सानो पाइला पन्ध्र वर्षमा, ‘कोरोना कालमा महत्वपूर्ण भूमिका’

सानो पाइला पन्ध्र वर्षमा, ‘कोरोना कालमा महत्वपूर्ण भूमिका’

सामाजिक संस्था सानो पाइलाले आफ्नो चौधौं वार्षिकोत्सवका अवसरमा वीरगन्ज मुर्लीका ३० जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ।

पन्ध्र वर्ष प्रवेशको अवसरमा वीरगञ्जमा आयोजित समारोहमा सानो पाइलाले मुर्लीका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको हो।

पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसीयाले बालबालिकाहरूलाई छात्रवृत्ति हस्तान्तरण गर्दै सानो पाइलाले समुदायको सशक्तिकरणमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। 

वार्षिकोत्सव समारोहका प्रमुख अतिथि चौरसीयाले कोभिड १९ महामारीको समयमा तीनै तहका सरकार अलमलमा परिरहँदा सामाजिक संस्थाहरूल् देखाएको तदारूकता र उदाहरणीय कामहरूको प्रशंसा गरेका थिए। 

‘जनताप्रति दायित्व बोकेका सरकारका निकायहरू कोभिड १९ महामारीमा भ्रष्टाचारमा लिप्त भइरहँदा सानो पाइला जनताको सेवामा लागिपरेको थियो’  चौरसीयाले भने, ‘कोभिडले निम्त्याएको असहज अवस्थामा अप्ठेरोमा परेकाहरूलाई भोजन खुवाउने, सङ्क्रमितहरूलाई राख्न आइसोलेसनको प्रवन्ध गर्ने, स्वास्थ्य संस्थालाई  मेडिकल सामग्री उपलब्ध गराउने र स्वास्थ्य सम्बन्धी परामर्श दिने सानो पाइलाको काम उदाहरणीय रह्यो।’

नेपाली कांग्रेस पर्साका सभापति एवम् पूर्वसभासद अजय द्विवेद्वीले पनि कोभिड१९ महामारीविरुद्धको लडाइँमा सानो पाइलाले उल्लेख्य काम गर्न सकेको भन्दै तारिफ गरे। 

राष्ट्रियरुपमा ख्याती कमाउँदै अन्तर्राष्ट्रिय समुदायको पनि विश्वास जित्न सफल सानो पाइलाले समाजमा सकारात्मक उदाहरण प्रस्तुत गर्न सकेको भन्दै द्विवेद्वीले भविष्यमा पनि यस्ता समाजिक कामले निरन्तरता पाउन सकोस् भन्ने कामना गरे। 

संविधानसभा सदस्य एवम् उद्योगी अनिल रुङ्टाले आफ्नो १४ वर्षको यात्रामा सानो पाइलाले समाजमा अभूतपूर्व प्रभाव जमाउन सफल भएको बताए। 

सानो पाइलाले सामाजिक, आर्थिक र राजनीतिक मुद्दामा समेत विचार र बहसका माध्यमबाट आफूलाई अब्बल साबित गरेको बताउँदै रुङ्टाले सानो पाइला थप उँचाइमा पुग्न सकोस् भन्ने कामना गरेका थिए। 

पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले आफूले सानो पाइलासँग धेरै लामो समय सहकार्य गर्न नपाएको भए पनि कोभिड १९ को समयमा सानो पाइलाले गरेको कामबाट आफू प्रभावित भएको बताइन्। 

‘कोभिड १९ को महामारीमा   सानो पाइलाबाट प्रहरीलाई पनि ठूलो सहयोग प्राप्त भयो। समुदायमा पनि अनुकरणीय काम गरिरहेको सानो पाइलाको पाइला अझै ठूलो हुँदै जाओस् भन्ने शुभकामना दिन्छु’ एसपी पन्तले भनिन्। 

पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले पनि कोभिड१९ महामारी र लागु औषधविरुद्ध सानो पाइलाले गरेको कामको स्मरण गरेका थिए। 

सो अवसरमा सानो पाइलाका संस्थापक एवम् सिईओ कञ्चन झाले १४ वर्षको अवधिमा गरेका कामहरू र त्यसले पारेको प्रभावबारे जानकारी गराएका थिए। झाका अनुसार यो अवधिमा सानो पाइलाले सामाजिक काममा करिब २१ करोड रुपैयाँ खर्चिएको छ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रलाई एक सेट डेस्कटप कम्प्यूटर सहयोग उपलब्ध गराइएको थियो।

वार्षीकोत्सव समारोह सानो पाइलाकी सचिव डा शुषमा तिवारीको सभापतित्वमा भएको थियो। 


Leave a Reply

Your email address will not be published.