नेकपाका दुई अध्यक्षको पत्र- सरकार असफल भइसकेको प्रमाण : निधि 

नेकपाका दुई अध्यक्षको पत्र- सरकार असफल भइसकेको प्रमाण : निधि 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार असफल भइसकेको पुष्टि गर्न सत्तासीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वयको पत्र नै पर्याप्त रहेको बताएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकबाट फर्किएपछि आयोमेलसँग कुरा गर्दै निधिले तीन वर्षमा सरकारले कुनै काम गर्न नसकेको दुईजना अध्यक्षको पत्रले प्रमाणित गरिसकेको बताएका हुन्। 

‘एउटा भनाइ छ– तस्बिर आफैं बोल्छ। तीन वर्षको अवधिमा देश र जनताका लागि के गर्नु भयो तपाईं दुईजना अध्यक्षको पत्रले नै बोलिसकेको छ। पुष्टि गर्न अरू केही चाहिन्छ भनेर मलाई लागेको छैन’ उनले प्रधानमन्त्रीसँगको बैठकमा भनेका थिए।  

निधिले अहिलेसम्मको अवधिमा सरकारले संघीयता संवद्र्धन गर्न कुनै काम गर्न नसकेको आरोप पनि लगाए। 

‘केपी ओलीको नेतृत्वमा रहेको सरकारले संघीयता मजबुत बनाउन कुनै काम गर्न सकेको छैन,’ निधिले भने, ‘प्रदेश र स्थानीय तहका अधिकार बाँडफाँडसम्बन्धी व्यवस्था संविधानले गरेको छ। तर, त्यसका लागि सरकारले अझै अग्रसरता लिनसकेको छैन।’ 

संविधान र संघीय प्रणालीमाथि यदि कुनै अवरोध आएको हो भने संविधान र संघीयताप्रति सरकारको अरुची प्रमुख कारण रहेको उनको भनाइ थियो। 

‘संविधान र संघीयताप्रति सरकारको रुची देखिएन, अहिलेको व्यवस्थामाथि प्रश्न उठ्नु सरकारकै व्यवहार प्रमुख कारण बनेको छ,’ उनले भने,‘ओलीजीको नेतृत्वमा सरकार चलाउने राजनैतिक र नैतिक आधार गुमिसकेको कांग्रेसको निष्कर्ष छ।’ 

अधिनायकवादतर्फ उन्मुख भएर सरकारले राज्यको चारवटै अङ्गलाई क्षतविक्षत गर्ने काम गरेको निधिले आरोप लगाए। 

सरकारको दमनकारी, भ्रष्टाचारी र कोभिडको क्षेत्रमा भएको असफलताविरुद्ध आफूहरूले मंसिर २९ गते देशव्यापी विरोध कार्यक्रमको घोषणा गरेको उनले बताएका थिए। 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानप्रति नेपाली कांग्रेस प्रतिवद्ध रहेको बताउँदै उनले यसविरुद्ध आउने जुनसुकै खतराका लागि सुदृढ र दृढतापूर्वक संघर्षको अगुवाइ गर्न तयार रहेको उल्लेख गरेका छन्। कसैले र कुनै पार्टीले राजतन्त्र आउँछ, गणतन्त्र र संघीयता फेरिन्छ सोच्नु दिवास्वप्नमात्र रहेको उनले बताए। 

‘सरकार र सत्ताधारी दलले के गर्छ त्यो तपाईंले भन्ने कुरा हो,’ बैठकमा प्रधानमन्त्रीलाई निधिले भनेका थिए, ‘तर, नेपाली कांग्रेस संघीयता, लोकतन्त्र र गणतन्त्रका लागि पूर्ववत अवस्थामा छ।’ 

वर्तमान संविधानलाई नै स्वीकार गर्दै आवश्यक्ताअनुसार परिमार्जन गर्न निधिले सरकारलाई सुझाव दिएका छन्। 

‘हिमाल, पहाड, तराई–मधेश, जनजाति सबैका लागि संविधान संशोधन गर्नुपर्दछ संविधान जारी भए बखतदेखि हामी भन्दै आइरहेका छौँ,’ उनले भने, ‘संघीयता, संसदीय लोकतन्त्र र गणतन्त्रसहितको प्रणाली र त्यही संविधानलाई नै टेक्दै थप संशोधनका लागि हामी तयार छौँ।’


Leave a Reply

Your email address will not be published.