नेकपा विवाद : ‘लचकता’ अपनाउने दुवै पक्षको रणनीति

नेकपा विवाद : ‘लचकता’ अपनाउने दुवै पक्षको रणनीति

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद यतिबेला उत्कर्षमा पुगेको छ। एक अर्कामाथि आरोप लगाउँदै दुबै अध्यक्षले सचिवालय बैठकमा प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको आन्तरिक संघर्ष थप जटिल बन्दै गएको हो।

दुई अध्यक्षबीच सुरु भएको विवाद सचिवालय हुँदै अहिले स्थायी कमिटीसम्म पुगिसकेको छ। 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रस्तावमाथि सचिवालयले कुनै निष्कर्ष निकाल्न नसकेपछि छलफलका लागि स्थायी कमिटीमा लगिएको हो।

आइतबार पार्टी मुख्यालय धुम्बराहीमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल हुने विश्वास लिइएको थियो। तर, त्यो बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भइदिए।

प्रधानमन्त्री ओली कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावलाई स्वीकार गर्न तयार देखिँदैनन्। र, सुरुदेखि उनी प्रचण्डको प्रस्तावलाई ‘अभियोग पत्र’ मात्रै भन्दै आइरहेका छन्।

प्रचण्डले पेश गरेको ‘अभियोग पत्र’ फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने ओलीको अडान कायमै छ। यहाँसम्म कि छैटौं स्थायी कमिटीमा ओलीले पठाएका पत्रमा पनि ‘कात्तिक २८ गते अध्यक्ष कमरेड प्रचण्डले ‘प्रस्ताव’ का नाममा मेराविरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको’ भनिएको छ।

उक्त अभियोग पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने र पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने त्यो लिखत निशर्त फिर्ता हुनुपर्ने अडान पत्रमा दोहर्‍याएका छन्।

ओलीबिनै बसेको स्थायी कमिटी बैठकले दुवै अध्यक्षका प्रस्तावमाथि सदस्यलाई अध्ययन गर्नुपर्ने भन्दै अर्को बैठक मंसिर २८ गते बोलाउने निर्णय गर्‍यो।

प्रचण्डले पेश गरेको प्रस्तावमाथि छलफल नै गर्न नसकिने ओलीले अडान लिइरहेको बेला आगामी बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि चर्चा हुन-नहुने विषयमा संशय कायमै छ।

यद्यपि नेकपाका नेताहरू भने छलफल गर्नकै लागि प्रस्ताव पेश भएको दाबी गरिरहेका छन्। नेकपा स्थायी कमिटी सदस्य मातृका यादव दुवै प्रस्तावमाथि छलफल गरेर पार्टीले निष्कर्ष निकाल्नेमा विश्वस्त देखिन्छन्। 

‘दुवै अध्यक्ष कमरेडले आ-आफ्नो प्रस्ताव ल्याउनु भएको छ, ती प्रस्तावहरू स्थायी कमिटी सदस्यको हातमा पुगिसकेको छ,’ यादव भन्छन्, ‘प्रस्ताव आइसकेपछि छलफल हुने निश्चित छ।’

अध्यक्षद्वयका प्रतिवेदन अध्ययन गर्ने भनिए पनि अर्को स्थायी कमिटी बस्न दिइएको सातदिने समय सहमतिका लागि गृहकार्य गर्न रहेको नेकपा नेताहरूले अथ्र्याएका छन्।

नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल सहमति जुटाउने आशयले बैठक सुरु भइसके पनि अर्को बैठकका लागि सात दिनको समय दिइएको बताउँछन्। यद्यपि उनले दुवै अध्यक्षले पेश गरेको प्रस्तावमाथि छलफल हुने बताए।

‘छलफल गर्न नै प्रतिवेदन पेश भएको हो, अब बस्ने स्थायी कमिटी बैठकमा छलफल हुन्छ,’ पौडेलले आयोमेलसित भने, ‘छलफलपछि बैठकले थप निर्णय गर्नेछ।’

आन्तरिक विवाद चर्किरहेका बेला पार्टी फुट्न हुन्न भन्ने निष्कर्षमा नेतृत्व पुगेको छ। र, यसका लागि प्रचण्ड-नेपाल समूह लचकताका साथ अघि बढ्नुपर्ने सोचमा पुगेका छन्।

पार्टीलाई फुटबाट जोगाउन लचकता अपनाउनुको विकल्प नरहेको नेता पौडेल बताउँछन्। ‘पार्टी फुट्न हुन्न भनेर सबैतिरबाट कुरा आइरहेका छन्, पार्टीलाई फुटबाट जोगाउन सबैले आ-आफ्नो लचकता अपनाउन जरुरी छ,’ पौडेलले भने, ‘दुवैतिर लचिलो भएर पार्टी एकता जोगाउने कुरा भएको छ।’

ओली-प्रचण्डबीच भेटघाट
नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटघाट भएको छ। दुईजनाबीच यसअघि मंसिर २१ गते भेटघाट भएको थियो।

ओलीलाई भेट्न बिहान ११ बजे प्रचण्ड बालुवाटार पुगेका थिए। दुई जनाबीच करिब डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ।

सचिवालय बैठकमा प्रचण्डले विभिन्न आक्षेप लगाउँदै प्रस्ताव पेश गरेपछि दुई अध्यक्षबीच सम्बन्ध बिग्रिएको बेला पछिल्लो भेट भएको हो।


Leave a Reply

Your email address will not be published.