पौडेलमाथिको धरपकडपछि जुरमुराउँदै कांग्रेस

पौडेलमाथिको धरपकडपछि जुरमुराउँदै कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। 

गएको १७ गते गृहजिल्ला पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडपछि कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको हो। पुल उद्घाटन गर्न तनहुँ पुगेका बेला पौडेललाई नेकपा कार्यकर्ताहरूले अवरोध गर्नुका साथै प्रहरीले नियन्त्रणमासमेत लिएको थियो।

प्रमुख प्रतिपक्षी दलको रुपमा खासै भूमिका निर्वाह गर्न नसकेको आलोचना झेल्दै आइरहेको कांग्रेस २९ गते हुने प्रदर्शनका लागि तयारीमा जुटेको छ। प्रदर्शनलाई सफल बनाउन कांग्रेसले भातृ संगठनहरूलाईसमेत निर्देशन दिइसकेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सबै जिल्लाहरूमा विरोध प्रदर्शनको तयारी तिव्रताका साथ अगाडि बढेको बताउँछन्।

‘सबै जिल्लामा छलफल र बैठकहरू भइरहेका छन्,’ शर्मा भन्छन्,‘सरकारविरुद्धको प्रदर्शनमा हामी जुटेका छौं।’

विरोध प्रदर्शनकालागि पार्टी तथा भातृ संगठनहरूको जिल्लादेखि वडा तहसम्मका समिति निरन्तर छलफलमा जुटेको उनले बताए।

विरोध प्रदर्शनमा देशभर लाखौं संख्यामा मानिस सडकमा ओर्लने उनको भनाइ छ। दसैंतिहारपछि सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी अनुसार नै मंसिर २९ गतेको कार्यक्रम तय गरिएको उनले बताए।

तत्काल एकदिन सांकेतिक विरोध कार्यक्रम सार्वजनिक गरिएको बताउँदै शर्माले सरकार नसच्चिए थप कार्यक्रम ल्याउन आफूहरू बाध्य हुने जिकिर गरे।

कम्युनिस्ट नेतृत्वको सरकार निरन्तर दमन, भ्रष्टाचार र कोभिड अव्यस्थापनको पर्यायवाची बनेको कांग्रेसले आरोप लगाएको छ। निरन्तर रुपमा सरकारलाई खबरदारी गरिरहेपनि सरकारको व्यवहारमा परिवर्तन आउन नसकेको कांग्रेसको ठम्याइँ छ।

सरकारले दमनकारी व्यवहार प्रस्तुत गर्नुका साथै सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड नियन्त्रण र उपचारमा उदासिनता तथा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारलगायतको बेथितिमा लिप्त भएको कांग्रेस आरोप छ।


Leave a Reply

Your email address will not be published.