नेयमारको ह्याट्रिकमा पिएसजीको जित

नेयमारको ह्याट्रिकमा पिएसजीको जित

नेयमारको ह्याट्रिकमा पिएसजीले च्याम्पियन्स लिगमा इस्तानबुललाई ५–१ ले पराजित गरेको छ।

गत मंगलबार खेलका एक अफिसियलले रंगभेदी व्यवहार देखाएको भन्दै स्थगित भएको खेल बुधबार राति भएको थियो। खेलअघि दुवै टोलीका सदस्य र अफिसियलले मैदानको बीच भागमा घुँडा टेकेर रंगभेदविरुद्ध आवाज उठाएका थिए।

अघिल्लो दिन १५ मिनेटमा गोलरहित रहेको अवस्थाबाट नै खेल सुरु भएको थियो। सो क्रममा २१ औं मिनेटमा पिएसजीले अग्रता बनायो। नेयमारले मार्को भेराट्टीको पासमा गोल गरे। त्यसपछि ३८ औं मिनेटमा एमबाप्पे र ५० औं मिनेटमा डिमारियाको पासमा गोल गर्दै नेयमारले ह्याट्रिक पूरा गरे। 

पिएसजीका लागि थप दुई गोल भने एमबाप्पेले गरे। उनले ४२ औं मिनेटमा पेनाल्टीमार्फत र ६२ औं मिनेटमा डिमारियाको पासलाई सदुपयोग गर्दै गोल गरे। 

यता पराजित टोलीका लागि एकमात्र सान्त्वना गोल टोपालले ५७ औं मिनेटमा गरेका थिए।

जितसँगै पिएसजी समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ। लाइप्जिग र पिएसजी दुवैको ६ खेलमा १२ अंक भएपनि हेड टु हेडमा फ्रान्सेली टोली अघि रह्यो।
 


Leave a Reply

Your email address will not be published.