लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा भर्चुअल आर्ट प्रदर्शनी

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा भर्चुअल आर्ट प्रदर्शनी

प्लान इन्टरनेशनल नेपालले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा ‘गल्र्स गेट इक्वेल’ अन्तर्गत किशोरकिशोरीले तयार पारेको आर्टको भर्चुअल प्रदर्शनी शुभारम्भ गरेको छ।

प्रदर्शनीमा किशोरकिशोरीले बनाएकामध्ये किशोरी र बालबालिकाको समस्या, उनीहरूका मुद्दा, धारणा, अनुभव र कथालाई चित्रण गरिएका १ सय ५० वटा आर्ट राखिएका छन्। 

यस प्रदर्शनी अघि प्लान इन्टरनेशनलले गत अक्टोबरमा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सुनसरी, बाँके, बर्दिया, मकवानपुर, जुम्ला, कालिकोट र सिन्धुलीका २ सय ५० किशोरकिशोरीलाई कला सृजनासम्बन्धी सीप सिकाउन भर्चुअल माध्यमबाट आर्ट वर्कसप आयोजना गरेको थियो।

त्यसका सहभागीले आफ्नो समस्या र मुद्दाबारे सरोकारवालाको ध्यानाकर्षण गराउन विभिन्न खालका कला सृजना गरेका थिए। 

प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले भनिन्, ‘हामीले यो वर्षको आर्ट इज पावर’ कार्यक्रमबाट किशोरी र किशोरका थुप्रै उत्कृष्ट आर्ट संकलन गरेका छौं,  उनीहरूले तयार पारेका सृजना धेरै राम्रा छन्, जसमा किशोरीले कुनै पनि प्रकारका हिंसाबाट मुक्त हुन पाउनुपर्ने चाहना राखेका छन्, हामीले उनीहरुको यो सृजनालाई सम्मान गर्नुपर्छ।’

आर्ट इज पावर कार्यक्रमको यो दोस्रो संस्करण हो। कोभिड-१९ को महामारीका कारण यो पटक भर्चुअल माध्यमबाट गरिएको कार्यशाला र आर्ट प्रदर्शनीका लागि कालो १०१ नामक संस्थाले सहजीकरण गरेको थियो। किशोरकिशोरीले तयार पारेको कला सृजनामा आधारित भई व्यवसायिक कलाकारले ११ वटा क्यानभास तयार पारेका छन्।

नेपालमा किशोरीले भोगिरहेका समस्याबारे सरकारी निकाय, स्थानीय जनप्रतिनिधि लगायतको ध्यानाकर्षण गराउन उनीहरूका लागि समेत ती क्यानभासलाई प्रदर्शनी गरिनेछ।
 


Leave a Reply

Your email address will not be published.