ठाकुर र यादवले संविधान संशोधन, प्रदेशलाई अधिकार सम्पन्न बनाउन, भन्डै आठ महिनादेखि बन्द रहेको नाका खोल्न, कोभिड रोकथामका प्रभावकारी उपाय अपनाउनतर्फ गम्भीर हुन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने आफूहरूले दिएको सुझावप्रति कुनै जवाफ नआएको गुनासो गरेको छ।

राप्रपातर्फबाट बैठकमा सहभागी दीपक बोहराले आफूहरूले संविधान संशोधन गरेर राजासहितको लोकतन्त्र र हिन्दु राज्य कायम गर्न दिएको सुझावप्रति सत्तापक्षका साथै प्रतिपक्षको तर्फबाट पनि कुनै चासो व्यक्त नगरिएको बताए।

साथै राजाको पक्षमा अहिले सडकमा भइरहेको आन्दोलनप्रति आफूहरूको नैतिक समर्थन रहेको सर्वदलीय बैठकमा उनले बताएका छन्।

अन्त्यमा प्रधानमन्त्री ओलीले बैठकमा आएका सुझाव र आलोचनाहरूलाई मनन गरेर सरकार अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।


Leave a Reply

Your email address will not be published.