नेकपा मजदूर नेता नै अर्काको जग्गा हडप्ने धन्दामा

नेकपा मजदूर नेता नै अर्काको जग्गा हडप्ने धन्दामा

झापा दमकस्थित बालुवाटारको ५०औं बिघा जग्गा हड्प्ने मुख्य योजनाकार रेवतराज पुरी (गगन) पक्राउ परे पनि उनी निकट गिरोह अझै सक्रिय छ।

बिर्तामोड नगरपालिका-३ का तुलसीराम, टंक, अर्जुनकुमार पाठक र रमाकान्त देवको घरजग्गा खाली गर्न उर्दी दिन गएकामध्येका दीपक फुँयाल गगनका निकटवर्ती भएको खुलेको हो।

दमकमा न्यू अन्नपूर्ण होटल सञ्चालन गर्ने दीपक, राजु ढकाल, विजय सिटौलासहितकाे समूह मंसिर पहिलो साता घनेन्द्रकुमारी थापा र सरस्वती ढकालको नाममा बनाइएको फर्जी धनीपुर्जा बोकेर पाठक र देव परिवारलाई धम्क्याउन बिर्तामोड पुगेको थियो।

दीपकले त्यसबेला पाठक परिवारलाई तत्काल जग्गा खाली गर्न भनेका थिए। उनी नेकपा मजदूर नेता भएकाले पनि गगनसँग राम्रो सम्बन्ध भएको नेकपाका एक नेताले आयोमेललाई बताए।  

अखिल नेपाल चिया मजदुर संघका केन्द्रीय कोषाध्यक्ष रहेका दीपकले जग्गाको कारोबार गर्ने गरेका छन्। 'उहाँले (दीपक) पार्टीको आड र मजदुर नेता भएको भरमा धेरै फाइदा लिनुभयो,' नेकपा प्रदेश १ स्तरीय एक नेताले भने, 'उहाँले देखाउने र कमाउने दुबै धन्दा गर्नुहुन्छ, बेइमानीको सीमा उहाँलाई थाहा नै हुन्न।'

दीपकले बारही होटल किनेर नाम परिवर्तन गरेको र त्यसकै आडमा जग्गाको फर्जी धन्दा चलाइरहेको ती नेताको दाबी छ।

नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहको नाममा झापाको दमकमा रहेको हिमालय गुडरिक चिया बगानको हाता नजिक ५० बिघा जग्गा छ। त्यहाँ वर्षाैं ३ सय जति सुकुम्बासी र चिया मजदुर बस्दै आएका छन्।

सो जग्गाको धनीपुर्जा दिलाइदिने नाममा दीपक लगायतका व्यक्तिले मजदूरबाट जनही १०-१० हजार रकम उठाएको बताइन्छ। गत स्थानीय चुनाव अगाडि सो रकम उठाइएको भए पनि हालसम्म मजदूरले जग्गा पाएका छैनन्।

ती नेताले बचाउ गर्न खोजे पनि जग्गा हडप्ने गिरोहसँगको साँठगाँठ र मिलेमतोमा दीपकले काम गर्ने गरेको बिर्तामोड घटनाले प्रमाणित गरेको छ। दीपकसँग बिर्तामोड गएका राजु ढकाल यातायात व्यवस्था कार्यालय बिर्तामोडका कर्मचारी र विजय सिटौला जग्गा कारोबारी भएको खुलेको छ।

राजुले आफ्नी आमा सरस्वतीको नाममा धनीपुर्जा र जग्गा भएको भन्दै बिर्तामोड ३ का पाठक र देव परिवार वर्षौंदेखि घर बनाएर बसेको जग्गा देखाउन  लागेका थिए।

विजय जग्गाको प्लटिङ गर्ने व्यक्ति भएकाले मिलेमतोमा पाठक परिवारको आठ कठ्ठा र  देवको अढाई कठ्ठा जग्गा उनीहरूले हडप्ने योजना बनाएको खुलेको छ।

झापामा जग्गा हडप्ने गिरोहले सरकारको स्वामित्वमा रहेको नजिकको, गुठी, मन्दिर र सार्वजनिक जग्गा हडप्ने गरेको छ।

नदी तथा खोला किनारको जग्गा र ती खोला नदीको प्रवाह गति बदलिएपछि खाली बनेको जग्गाको मालपोत र नापीका कर्मचारीसँगको मिलेमतोमा भुनाफियाले नक्सा र धनीपुर्जा बनाउने गरेका छन्।

सम्बन्धित समाचार : झापामा सल्बलाउँदै भूमाफिया: जग्गा एउटाको, 'फर्जी धनीपुर्जा' अर्कैकाे नाममा


Leave a Reply

Your email address will not be published.