राष्ट्रिय पुरुष तथा महिला फुटबल खेलाडीको तलब समान, कार्यवाहक प्रशिक्षकमा बालगोपाल

राष्ट्रिय पुरुष तथा महिला फुटबल खेलाडीको तलब समान, कार्यवाहक प्रशिक्षकमा बालगोपाल

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष तथा महिला फुटबल खेलाडीको तलबमा एकरुपता कायम गरेको छ।

बिहीबार बसेको एन्फाको ११ औं कार्यसमिति बैठकले पुरुष तथा महिला खेलाडीका समान तलब १८ हजार तोकेको छ। यस्तै फिफा रेफ्रीहरुको तलब पनि ६ हजारबाट बढाएर १० हजार पुर्‍याएको छ।

बैठकले नेपाली राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। मुख्य प्रशिक्षक योहान कालीनले राजीनामा दिएपछि महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मवारी दिइएको संघले जनाएको छ। 

कालीनलाई सन् २०१९ को मार्च एकमा एन्फाले मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो । उनको प्रशिक्षणमा नेपाली टिमले ११ खेल खेल्दा एक खेल जितेको थियो भने दुई खेलमा बराबरी र आठमा हार ब्यहोरेको थियो।

एन्फाले विश्वकप छनोट प्रतियोगितालाई ध्यानमा राख्दै मंसिर २८ गतेदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण थाल्ने भएको छ। यस्तै प्रतियोगिताअघि मैत्रिपूर्ण खेलका लागिसमेत एन्फाले तयारी गरिरहेको छ।

कोरोनाका कारण स्थगित लिग तथा प्रतियोगिताहरु सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्सँग अनुमति माग्ने निर्णय पनि एन्फा बैठकले गरेको छ।  

यस्तै क्लब लाइसेन्सिङका मापदण्ड पूरा गर्ने, एन्फाका कृत्रिम घाँसे खेलमैदानमा ट्रेनिङ फ्लडलाइट जडान गर्ने, जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्न सम्पूर्ण प्रक्रिया पूरा गरेका ११ जिल्लालाई स्थानीय सरकारको कुल लागतको ५० प्रतिशत साझेदारी गर्ने गरी निर्माण कार्य थालनी गर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ।


Leave a Reply

Your email address will not be published.