स्यानिटाइजरको अधिक प्रयोग गर्नुहुन्छ? आउन सक्छन् है यस्ता समस्या…

स्यानिटाइजरको अधिक प्रयोग गर्नुहुन्छ? आउन सक्छन् है यस्ता समस्या…

कोरोना भाइरसको संक्रमण विश्वभर नै फैलिएपछि विश्व स्वास्थ्य संगठनले मास्क लगाउन, साबुनपानीले हात धुन, भौतिक दूरी कायम गर्न तथा स्यानिटाइजरको नियमित प्रयोग गर्न आग्रह गर्‍यो। 

धेरैले कोरोना संक्रमण फैलनुअघि नसुनेको स्यानिटाइजर गाउँदेखि सहरसम्म प्रयोगमा आयो। कतिपयले त स्यानिटाइजर लगाउँदा कोरोनाले छुनै नसक्ने सम्मसमेत भन्न भ्याए।

यसक्रममा बजारमा थुप्रै गुणस्तरहीन स्यानिटाइजरसमेत आए।

कतिपय उत्पादनमा सरकारी निकायले रोक लगायो।

स्यानिटाइजरले संक्रमणबाट बच्न केही हदसम्म सहयोग गर्ने भए पनि बारम्बारको प्रयोगले छालालाई हानी गर्न सक्छ।
डा अनुपमा कार्की पनि स्यानिटाइजरको अधिक प्रयोगले छालामा समस्या आउनेसक्ने बताउँछिन्।  

वीर अस्पताल, चर्म तथा यौन रोग विशेषज्ञ विभाग प्रमुख डा कार्कीसँग आयोमेलकर्मी रेणु त्वानाबासुले गरेको कुराकानी–

स्यानिटाइजरको प्रयोगले छालालाई असर गर्छ कि गर्दैन?

स्यानिटाइजरले छालालाई असर गरिरहेको हुन्छ। यसको अधिक प्रयोगले छालामा सुख्खापन बढाउने, चिडचिडापन ल्याउने, चिलाउने, पोल्ने, एलर्जी हुन सक्छ। जाडो मौसममा यसले झन् बढी असर गर्छ। जाडोमा  छाला सुख्खा हुने भएकाले स्यानिटाइजर लगाउँदा झन् सुख्खा बनाउँछ। स्यानिटाइजरको अधिक प्रयोगले छालाबाट निस्किने प्राकृतिक तेल उडेर जान्छ। छाला नरम बनाइराख्न सहयोग गर्ने तेल उडर जाँदा सुख्खापन बढ्छ।

छाला सुख्खा भए के हुन्छ?

छाला धेरै सुख्खा भएमा हात फुट्ने, खटिरा आउने लगायत समस्या हुने गर्छ। स्यानिटाइजरले एक्जिमाको जोखिम पनि बढाउन सक्छ। यसले छालामा सामान्यतया रातोपन, सुख्खापन, क्रयाक्स ल्याउन सक्छ। छाला चिलाउने वा दुख्ने हुन्छ।

स्यानिटाइजरले कसरी छालामा चिडचिडापन ल्याउँछ?

एथिल वा आइसोप्रोपाइल रक्सी हो। कहिलेकाँही रक्सीको कडा गन्ध कम गर्नग बास्ना आउने गरी तयार गरिएको हुन्छ। यस्ता बास्ना आउने रसायनले छालामा नराम्रो असर गर्ने गर्छ। जसकारण छालामा जलन हुने वा छाला सुख्खा हुन सक्छ।

कस्तो खालको छालामा यसले धेरै असर गर्छ?

सबैको छाला एउटै किसिमको हुँदैन। कसैको एकदम संवेदनशील हुन्छ। संवेदनशील छालामा चाँडै असर गर्छ। त्यस्तै हातमा घाउ भएको, फुटेको, चिरा परेको छ भने त्यस्तो छालामा स्यानिटाइजर प्रयोग गर्नु हुँदैन। यसले घाउमा इन्फेक्सन हुने डर हुन्छ। स्यानिटाइजरमा रक्सी हुने भएकोले जलन हुने समस्या हुन्छ। साथै पहिलेदेखि छालाको रोग छ भने स्यानिटाइजरको प्रयोगले अझ बढाउन सक्छ।

त्यसो भए स्यानिटाइजको प्रयोग दैनिक कतिपटकसम्म गर्ने?

अब यतिउति भनेर त हुँदैन। सकेसम्म कम लगाउँदा राम्रो। एक घन्टामा एकपटक लगाउन सकिन्छ भनिएको छ। स्यानिटाइजरभन्दा पनि साबुनपानीले हात धुँदा राम्रो हुन्छ। स्यानिटाइजरले साबुनपानी जति पनि काम गर्दैन।

कसरी जोगाउने त छालालाई?

जाडो महिनामा स्यानिटाइजरको सट्टा मनतातो पानी र साबुनले हात धुँदा राम्रो हुन्छ। नियमित बाहिर जानुपर्ने काम छ भने स्यानिटाइजरको साथसाथै एउटा मोइस्चराइजिङ क्रिम राख्दा हुन्छ। स्यानिटाइजर लगाइसकेपछि क्रिम लगाउँदा पनि हातलाई सुख्खा हुनबाट जोगाउन सकिन्छ। जसरी हुन्छ, छालालाई सुख्खा हुनबाट बचाउनुपर्छ। छालालाई नरम बनाइराख्न सकेको खण्डमा यी सबै पीडाबाट मुक्त हुन सक्छौं।


Leave a Reply

Your email address will not be published.

थप समाचार