गुल्मीमा बीउ मकैको भाउ किलोको ७४ रुपैयाँसम्म

गुल्मीमा बीउ मकैको भाउ किलोको ७४ रुपैयाँसम्म

गुल्मीमा मकैको बीउको भाउ निर्धारण गरिएको छ। जिल्लाभर मकैको बीउको समान मूल्य कायम गर्न तथा बीउको बजारिकरणमा सहजता ल्याउन अनुगमन समितिको बैठकले मूल्य निर्धारण गरेको हो।

मनकामना ३ र देउतीको भाउ प्रतिकिलो ६०, मनकामना ६ र रामपुर कम्पोजिटको भाउ प्रतिकिलो ६५ र अरुण २ को भाउ प्रतिकिलो ७४ रुपैयाँ जिल्ला दररेट निर्धारण गरिएको छ।

यो मूल्य गत वर्षको तुलनामा किलोमा आठदेखि नौ रुपैयाँसम्म बढी हो।

बैठकले जिल्लामा उत्पादित कृषिजन्य बाली तथा वस्तुलाई उत्पादन, ओगटेको क्षेत्रफल आदिका आधारमा यसलाई थप व्यवसायीकरण तथा सबलीकरणका लागि क्रमशः सुन्तलाजात फलफूल, मकै, कफी, बाख्रा, आलु र मौरीलाई प्राथमिकताक्रम निर्धारणका लागि सिफारिस समेत गरेको छ।

गुल्मी जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन अन्तरगतका १५ वटा विभिन्न कृषक समूह, सहकारी तथा निजी फर्महरुद्वारा मनकामना ३, देउती, मनकामना ६, रामपुर कम्पोजिट र अरुण २ जातको मकैको बीउ उत्पादन हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, गुल्मीका प्रमुख नारायण काफ्लेले बताए।

बर्खा लम्बिनुका साथै, फौजी र गवारो कीराले क्षति गर्दा  मकैको बी उत्पादनमा २० प्रतिशतले कमी आएको परियोजनाका कृषि अधिकृत सुमन खनालले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.