नाला मिचेर सडक बनाउने उपमहानगर गरिबका झुपडीमा डोजर चलाउँदै

नाला मिचेर सडक बनाउने उपमहानगर गरिबका झुपडीमा डोजर चलाउँदै

धनगढीको मुख्य बजारबाट सञ्चयकोष जाने सडक निर्माण सुरु भएको छ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास जोड्ने गरी निर्माण हुनथालेको सो सडक सरकारी नालामा निर्माण हुन थालेको हो।  

स्थानीय धनश्याम जोशीका अनुसार धनगढी–३ तथा ४ मा जम्मा हुने बर्षायामको पानी हाल निर्माण भइरहेको सडक (पुरानो नाला) हुँदै बग्ने गर्दथ्यो। यसअघि नालामै सामान्य सडक निर्माण गरिएको थियो। चालु आर्थिक वर्षमा भने जमिनबाट पाँच फिट भरान गरेर सडक निर्माण भएपछि वडा नम्बर ४ डुवानमा पर्ने भन्दै स्थानीय चिन्तित बनेका छन्। 

‘यसअघि सो नालामा सामान्य सडक निर्माण गरिएको थियो’, स्थानीय महेश धामीले भने, ‘तै पनि वडा नम्बर ४ मा डु्वान हुँदै आएको थियो, अब त नाला नै ढाकेर सडक निर्माण भइरहेको छ, आगामी दिनमा पूर्ण डुवान हुने पक्का छ।’ 

पहिले नालामा सामान्य सडक रहेपनि कांग्रेस सभापति देउवाले वडा नम्बर–४ मा निवास किनेपछि सो स्थानमा अग्लो बनाएर सडक निर्माण भइरहेको छ। 

सो सडकको उचाई बढाउँदै कल्भर्ट निर्माणका लागि मात्रै १ करोड ९३ लाखको ठेक्का सम्झौता गरिएको छ। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यालय इकाई धनगढीले निर्माण थालेको सो सडक निर्माणका लागि उच्चाकोटी निर्माण सेवाले ठेक्का पाएको छ। 

सरकारी नाला मिचेर सडक बनाउने उपमहानगरपालिका खोला किनारमा बसेर व्यवसाय गर्ने नागरिकलाई भने सार्वजनिक स्थल ओगटेको भन्दै लखेट्न थालेको छ। 

धनगढीको मुख्यबजारस्थित कैलाली नाला नजिकै आवतजावतमा कुनै समस्या नपर्ने र सार्वजनिक जग्गा समेत नमासिने गरी विगत आठ वर्षदेखि एक दम्पतीले चिया बेच्दै आएका थिए। उपमहानगरपालिकालाई ती महिलाले चिया बेचेर परिवार पालेको सह्य भएन र मंसिर २२ गते चिया पाक्ने झुपडीमा डोजर चलायो। 

द्वन्द्व पीडित निरुदेवी बोहराले आठ वर्षसम्म कसैले केही नभनेपनि यसवर्ष उपमहानगरले खोला किनारमा बस्न नपाइने भन्दै डोजर चलाएको भन्दै दुःख पोखिन्।

‘खोला किनारमा हामीले मात्रै व्यापार गरेका छैनौं’, निरुदेवीले भनिन्, ‘हाम्रै नजिक खोला किनारमा निर्माण गरिएका धेरै संरचना छन्। त्यतातर्फ मेयर नृपबहादुर वडको ध्यान गएन, हामीलाई भने उठिवास लगाएर पठायो।’ 

निरुदेवीले भने झैं कैलाली पुल आसपासमात्रै खोला किनारमै बसेर अन्य व्यवसायीले पनि व्यापार गरिरहेका छन्। तर ती संरचना भत्काउन भने उपमहानगरले चासो देखाएको छैन।

धनगढीकी सरिता धामीले भनिन्, ‘एउटै छाप्रो मात्रै सार्वजनिक स्थानमा बन्ने अनि त्यही आसपासका संरचना वैधानिक कसरी हुन्छन्?’ उनले पूर्वाग्रही तरिकाले उपमहानगरले निरुदेवीलाई दुःख दिएको बताइन्। 

उपमहानगरका प्रवक्ता सन्तोष मुडभरीले अन्य सार्वजनिक स्थानमा निर्माण भएका संरचना बारे जानकारी नभएको बताए। ‘निरुदेवीले निर्माण गरेको छाप्रो आसपास तटबन्धनको योजना स्वीकृत भई काम गर्ने चरणमा रहेको छ’, उनले भने, ‘त्यसैले सो छाप्रो भत्काइएको हो।’ उनले निरुदेवीकै आसपासमा रहेका संरचना तथा छाप्राका बारेमा जानकारी नभएको बताए। 

सार्वजनिक नालामा सडक निर्माण बारेसमेत आफूलाई जानकारी नभएको उनले बताए। ‘सार्वजनिक स्थानमा बनेका संरचना तथा अतिक्रमण हटाउने उपमहानगरको योजना छ’, उनले भने, ‘अहिलेलाई भने अन्य स्थानको पहिचान भएको छैन।’


Leave a Reply

Your email address will not be published.