चेम्बर अफ कमर्सले भन्यो- अनधिकृत व्यापार नियन्त्रण गरियोस्

चेम्बर अफ कमर्सले भन्यो- अनधिकृत व्यापार नियन्त्रण गरियोस्

कोभिड-१९ को महामारीका कारण व्यवसायीक क्षेत्रमा देखिएको शिथिलताले राजस्व र रोजगारीमा प्रत्यक्ष प्रभाव परेका बेला नेपाल राजश्व परामर्श समिति र नेपाल चेम्बर अफ कमर्सबीच राजश्व परिचालन र व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया भएको छ।

कार्यक्रममा चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको प्रतिनिधित्वसहित अधिकार सम्पन्न राजश्व बोर्ड स्थापनाको माग निजी क्षेत्रको भए पनि हाल गठित नेपाल राजश्व परामर्श समिति सो अनुरुप नभएको बताए। उनले अधिकार सम्पन्न राजश्व वोर्डको स्थापना हुनुपर्ने माग दोहो-याए।

कोभिड-१९ महामारीका कारण व्यवसायमा शिथिलता आएर निजी क्षेत्र प्रभावित भएको बताउँदै उनले जनताको क्रयशक्तीमा कमी आएको बताए। उनले निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाई टेवा दिने हुनाले व्यवसायीक पारदर्शीता बनाउन र अनधिकृत व्यापार नियन्त्रण
गरी अर्थतन्त्रलाई चलायमान बनाउन राजस्वमा समसामयिक सुधार गर्नुपर्ने बताए।

कार्यक्रममा व्यवसायीहरूले व्यापार विस्तार हुन सकेमा राजस्व तथा रोजगारीमा स्वतः वृद्धि भइ समग्र  अर्थतन्त्रमा अनुकुल प्रभाव पर्न जाने बताएका थिए।

अध्यक्ष श्रेष्ठले विश्व व्यापार संगठन, विम्स्टेक, साफ्टा आदिमा गरिएका प्रतिवद्धता अनुसार भन्सार दरबन्दी घटाउँदै लैजानुपर्ने, कारोवार मूल्यलाई मान्यता दिइनुपर्ने, दुई तहको मूल्य अभिवृद्धि कर प्रणाली लागू गरिनुपर्ने माग राखेका थिए।

समितिका अध्यक्ष महेश दाहालले विगतमा बजेट प्रयोजनका लागि मात्र राजस्व परामर्श समिति निश्चित अवधिका लागि क्रियाशील हुने गरेकामा हाल हालको समिति स्थायी रहेको बताए। 

राजश्व परामर्श समितिका सदस्य निर्मलहरी अधिकारीले नेपाल राजश्व परामर्श समितिको उद्देश्यबारे जानकारी गराएका थिए। 
 


Leave a Reply

Your email address will not be published.