१०७ वर्षपछि चुचुरोमा भेटिएको ‘साझाविन्दु’ : ८६ सेन्टिमिटर

१०७ वर्षपछि चुचुरोमा भेटिएको ‘साझाविन्दु’ : ८६ सेन्टिमिटर

सन् १९६० मा बेइजिङ भ्रमण गएका तत्कालीन जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले ‘सगरमाथा’ नेपालकै हो भन्ने अड्डी कसेर आए।

चीनले सगरमाथामात्रै होइन, त्योसहित नेपालको करिब ५ माइलजति जमिनलाई पनि आफ्नोमा पार्ने गरी एउटा नक्सा बनाएको थियो।

बेइजिङमै ती दाबी खारेज गर्दै बिपीले सम्पूर्णरूपमा सगरमाथा नेपालकै भएको अडान कायमै राखे। उत्तरी क्षेत्रका कयाैैं ठाउँमा नेपाल-चीन सीमा विवाद भइरहेका बेला चीनसँग सगरमाथाबारे अर्को विवाद थपियो।

बिपीले आफ्ना आत्मकथाहरूमा उल्लेख गरेअनुसार पछि यसबारे उनले चिनियाँ नेता माओ त्सेतुङसँग पनि कुराकानी गरेका थिए।

माओले पनि सिमानामा पर्ने यो चुचुरोलाई ‘साझा’ मान्ने प्रस्ताव गरे।

बिपीले उनको यो प्रस्तावलाई पनि अस्वीकार गरे र सगरमाथामाथि नेपालको एकल स्वामित्व हुने भनिरहे।

उनको सरकारलाई अपदस्त गरी सत्ता हातमा लिएपछि तत्कालीन राजा महेन्द्र पनि १९६१ मा चीन गए।

दुवै देशका राष्ट्रध्यक्षले बेइजिङमा एउटा समझदारीपत्रमा हस्ताक्षर गरे। त्यसमा नेपाल चीन सिमानाको विन्दु ‘सगरमाथा’ लाई राखिएको छ।

तिब्बती भाषामा ‘झुमुलुङमा’ भनिने सगरमाथा यसरी नेपाल-चीनको ‘सीमास्तम्भ’ का रूपमा स्थापित भयो।

र, गत वर्ष नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल-चीन सिमानामा रहेको सगरमाथालाई ‘नेपाल र चीनबीचको मित्रताको प्रतीक’ का रूपमा चित्रण गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी र  चिनियाँ राष्ट्रपति सि चिङफिङ। राष्ट्रपति भवन शीतलनिवासमा,  २०७६ असोज २५।

चीन र नेपालको ‘साझा’!
हिजो मंगलबार सगरमाथाको परिभाषा फेरियो। सगरमाथाको उचाइ मापन इतिहासका १ सय ७ वर्षमा यो नेपालको पहिलो प्रयास पनि थियो।

८ हजार ८ सय ४८ मिटरको पर्याय बनेको सगरमाथासँगै अब ८६ सेन्टिमिटर उचाइ थपिएको छ।
अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएको छ।

यो उचाइलाई चीनले पनि सकारेको छ। यो उचाइ नेपाल र चीनका परराष्ट्रमन्त्रीले संयुक्तरूपमा घोषणा गरेका हुन्।

सगरमाथाको उचाइ नेपालले ‘आफ्नै स्रोत’ र ‘साधन’ प्रयोग गरेर नापेको हो।

त्यसका लागि नापी विभागका तत्कालीन प्रमुख अधिकृत खिमलाल गौतम एउटा सर्भे टोली लिएर सगरमाथा चुचुरोमै पुगेका थिए।

नेपाल आफैंले सगरमाथाको उचाइ नापेर सार्वजनिक गरेको यो पहिलोपटक हो।

सन् १९५४ मा भारतले सगरमाथाको मापन गरेको थियो र त्यो नापमा देखिएको ८ हजार ८ सय ४८ मिटर नै सगरमाथामा स्थापित भयो। त्यसपछि १९९९ मा अमेरिकाले पनि सगरमाथाको उचाइ मापन गरेको थियो भने चीनले पनि २००५ मा नापेको थियो।

अमेरिकाले नाप्दा सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर र चीनको मापनमा यसको उचाइ ८ हजार ८ सय ४४ मिटर देखिएको थियो।

चीनले सुरुदेखि नै आफ्नोतर्फबाट सगरमाथाको उचाइ नापजोखका क्रियाकलाप गर्दै आएको थियो।

२०७२ को भूकम्पपछि त्यसको उचाइमा पनि प्रभाव पर्नसक्ने अनुमान गरिएपछि नेपालले पनि दुई वर्षअघि नापी अधिकृत गौतमको नेतृत्वको टोली चुचुरोमा पु-याएको थियो।

सुरुमा चीनले चट्टानलाई आधार मानिएको उचाइ प्रस्तुत गर्दै आयो तर नेपालले नमानेपछि हिउँको चुचुरोको उचाइलाई मान्न चीन तयार भयो।

र, अघिल्लोपटक चिनियाँ राष्ट्रपति चीनफिङको नेपाल भ्रमण क्रममा त्यसको उचाइ सँगसँगै सार्वजनिक गर्ने सहमति भएको थियो।

मंगलबार उचाइ घोषणा कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, ‘हामी सबैलाई थाहा छ, सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ। यसको उचाइ संयुक्तरूपमा घोषणा गरिनु आवश्यक पनि थियो, विश्वसनियताका लागि।’

उनका अनुसार यो ‘साझा’ प्रयासले सगरमाथाको नापजोख ‘वैज्ञानिक’ र ‘विश्वसनीय’ हुने पनि बताए।

‘र, खुसीको कुरा नेपालको नापी विभागले सुरु गरेर डेटा प्रोसेसिङ गरी जुन विन्दुमा ल्याएको थियो, चिनियाँ मित्रहरूले गरेको सर्भे र उहाँहरूको तथ्यांक प्रशोधनमा पनि सोही तथ्य सहीरूपमा देखापरेका छन्, यसले अब तथ्य र एकरूपता पनि कायम गरेको छ।’

विश्वकै अग्लो चुचुरो सगरमाथामाथि ‘राजनीति’ त यसको सुरुवातदेखि नै हुँदै आएको छ। तर, यो उचाइका विषयमा भने राजनीति घुसाउन नहुने दुवैतर्फका अधिकारीहरू सहमत भएका छन्।

चिनियाँ नाप नक्सा एकेडेमीका एकजना अनुसन्धानकर्ता जियाङ ताओका अनुसार दुवै देशका वैज्ञानिकले गत नोभेम्बरमै सर्भेका डाटाहरू प्रमाणीकरण गर्दै एकरूपता दिएका थिए।

‘विज्ञानलाई यथार्थ चाहिन्छ। त्यसैले यस्ता डाटामा कुनै समस्या भयो भने त्यो एतिहासिक गल्ती हुन जानेछ। त्यसैले जति पनि डाटा प्रकाशित छन् ती राजनीतिक होइनन्,’ उनले भनेका छन्।

सगरमाथाको उचाइ घट्ने र बढ्ने कसरी हुन्छ?
यो एउटा भौगोलिक प्रक्रिया हो।

‘अहिले पनि हिमालयहरू बन्ने क्रम त जारी नै छ,’ त्रिभुवन विश्वविद्यालका भूगर्भ विभागका प्रा. डा. सुबोध ढकाल भन्छन्,  ‘यो नियमित प्रक्रिया हो। त्यसैगरी त्यसको उचाइ पनि यसैसँग जोडिएको हुन्छ।’

उनका अनुसार दक्षिणतिरको ‘इन्डियन प्लेट’ र उत्तरतिरको ‘तिब्बतियन’ प्लेट सर्दै सर्दै जाँदा एउटा विन्दुमा ठोक्किन पुग्छन्। अनि, त्यहाँ जमिनको केही भाग धस्सिन्छ। र, सँगै अर्को भाग फेरि माथि उठ्न थाल्छ।

जस्तो, २०७२ को भूकम्पका बेला काठमाडौंदेखि उत्तरतिरका कयाैं पहाडी भूभाग एक मिटरमाथि उठेको अध्ययन आएका थिए भने हिमालय देशान्तरतिर एक मिटर धस्सिएको थियो।

र, सबैभन्दा चुचुराहरूमा क्षयीकरण पनि हुन्छ।

‘जमिन धस्सिने वा उचालिने क्रमसँगै त्यसकै अनुपातमा क्षयीकरण हुने हो,’ ढकाल भन्छन्, ‘तर, अहिले सगरमाथाको नयाँ उचाइ बढेको जुन ८६ सेन्टिमिटर छ, यसले त्यो अनुपात सधैं बराबर नहुन पनि सक्ने रहेछ भन्ने कुरा देखिन्छ।’

नेपालले सगरमाथाको उचाइ नाप्दा हिन्द महासागरलाई आधार मानेको छ भने चीनले ‘यल्लो’ सागरलाई आधार बनाएको छ।

‘यसमा समुद्र सतहले पनि फरक चाहिँ पक्कै पार्छ। जलवायु परिवर्तनका कारण पहाडका गेग्रान बढेर समुद्र सतह बढेको पनि अध्ययनहरूले देखाएका छन्,’ उनी  भन्छन्, ‘तर, हामीले नापका लागि प्रयोग गर्ने यन्त्र वा साधनहरूका आधार पहिला नै फिक्स गरिएका हुन्छन्। त्यही ‘क्यालिब्रेसन’ का आधारमा हामीले ती साधनको ‘रिसेट’ गरेका छैनौं भने त्यसमा समुद्र सतहले खासै फरक पार्दैन।’

सगरमाथा अझै अग्लो भएको भन्ने लागेको थियो थोरैमात्रै बढेछ- शेर्पा


केही वर्षअघि सगरमाथाको चुचुरोमा ठडिएको क्यामेरा अड्याउने एउटा ‘ट्राइपड’ त्यहीँ छुट्यो। त्यो करिब डेढ मिटर अग्लो थियो।

तर, त्यसको केही वर्षपछि जाँदा त्यो त्यस्तै ठडिएकै अवस्थामा हिँउले पुरिएको थियो।

‘अनि, हामीलाई लाग्यो हिँउ बढेछ, चुचुरोको उचाइ पनि पक्कै बढेकै छ,’ विश्व पर्वतारोण महासंघका मानार्थ सदस्य आङछिरिङ शेर्पाले भने, ‘हामीलाई पनि त्यस्तै लागेको थियो। डेढदेखि दुई मिटरसम्म उचाइ बढेको होला भन्ने लागेको थियो, अलि कम भएछ।’

शेर्पालाई लाग्छ सगरमाथाको उचाइ अझै बढ्नुपर्ने हो। तर, थोरै भयो।

उनका अनुसार ८ हजार मिटरभन्दा अग्ला हिमालको चुचुरोमा हिउँ पग्लिँदैन। बरु त्यहीँ बरफ बनेर बसिरहन्छ।

‘हिउँ पग्लिने भनेको अलि कम उचाइ भएका हिमालहरूको त्यो पनि अझ चट्टानमा अडिएको हिउँ हो,’ उनी भन्छन्, ‘तर, हाम्रो सगरमाथाको चुचुरोको हिउँ भने पग्लिँदैन। किनकि, त्यहाँ घाम लागेकै बेला पनि माइनस २० डिग्री सेल्सियस तापक्रम हुन्छ। अरूबेला त माइनस ५० सम्मै पुग्नसक्छ।

‘त्यसैले हिमालको उचाइ भनेकै हिउँको चुचुरो हो। अरू मान्न सकिन्नँ,’ उनले भने, ‘विश्वव्यापी मान्यता पनि यही नै हो।’

सम्बन्धित समाचार : सगरमाथाकाे उचाइ बढ्याे, अब‌ ८८४८.८६ मिटर 


Leave a Reply

Your email address will not be published.