मनकामना केबुलकार आइतबारदेखि ५० प्रतिशत क्षमतामा चल्ने

मनकामना केबुलकार आइतबारदेखि ५० प्रतिशत क्षमतामा चल्ने

कोरोना भाइरसका कारण बन्द रहेको मनकामना केबुलकार मंसिर २८ अर्थात आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।

मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तह सहितको सरोकारवालाको बैठकले मनकामना मन्दिर र केबुलकार सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार केबुलकार सेवा सञ्चालनमा आउन जानकारी दिइएको छ। जस अन्तर्गत केबुलकारको दुवै स्टेशनमा यात्रुको ज्वरो मापन गरिने छ, उच्च ज्वरो भएका र रुघाखोकी लक्षण देखिएका यात्रुलाई प्रवेश दिइने छैन।

केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने छ र हात सेनिटाइज गर्नुपर्नेछ। यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दूरी कायम गर्न लगाइएको चिह्न अंकित घेरामा लामबद्ध भई बस्नु पर्नेछ।

केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनु पर्नेछ। स्टेशन हाता भित्र भिडभाड नगर्ने तथा पिकनिक र बनभोजलाई अस्थाई रुपमा बन्द गरिएको छ। 

केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रतिघण्टा ३  सय ३० जना) यात्रुलाई सेवा दिइने जानकारी दिइएको छ। केबुलकार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालनमा आउने छ । 


Leave a Reply

Your email address will not be published.