दुम्किवासको अवस्था सामान्य बन्दै, बन्द पूर्वपश्चिम राजमार्ग खुल्यो

दुम्किवासको अवस्था सामान्य बन्दै, बन्द पूर्वपश्चिम राजमार्ग खुल्यो

ट्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीको प्रर्दशन पछि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ। घटनापछि तनावग्रस्त बनेको दुम्किवास क्षेत्र पनि अहिले सामान्य बनेको छ। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गएराति ट्याक्टर चालकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो। स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका थिए।

विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु ३ त ८१७५ नंको ट्याक्टरका चालक दाङ राजापुर गाउँपालिका–४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका थिए। 

मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन पुगेको ट्याक्टर चालकको मृत्युपछि राति १ बजेदेखि तनाव सिर्जना भएको हो। प्रहरी टोली खोलामा पुग्दा नदीजन्य पदार्थ अवैधरूपमा निकाल्दै गरेका ट्याक्टर लिएर भाग्ने क्रममा दुर्घटनामा परेको प्रहरी भनाइ छ। स्थानीयले भने प्रहरीको कुटाईका कारण चालकको ज्यान गएको आरोप लगाएका छन्। 

प्रहरीले अहिले प्रदर्शनकारीलाई हटाएर राजमार्ग खुलाएको छ। 

स्थानीयवासीले घटनाको छानबिनको माग राखेका छन्। मृतक यावदको शव भरतपुरमा रहेको छ। शवको परीक्षण गरिने र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताए। 

स्थानीयवासीले घटनाको छानबिन गरी मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता नआए पुनः आन्दोलन गर्ने बताएका छन्।


Leave a Reply

Your email address will not be published.