यसरी निस्कियो तोरीबाट मह!

यसरी निस्कियो तोरीबाट मह!

खेतैभरी तोरी। खेतमा लस्कर लागेर राखेका मौरीका घार।

केही जना कामदारको सहयोगमा मौरी घार खोल्दै चाका (फ्रेम) निकाल्दै ओसार्दै थिए चतुर्भुज पन्थ ।

खेतको एक कुनामा ठूलो झुलको घर। त्यसभित्र एकातिर चाका (फ्रेम) मेशीनमा राख्ने तयारी गरिदै, अर्कोतिर मेशिनमा चाका (फ्रेम) राखेर मह निकालिदै । जहाँ थिइन् गिता भण्डारी पन्थ।

चतुर्भुज मौरीको घारमा थिए भने श्रीमती गीता मह निकाल्ने ठाउँमा।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ ज्योतीनगरमा रहेको मौरी व्यवसायी चतुर्भुज पन्थको श्री सिजन एग्रो मल्टिपल फर्ममा पुग्दाको दृश्य हुन् ति।

१ सय घार मौरी पालेका पन्थले शनिवार दिन पारेर मह काढ्ने तालिका बनाएका रहेछन्। उनले त्यसदिन २० बाल्टी मह अर्थात ६ सय किलो निकाले। 

पन्थका अनुसार सिजनमा दुई हप्ताको फरकमा मह निकाल्न सकिन्छ। अहिले तोरीको सिजन भएको हुँदा मौरीले मह छिटो-छिटो बनाउने उनको भनाई छ।

'ल हेर्नुस्, खेतमा तोरी छ, त्यो पहेँलपुर फूलेको तोरीबाट यता मह निस्किरहेको छ।', हाँस्दै पन्थले भने।

रुपन्देहीमा मात्रै नभई दाङमा समेत मौरी चराउँदै मह जम्मा गर्ने गरेका पन्थले केही दिन अघि मात्रै दाङमा रहेको ३० घार मौरी रुपन्देही ल्याएका छन्।

'यहाँ पहिले नै ७० घार मौरी थिए। गत वर्ष डुबानमा परेर ३० घार मौरी नोक्सान भए।', पन्थले सुनाए ।

गुल्मीमा श्री सिजन एग्रो मल्टिपल फर्म दर्ता गरि मौरी व्यवशाय गर्दै आएका उनले तीन वर्षअघि उक्त फर्म रुपन्देहीको तिलोत्तमामा ठाउँसारी गरेका छन्। उनको फर्मबाट मह, मौरी र मौरीको घारको सेवा पाइन्छ।

रुपन्देहीमा फर्म ठाउँसारी गरेपछि पहिलो वर्ष अनुभव लिनमा ठिक्क भएको उनले बताए। दोस्रो वर्ष अर्थात गत सालमा मौरी र मह बेचेर १५ लाख आम्दानी गरेको उनले बताए।

गत वर्षको मौरीबाट आम्दानी लिएपछि मौरीबाट राम्रै कमाई गर्न सकिन्छ भन्ने सिकाई भएको उनले सुनाए।

मौरी पालन व्यवशायमा सानो लगानीबाट आम्दानी लिन सकिने पन्थले बताए।

यस वर्ष पनि २० क्विन्टल मह र १ सय घार मौरी बेच्ने लक्ष्य राखेका छन् पन्थले। उनले मह प्रतिकिलो ६ सय रुपैयाँ र घार सरदर ९ हजारमा बेच्ने गरेका छन्।

उनले यो सिजनमा डेढ लाख मौरी र मौरीको घार बेचेर डेढ लाख आम्दानी गरिसकेका छन् भने मह पनि करिब साढे ३ लाखको जम्मा गरिसकेका छन्।

नियमित रुपमा एक कामदार र सिजनमा थप कामदार राखि मौरी पालन गरिरहेका पन्थले मह स्थानीय बजारमा नै खपत हुने गरेको बताए।

'मह निकाल्ने दिन थाहा पाउनेहरु त मह लिन खेतमै आइपुग्नुहुन्छ', उनले भने, 'बचेको मह पनि सम्पर्कबाटै बिक्री हुन्छ।'

'यो वर्ष मौरीबाट कति आम्दानी हुन्छ त?', भन्ने जिज्ञासामा पन्थले भने, '१५ लाखबाट माथि लाग्ने लक्ष्य हो मौसमले कति साथ दिन्छ।
अहिलेको तोरीको सिजनमा हुस्सु बढी लागेको अवस्थामा मौरी चर्न सक्दैन। हुस्सु लागेन भने आम्दानीको लक्ष्यमा पुग्छु।'


Leave a Reply

Your email address will not be published.

थप समाचार