मानव अधिकार आयोगले थाल्यो शिक्षक हत्या घटनाको अनुगमन

मानव अधिकार आयोगले थाल्यो शिक्षक हत्या घटनाको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका-१  भएको शिक्षक हत्या घटनाको अनुगमन थालेको छ। सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार हत्या भएको थियो।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार आयोग प्रदेश १ कार्यालय विराटनगरबाट बुधबार बिहान टोली गएको हो। ‘आयोगको टोलीले पीडित परिवार र गाउँपालिका अध्यक्षसँग भेट गरिसकेको छ,’ प्रवक्ता पोखरेलले भने, ‘घटनास्थल दुर्गम क्षेत्रमा भएकाले त्यहाँ पुग्न सकिएको छैन।’

आयोगको टोलीले अध्ययन गरेर निस्कर्ष निकाल्ने उनले बताए।

आयोगले एक विज्ञप्ति जारी गरेर घटनाप्रति खेद प्रकट गरेको छ।  ‘आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या-हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोग नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गर्दछ,’ आयोगले भनेको छ।

साथै, कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोगले सरकारसँग माग पनि गरेको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मेची-कोसी ब्यूरोले प्रेस वक्तव्य जारी गरी घटनाको जिम्मेवारी लिइसकेको छ। 


Leave a Reply

Your email address will not be published.