सोनिया गान्धीको नजिक आउन जब राजीव गान्धीले दिए ‘घुस’

सोनिया गान्धीको नजिक आउन जब राजीव गान्धीले दिए ‘घुस’

आज डिसेम्बर ९, भारतीय कांग्रेस अध्यक्ष एवं पूर्वप्रधानमन्त्री राजीव गान्धीकी श्रीमती सोनिया गान्धीको जन्मदिन।

बिहानैदेखि सामाजिक सञ्जाल ट्विटरमा सोनियाको चर्चा भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनलाई जन्मदिनको बधाइ दिँदै स्वस्थ एवं दिर्घायुको कामना गरेका छन्।

सन् १९८१ मे महिनामा राजीव गान्धी अमेठीबाट लोकसभाका लागि उपचुनाव लड्ने तयारी गरिरहेका थिए। उनी आफ्नो चुनावी क्षेत्रको भ्रमण गरिरहेका थिए।

केही समयपछि राजीवलाई लखनऊबाट नयाँदिल्लीका लागि जहाज पकड्नुपर्ने थियो। तर, त्यतिबेलै खबर आयो- ‘२० किलोमिटर पर तिलोईमा ३०-४० वटा फुसको घरमा आगलागी भयो।’

राजीव लखनऊ नगएर सोझै तिलाईतर्फ प्रस्थान गरिहाले। त्यहाँ उनले आगजनीका कारण घर गुमाएकालाई सान्त्वना दिइरहेका थिए। यसैबीच पछाडि उभिएका सञ्जय सिँहले उनको कान नजिक आएर भने- ‘सायद तपाईंको जहाज छुट्छ!’

तर, राजीवले भने आगलागी पीडितहरूसँग कुराकानी जारी राखे। सबैसँग कुराकानी गरिसकेपछि उनले सञ्जयलाई हास्दै सोधे, ‘यहाँबाट लखनऊ पुग्न कति समय लाग्ला?’

सञ्जयले जवाफ दिए, ‘न्यूनतम दुई घन्टा। तर, तपाईंले स्टेरिङ सम्हाले हामी १ घन्टा ४० मिनेटमा त्यहाँ पुग्छौं।’ राजीव गाडीमा बसे अनि भने, ‘त्यहाँ खबर पु-याइदिनुस् हामी १ घन्टा १५ मिनेटपछि अमैसी विमानस्थलमा हुनेछौं।’

तीव्र गतिमा गुडेको राजीवको कार तोकिएको समयभन्दा अघि विमानस्थल पुगिसकेको थियो।
तर, तीव्र गतिमा कार कुदाउन शौखिन राजीव बढी अनुशासित भएर जहाज उडाउँथे। सुरुमा उनी ‘डकोटा’ जहाज उडाउँथे र पछि ‘बोइङ’ उडाउन थाले।

ककपिटमा बसेका बेला केवल ‘राजीव’ भनेर यात्रुलाई स्वागत गर्ने उनको बानी थियो। उडान समयमा पूरा नाम नबताउन उनले कोपाइलटहरूलाई पनि निर्देशन दिएका थिए।

त्यतिबेला पाइलटका रूपमा राजीवले ५ हजार रुपैयाँ तलब पाउँथे जसलाई राम्रो पारिश्रमिक मानिन्थ्यो।

सोनिया नजिक बस्न घुस
राजीव इन्जिनियरिङको ‘ट्राइपोस’ अध्ययन गर्न क्याम्ब्रिज गएका बेला १९६५ मा उनको भेट इटालीमा जन्मिएकी सोनियासँग भयो। र, पहिलो भेटमै दुईबीच माया बसेको थियो।

दुवैजना एउटा ग्रिक रेस्टुरेन्टमा जाने गर्थे।

राजीवबारे ‘द लोटस इयर्स–पोलिटिकल लाइफ इन इन्डिया इन द टाइम अफ राजीव गान्धी’ किताब लेखेका अश्विनी भटनागर भन्छन्, ‘राजीवले रेस्टुरेन्टका मालिक चाल्र्स एन्टनीलाई फकाएर सोनिया छेउको ठाउँ मिलाउन भनेका थिए। एक राम्रो व्यापारी झैं चाल्र्सले यसो गर्न राजीवसँग दुईगुणा पैसा लिएका थिए।’

पछि उनले राजीव गान्धीमाथि आधारित सिमी गरेवालले बनाएका फिल्ममा भनेका छन्, ‘मैले यसअघि कुनै मानिसलाई यति धेरै माया गरेको देखेको थिइनँ।

राजीव क्याम्ब्रिजमा पढिरहेका बेला आफ्नो खर्च जुटाउन आइसक्रिम बेच्ने गर्दथे। र, सोनियासँग भेट गर्न साइकलमा जान्थे। हुन त उनीसँग एउटा पुरानो फक्सवागन कार पनि थियो। जसको पेट्रोल खर्च उनका साथीहरूले दिन्थे।’

न्यापकिनमा सोनियाका लागि लेखे कविता
राजीव र सोनियाबीचको क्याम्बिज भेटघाटबारे चर्चित पत्रकार रशिद किदवईले सोनियामाथि लेखेको जीवनीमा चर्चा गरेका छन्।

रशिद भन्छन्, ‘वर्सिटी रेस्टुरेन्टमा हरेक दिन क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थीहरूको भीडभाड हुन्थ्यो। उनीहरू बियर खान्थे। तीमध्ये राजीव एक्ला थिए जसले बियरलाई कहिल्यै हात लगाएनन्। सोनियाको नजर अग्ला, कालो आँखा र मोहक मुस्कानवाला त्यो युवकमाथि प-यो।’

‘दुवैतर्फ आकर्षण बराबरी थियो। राजीवले पहिलोपटक न्यापकिनमा उनको सौन्दर्यबारे एउटा कविता लेखेर वेटरको माध्यमबाट सोनियासम्म पु-याउन लगाए। सोनिया केही असहज भइन्। तर, राजीवका एक जर्मन साथी, जो सोनियासँग परिचित थिए, तिनले महत्वपूर्ण संदेशवाहकको भूमिका निभाएका थिए,’ रशिद भन्छन्।

रशिदका अनुसार महत्वपूर्ण कुरा के हो भने राजीवले अन्त्यसम्म आफू भारतीय प्रधानमन्त्रीको छोरा हुँ भनेर सोनियालाई बताएका थिएनन्। लामो समयपछि एक अखबारमा इन्दिरा गान्धीको तस्बिर छापिएको थियो। त्यतिबेला राजीवले सोनियालाई भनेका थिए त्यो तस्बिर उनको आमाको हो भनेर।

‘क्याम्ब्रिजमा पढ्ने एक भारतीय छात्रले सोनियालाई बताएका थिए इन्दिरा गान्धी भारतकी प्रधानमन्त्री हुुन्,’ रशिद भन्छन, ‘त्यसपछि मात्र सोनियाले पहिलोपटक थाहा पाइन् कि उनी कति महत्वपूर्ण हस्तीसँग प्रेममा परेकी छिन्।’ बिबिसीबाट
 


Leave a Reply

Your email address will not be published.