काठमाडौंमा कहिलेसम्म लाग्छ हुस्सु?

काठमाडौंमा कहिलेसम्म लाग्छ हुस्सु?

हिउँदेयामसँगै तराईमा लाग्न थालेको हुस्सु-कुहिरो काठमाडौं उपत्यकामा देखिन थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुका कारण मौसममा बदली हुँदा तापक्रम घट्न थालेको छ। बदलीका कारण जलवासको मात्रा बढ्दै गएको छ र यसले हुस्सु बनिरहेको छ।

केही दिन यता तराईका कयौं जिल्लामा बिहानपख हुस्सु लाग्दै आएकामा शुक्रबार काठमाडौं उपत्यका पनि हुस्सुमय थियो। ढिलोगरी सूर्यको प्रकाश छाएको थियो।

‘अझै केही दिन हस्सु र कुहिरो देखिने छ,’ उनले भने, ‘तर, शितलहर चलिनसकेकाले बिहानपख हुस्सु-कुहिरो लागे पनि दिउँसो घाम लाग्ने घरेको छ। जसले गर्दा त्यतिधेरै जाडो महसुस भइसकेको छैन।’ तर,  हुस्सुकाे पूर्वानुमान वर्षाजस्ताे सजिलाे नभएकाले काठमाडाैंमा कहिलेसम्म हुस्सु कायमै रहन्छ भनेर यकीन भन्न नसकिने उनले बताए।

प्रधानाङ्गका अनुसार हिउँदेयाममा मुख्यगरी दुईवटा मौसमी प्रतिकूल हुन्छ। एउटा पश्चिमी वायुका कारण वर्षा। जसले चिसो बढी हुन्छ। र, अर्काे तराईमा हुस्सु/कुहिरोसँगै शितलहर। 

हिउँदयाममा तराईका कतिपय जिल्लामा त तीन/चार दिनसम्म शितलहर चल्दा जनजीवन कष्टकर हुने गर्छ। पहाडी क्षेत्रमा शितलहर त चल्दैन। तर, बिहान हुस्सु लाग्दा जनजीवन प्रभावित हुन्छ।

हुस्सुका कारण शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै तराईका विमानस्थलबाट हुने उडान प्रभावित बनेका थिए। बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण उडान प्रभावित भएका थिए। शुक्रबार काठमाडौंको अधिकत तापक्रम २० डिग्रीसेल्सियस रहेकामा न्यूनतम ५.८ रहेको छ।
 

तराईमा विशेष अध्ययन हुने
समाचार एजेन्सी राससका अुनसार शीतलहरका कारण  तराई क्षेत्र वर्षेनी प्रभावित हुने भएको छ। सरकारले यसवर्ष त्यसक्षेत्रलाई प्राथमिकतामा राखेर विशेष सतर्कता अपनाउन थालेको हो।

चिसोका कारण र चिसोबाट बच्न आगो बाल्दा जलेर तथा निसासिएर ज्यान गएका घटना बेलाबेलामा हुँदै आएकाले मानवीय क्षति कम गर्न विशेष प्राथमिकता दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  जनाएको।

यसका लागि प्राधिकरणले तराई क्षेत्रमै पुगेर अवस्थाको अध्ययन गर्ने भएको छ।

विपदबाट हुने क्षति रोक्न आवश्यक पूर्वतयारीका कार्यक्रमअन्तर्गत जाडो शुरु हुनुअघि नै स्थलगत अध्ययन र अन्तरक्रियामार्फत सुझाव लिन लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। उनका अनुसार शनिबार नै टोली त्यसतर्फ जानेछ।


Leave a Reply

Your email address will not be published.