आणविक हतियार निषेध सन्धि अनुमोदनको मागसहित दूतावासअघि प्रदर्शन (तस्बिरसहित)

आणविक हतियार निषेध सन्धि अनुमोदनको मागसहित दूतावासअघि प्रदर्शन (तस्बिरसहित)

मानव अधिकार तथा शान्ति समाजले आणविक हतियार निषेध सन्धिलाई छिटो अनुमोदन गर्न र आणविक अस्त्ररहित विश्वको लागि आग्रह गर्दै बिहीबार काठमाडौंस्थित नौंवटा दूतावास अगाडि धर्ना तथा प्रदर्शन थालेको छ। 

७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर समाजले आणविक हतियार निषेध सन्धि अनुमोदन नगर्ने नौं ठूला राष्ट्रका दूतावास अघि प्रदर्शन गर्दै छ। जसमा अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायल रहेका छन्। समाजले सबै देशका दूतावास अघि एकसाथ प्रदर्शन थालेको हो।

आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले २५ वर्षदेखि अभियान थालेको हो।

सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघमा आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धि ग्रहण भई मतदान हुँदा राष्ट्रसंघका १ सय २२ राष्ट्रले पक्षमा र नेदरल्याण्डले विपक्षमा मतदान गरेको थियो भने यी नौं राष्ट्र र अमेरिकी गठबन्धन नेटोका सदस्य राष्ट्रहरु (नेदरल्याण्ड्सबाहेक) ६९ राष्ट्रले मतदान नै गरेका थिएनन्।

सन् २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको हुँदा त्यसको ९० दिनपछि अर्थात २०२१ को जनवरी २२ बाट यो सन्धि लागू हुन गइरहेको छ।

यो सन्धिमा नेपालले हस्ताक्षर गरेपनि हालसम्म अनुमोदन भने गरेको छैन।


Leave a Reply

Your email address will not be published.