कांग्रेसले तीनदिन पार्टीको झण्डा आधा झुकाउने

कांग्रेसले तीनदिन पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले तीनदिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। पूर्व केन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेसले तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो।

मंसिर २६, २७ र २८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाइने छ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ।

यस्तै मंसिर २८ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द हुने भएका छन्। १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लाले भौतिक (सामाजिक) दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय पनि कांग्रेसले गरेको छ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, काठमाडौं जिल्लाका पूर्वसभापति, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी ८० वर्षीय श्यामलाल श्रेष्ठको मंसिर २६ गते निधन भएको थियो।

वि.सं. २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका स्वर्गीय श्रेष्ठले पटक–पटक गरी १७ वर्ष भन्दा लामो समयसम्म जेल जीवन बिताएका थिए।

Image may contain: text


Leave a Reply

Your email address will not be published.