त्रिविका आंशिक प्राध्यापकद्वारा आन्दोलनको घोषणा : कक्षा र परीक्षा बहिस्कार गर्ने

 त्रिविका आंशिक प्राध्यापकद्वारा आन्दोलनको घोषणा : कक्षा र परीक्षा बहिस्कार गर्ने

त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघले ‘समान कामको समान ज्याला’ को माग राख्दै पुस २ गतेबाट आन्दोलन गर्ने घोषणा गरेको छ। 

त्रिविले अंशिक प्राध्यापकसँग विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेको हो। 

१२ वर्षदेखि समान ज्याला र दरबन्दीका लागि माग गर्दै आएका प्राध्यापक-अध्यापकले आन्दोलनका क्रममा सञ्चालन हुन लागेका परीक्षामा आंशिक प्राध्यापक तथा अध्यापकको उपस्थिति नजनाउने निर्णय गरेका छन्। 

आफूहरूका माग पूरा नभए भौतिकरुपमा सञ्चालन गर्न लागेको कक्षा पूर्णरुपमा बहिष्कार गर्ने घोषणा गरेका आंशिक प्राध्यापकले त्रिविले सञ्चानल गर्न लागेको परीक्षामा सहभागी नहुने बताएका छन्।

आंशिक प्राध्यापक-अध्यापकहरूले १२ वर्षदेखि दरबन्दीको माग र स्थायी शिक्षकको जति नै पारिश्रमिकको माग गर्दै आएका थिएा। 

‘हाम्रो आन्दोलनलाई साम्य पार्न क्याविनेटबाटै दरबन्दी छुट्याउन त्रिविलाई आदेश दिइएको थियो तर कहिल्यै कार्यान्वयन हुन सकेन,’ आन्दोलन परिचालन मूल समितिका संयोजक शशीकुमार शर्माले भने।

पहिलो आन्दोलन पश्चात मन्त्रिपरिषद्ले आंशिकका लागि ३ सय दरबन्दी छुट्याएको थियो। दोस्रो आन्दोलन पश्चात ५ सय दरबन्दी र तेस्रोमा १ हजार ४ सय २० दरबन्दी छुट्याएकामा  विश्वविद्यालयले कार्यान्वयन नगरेको उनीहरूको दाबी छ। 

‘हामीलाई स्थायी बनाउ भनेर माग गरेको पनि होइन। निश्चित दरबन्दी भए हामीलाई पनि समान मासिक तलब सुविधा पाउने अधिकार मात्र खोजेका हौं,’ उनले भने।

त्यस्तै शिक्षक सेवा आयोगको नियम अनुसार हरेक ६ महिनामा विज्ञापन गरी रिक्त रहेको पदमा शिक्षक भर्ती गनुपर्ने भए पनि त्रिवि मा १० वर्षमा पनि एकपटक विज्ञापन खुलाएर नियुक्ति नगरेको उनको भनाइ छ। 

हालसम्म त्रिविका सबै आंगिक क्याम्पसमा १ हजार ९ सय प्राध्यापक, अध्यापकको दरबन्दी रिक्त छ। 

शर्मा जो आफै त्रिचन्द्र क्याम्पसमा जिओलोजीका आंशिक प्राध्यापक हुन्। उनले भने, ‘६ महिनामा विज्ञापन खुलाई रिक्त दरबन्दीमा शिक्षक नियुक्ति गरियो भने हामीले पनि स्थायी बन्ने अवसर पाउँथ्यौं। यदि सकेनौं भने पनि आशिंक दरबन्दीमा पनि समान ज्यालामा काम गर्न तयार छौं।’

देशैभर त्रिविका ६२ आंगिक क्याम्पस छन्। त्यस्तै देशभर १० हजार भन्दा बढी स्थायी प्राध्यापक, अध्यापक छन् भने ३२ सय आंशिक  छन्। आंशिक प्राध्यापक अध्यापकले एउटा कक्षा पढाए बापत ३ सय रुपैयाँ पाउँदै आएका छन् भने स्थायीलाई मासिक ४२ हजार तलब दिने गरिएको छ। 


Leave a Reply

Your email address will not be published.