ट्याक्टर चालकको मृत्युपछि दुम्किवासमा तनाव, राजमार्ग अवरुद्ध

ट्याक्टर चालकको मृत्युपछि दुम्किवासमा तनाव, राजमार्ग अवरुद्ध

ट्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ। चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन्। 

मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन पुगेको ट्याक्टर चालकको मृत्युपछि राति १ बजेदेखि तनाव सिर्जना भएको हो। प्रहरी टोली खोलामा पुग्दा नदीजन्य पदार्थ अवैधरूपमा निकाल्दै गरेका ट्याक्टर लिएर भाग्ने क्रममा दुर्घटनामा परेको प्रहरी भनाइ छ। स्थानीयले भने प्रहरीको कुटाईका कारण चालकको ज्यान गएको आरोप लगाएका छन्।

विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु ३ त ८१७५ नंको ट्याक्टर दुर्घटना हुँदा दाङको राजापुर गाउँपालिका–४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताए। ट्याक्टर लिएर भाग्ने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको राति नै भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यलयको टोली खोलामा पुग्दा भाग्ने क्रममा ट्याक्टर दुर्घटनामा परेको थियो।  प्रहरीले चारवटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएको छ। तीनवटा भने खोलामै फसेका छन्। 

यस क्रममा प्रहरी र स्थानीय बीच झडपसमेत भएको छ। राति झडपको अवस्था आएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन १३ सेल अश्रुग्याससमेत प्रहार गरको छ।


Leave a Reply

Your email address will not be published.